मिडियाखबर
खप्तड बाबा
विचार के हो ? विचारमाथि विचार गर्नुभन्दा पहिले त यी प्रश्न नै उत्पन्न हुन्छन्– विचार के हो ? कहाँबाट उत्पन्न हुन्छ ? तथा विचारहरुको के प्रभाव पर्दछ ? विचारहरुमा कति शक्ति छ ? विचारको स्वरुप के हो ? के रङ्ग हो ? विचारहरुलाई बदल्ने उपाय के हो ? र त्यसबाट के लाभ हुन्छ ? वस्तुतः विचारहरुको विशेषरुप हुन्छ र रङ्ग पनि । यसै प्रकारले तिनमा जीवनशक्ति पनि हुन्छ । विचार तत्व अदृश्य छ र चर्म–चक्षुद्व ारा त्यो देख्न सकिँदैन, तापनि विचारहरुको उत्पत्ति परमाणुमय हुन्छ र ती परमाणु यति सूक्ष्म हुन्छन् भने तिनीहरुभन्दा सुक्ष्म र बेगवान् अन्य वस्तु संसारमा नै छैन ।
जुन वस्तु जति सूक्ष्म हुन्छ, त्यसको बल पनि उत्ति नै बढी हुन्छ । सबभन्दा सूक्ष्म हुनाको कारणले बिजुली आदि सारा वस्तुहरुभन्दा पनि विचारको नै बल बढी मानिएको छ । जड वस्तुभन्दा चेतन र सूक्ष्म वस्तुमा सदैव नै अधिक बल हुन्छ । जस्तो ढुङ्ग माटो सूक्ष्म छ र माटोमा ढुङ्गाभन्दा पनि अधिक बल छ । ढुङ्गाभनदा माटोमा जडता कम छ, त्यसैले ढुङ्गको अपेक्षा माटोमा जीवनशक्ति धेरै छ । माटोभन्दा पानी अधिक सूक्ष्म छ, पातलो छ । त्यसैले यसभन्दा पानी ज्यादा उपयोगी र बलवान् छ । पानीभन्दा बाफ सूक्ष्म छ र बाफभन्दा वायु सूक्ष्म छ, बलवान छ । वायुभन्दा आकाश अर्थात् शब्द सूक्ष्म छ र शब्दको गतिभन्दा प्रकाशको बल धेरै छ । प्रकाशको भन्दा बिजुलीको बल बढी र सूक्ष्म छ । तर, बिजुलीभन्दा पनि विचारहरुको बल अति सूक्ष्म छ ।
यद्यपि विचारभन्दा पनि सूक्ष्मतर वस्तुहरु जगत्मा छन् तर तिनको ज्ञान हामीहरुलाई भएको छैन । यसैले जगत्का सबै वस्तुहरुभन्दा विचार र बुद्धि अति सूक्ष्म र बलवान् भएको वर्णन उपनिषद्हरुमा गरिएको छ । “ इन्द्रियेभ्यः परं मनो मनसः सत्वमुत्तमम् । सत्वादपि महानात्मा महतोकव्यक्तमुत्ततम् ।। अव्यक्तस्तु परः पुरुषो व्यापकोकलिङ्ग एव च ।” इन्द्रियहरुभन्दा पर मन छ, मनभन्दा पर बुद्धि छ, बुद्धिभन्दा महत्व पर छ र महत्वभन्दा अव्यक्त नाम प्रकृति पर छ, प्रकृतिभन्दा पुरुष पर छ । यसरी एकभन्दा अर्को बढी सूक्ष्म र बलवान् छ । एक अमेरिकी विद्वानले के लेखेका छन् भने प्रकाशको गति एक सेकेन्डमा १,८६,००० माइल भएझैं विचारको गतिको प्रवाह ४०,००० नीलदेखि सत्तरी हजार नील माइलसम्म हुन्छ । विचारशक्तिका लहरहरुलाई दिनमा सूर्यका किरणहरुले खण्ड–खण्ड गरिदिन्छन् । जसबाट तिनको गति केह अवरोध (रोकावट) हुन जान्छ ।
रात्रिको समय वा अन्धकारमा विचार शक्तिको वेग तीव्र हुन जान्छ र यस वेगलाई कोही रोक्न पनि सक्दैन । पाश्चात्य देशहरुमा यस विद्याको दिनदिनै उन्नति भइरहेछ र यसको सहायताले ठूला–ठूला डाक्डर अनेक कठिन रोगहरुको उपचार पनि गरिरहेछन् । ठूलो हर्षको कुरा के छ नभे हाम्रा ऋषि–मुनिहरुको विद्याको अनुसरण पश्चिमी मानिसहरुद्व ारा बडा तीव्रताका साथ भइरहेछ । अतः हामीहरुले पनि घोर निद्राबाट बिउँझेर आफ्ना पूर्वजहरुद्वारा सम्पादित विद्यालाई पुनः विकसित गर्नुपर्दछ, जसबाट हाम्रो सर्वाङ्गीण उन्नति हुन सकोस्।
(श्रोत: खप्तड बाबाद्वारा लिखित बिचार विज्ञानबाट साभार )
फेसबुकबाट तपाईको प्रतिक्रिया