☰ open

स्थिर राजनीति अपरिहार्य : प्रधानमन्त्री

२०७७ माघ १६, शुक्रबार ०५:२१
मिडियाखबर

शहीद दिवस २०७७ का अवसरमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले जनतालाई अधिकार सम्पन्न बनाई शहीदको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गरेको बताए । प्रधानमन्त्री ओलीले शहीदको बलिदानीपूर्ण सङ्घर्षको मार्गदर्शनबाट समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउँदै राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्य सरकारले तय गरेकोसमेत बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सुस्थीर राजनीति अपरिहार्य रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने अभियानमा रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार निर्माण, सामाजिक सुरक्षा, विपद्मा परेका जनताको व्यवस्थित आवास निर्माण र स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा हामी विगतको तुलनामा निकै अघि बढ्न सफल भएको समेत बताए । उनले सरकारले थालनी गरेका विकासका दूरगामी योजनाले जनताको जीवनमा परिवर्तन ल्याउने उल्लेख गरेका छन् ।

लोकतान्त्रिक अधिकार, कानूनी राज्य, न्याय र समानतामा आधारित राज्यव्यवस्थासहितको प्रणाली संस्थागत भएपछि अधिकारप्राप्तिका लागि गरिएको लामो सङ्घर्षको चरण पूरा गरेकोसमेत उनले बताए ।

सबल लोकतन्त्र, सुदृढ अर्थतन्त्र, सुशासन र सामाजिक न्यायको व्यावहारिक कार्यान्वयनमार्फत मुलुकमा नवनिर्माणको शृङ्खला अघि बढेको भन्दै उनले भने, ‘हाम्रा प्रातः स्मरणीय शहीदले देखेको सपनाको सार देशको समृद्धि र जनताको सुख हो । देशको समृद्धि र जनताको सुखप्राप्तिका लागि तिनै शहीदका सपनालाई मूर्तरुप दिन हामीले बितेका केही वर्षमा नवनिर्माणको चौतर्फी अभियान चलाएका छौँ ।’

जहानियाँ राणाशासन, निरङ्कुश पञ्चायती व्यवस्था र जन्मसिद्ध श्रेष्ठताका आधारमा चलेको निरङ्कुश राजतन्त्रात्मक व्यवस्थाको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेर स्वप्नद्रष्टा शहीदको बलिदानमार्फत मुलुकमा सामाजिक न्याय, कानूनी शासन र जनाधिकारसहितको न्यायपूर्ण व्यवस्था प्राप्त गरेको उनको भनाइ रहेको छ ।

जहानियाँ राणा शासनविरुद्धको सङ्घर्षका क्रममा विसं १९९७ मा नेपाल आमाका वीर सपूत शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले आफ्नो जीवन बलिदान गरेका थिए ।

बलिदानको त्यही गाथालाई हामीले शहीद सप्ताहका रुपमा मनाउने गरिएको छ । सोही सङ्घर्षको भाव भूमिबाट जनसङ्घर्षको ज्वार उठेर विसं २००७ मा १०४ वर्ष लामो जहानियाँ राणाशासन अन्त्य भएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights