☰ open

संवैधानिक निकायमा नियुक्त पदाधिकारीले लिए शपथ

२०७७ माघ २१, बुधबार ०९:११
मिडियाखबर

काठमाडौँ : संवैधानिक निकायका नियुक्त भएका पदाधिकारीले शपथ लिएका छ्न । राष्ट्रपति कार्यालय शितल निवासमा बुधबार बिहान विभिन्न संवैधानिक निकायमा नियुक्त भएका पदाधिकारीले संसदीय सुनुवाइ बिना नै शपथ लिएका हुन् ।

संवैधानिक निकायमा नियुक्त भएका प्रमुखले प्रधानन्याायधीश चोलेन्द्र शम्सेर राणाबाट शपथ लिएका थिए । अन्य सदस्यलाई भने प्रमुखले शपथ खुवाएका थिए । शपथ कार्यक्रममा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत उच्च पदस्थ व्यक्तिहरुको सहभागिता थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषद्ले विभिन्न निकायमा ३८ जनाको नाम सिफारिस गरेको थियो । परिषद्ले सिफारिस गरेपनि उनीहरुको संसदीय सुनुवाइ भने हुन सकेको थिएन । प्रधानमन्त्री ओली नेतृत्वको परिषद्ले सिफारिस गरेको निर्णय पुस ५ गते मात्रै बाहिरिएको थियो ।

जुन दिन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । प्रतिनिधि सभा विघटन भएपछि संसदीय सुनुवाइबाट बचेका पदाधिकारीले सिफारिस भएको ४५ दिने म्याद अनुसार स्वतः नियुक्त हुने मौका पाएका हुन् ।

तर नियुक्ती रोक्न सर्वोच्चमा रिट पुगेका कारण अदालती प्रक्रियामा प्रवेश नगर्दै प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँगको परामर्शमा रातारात शपथ खुवाउने योजना बनाएका हुन् । त्यसअघि प्रधानमन्त्री ओलीले सुनुवाइका लागि सभामुख अग्नि सापकोटालाई पत्राचार समेत गरेका थिए ।

तर सभामुख सापकोटाले प्रतिनिधि सभा विघटन भएकाले सुनुवाइ गर्न नमिल्ने जवाफ फर्काएपछि बुधबार बिहानै संवैधानिक निकायमा नियुक्त भएकालाई शपथ खुवाइएको हो ।

(संवैधानिक परिषदले सिफारिस गरेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई र आयुक्तहरुमा जयबहादुर चन्द र किशोर सिलवालले शपथ लिएका हुन् ।

त्यस्तै मानवअधिकार आयोगको अध्यक्षमा तपबहादुर मगर तथा सदस्यहरुमा मनोज दुवाडी, डा. सूर्य ढुंगेल, लिली थापा, मिही ठाकुरले शपथ लिएका हुन् ।

त्यसैगरि निर्वाचन आयोगमा आयुक्तहरु रामप्रसाद भण्डारी, डा. जानकी तुलाधरले शपथ लिएका हुन् ।

वित्त आयोगमा जुद्ध गुरुङ र अमरराज मिश्रले शपथ लिएका हुन् । त्यसैगरि महिला आयोगको अध्यक्षमा कमलाकुमारी पराजुली र सदस्यहरुमा कृष्णकुमारी पौडेल खतिवडा र विद्याकुमारी सिन्हाले सपथ लिएका छन् ।

दलित आयोगको अध्यक्षमा देवराज विक र सदस्यमा मीना सोब, परशुराम रम्तेल, कुञ्ज बराइली, मेहेले पार्कीले शपथ लिएका हुन् ।

त्यस्तै समावेशी आयोगको अध्यक्षमा मनप्रसाद खत्री, सदस्यहरू रामचन्द्र जोशी, हरिभक्त जोशी, जितेन्द्र पासवानले शपथ लिएका छन् ।

आदिवासी आयोगको अध्यक्षमा रामबहादुर थापा, सदस्यहरूमा मीन श्रीस मगर, मिनसिंह लामा, रिना राना र चरण राईले शपथ लिएका छन् ।

मधेसी आयोगका सदस्यहरूमा जिवच्छ साह, रेणुदेवी साह, विजय गुप्ताले शपथ लिएका छन् । त्यस्तै थारू आयोगको सदस्यहरूमा विकास चौधरी, बबिता चौधरी, सुबोधसिंह थारू, भोलाराम चौधरीले शपथ लिएका छन् ।

त्यसैगरि मुस्लिम आयोगको सदस्यमा महमुद्दिम अली र मिर्जा अर्सद बेगले शपथ लिएका छन् ।)

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights