☰ open

काठमाडौंका आधा मानिसमा एन्टिबडी बन्यो : विज्ञ

२०७७ माघ २३, शुक्रबार ०९:५०
मिडियाखबर

कोरोनाको नयाँ प्रजाति नआए मुलुक हर्ड इम्युनिटीतिर जाने संकेत

अतुल मिश्र

काठमाडौँ — काठमाडौंका करिब आधा नागरिकमा कोभिड–१९ संक्रमणविरुद्धको एन्टिबडी निर्माण भइसकेको दाबी विज्ञहरूले गरेका छन् । कोभिडको लहर कम हुँदै गएको र नयाँ भाइरसको संक्रमण नदेखिए मुलुक हर्ड इम्युनिटीतिर जान सक्ने उनीहरूको विश्लेषण छ ।

संक्रमण भइसकेपछि शरीरमा विकास हुने क्षमतालाई एन्टिबडी निर्माण भनिन्छ भने ५० प्रतिशतलाई संक्रमण भइसकेपछि उत्पन्न हुने अवस्था हर्ड इम्युनिटी हो । सरकारले तुरुन्त राजधानीलगायत देशभरि समुदायमा कोभिड–१९ संक्रमणको अवस्था जान्न नियमित ‘सेरो प्रिभिलेन्स सर्भे’ गर्नु आवश्यक रहेको उनीहरूले बताएका छन् ।

‘हाम्रो अनुमानमा काठमाडौंमा करिब ५० प्रतिशत मानिस कोभिडले संक्रमित भइसकेको हुनुपर्छ,’ स्वास्थ्य मन्त्रालयका वरिष्ठ पदाधिकारी एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले भने, ‘कोभिडको पहिलो लहर कम हुँदै गएकाले नयाँ भाइरसको संक्रमण नदेखिए मुलुक हर्ड इम्युनिटीतिर जान सक्ने संकेत देखिएको छ ।’

सरकारले गत दसैंअघिदेखि सातवटै प्रदेशबाट ३ हजार १ सय ५० वटा रगतको नमुना संकलन गरेर समुदायमा कोभिड संक्रमणबारे जान्न सेरो प्रिभिलेन्स सर्भे गर्दा देशभरिमा १३.९ प्रतिशतमा कोभिडविरुद्घको एन्टिबडी बनिसकेको अर्थात् उनीहरू जानेर वा नजानेर संक्रमित भइसकेको देखिएको थियो । यो सर्वेक्षणको नतिजा हालसम्म सरकारले आधिकारिक रूपमा सार्वजनिक गरेको छैन ।

‘असोजको कुरा हो, त्यसताका सेरो सर्भिलेन्समा देशभरि १३.९ प्रतिशतलाई कोभिडविरुद्घ एन्टिबडी बनेको देखियो,’ सर्भेमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशकको हैसियतले संलग्न डा. पाण्डेले भने, ‘सबैभन्दा बढी प्रदेश २ मा करिब २८ प्रतिशतमा र वाग्मती प्रदेशमा करिब २२ प्रतिशत जनसंख्यामा कोभिडविरुद्घ एन्टिबडी बनेको देखियो । अर्थात् उनीहरू जानाजानी वा नजानी नै यो संक्रमणको सिकार भइसकेका थिए ।’

कोभिड भाइरसविरुद्घ शरीरमा धेरै समय इम्युनिटी (रोग प्रतिरोधक क्षमता) नरहने भएकाले मुलुकमा कोभिडको दोस्रो लहर आउने पनि त्यति नै सम्भावना रहेको उनको भनाइ छ । भाइरसको म्युटेसन हुँदै जाँदा साधारणतया रोग सार्ने क्षमतासमेत घट्दै जाने औंल्याउँदै उनले नयाँ भाइरस नआए त्यति बढी समस्या नदेखिने दाबी गरे । हाल दक्षिण अफ्रिकातिर आएको स्ट्रेन बढी प्याथोजेनिक (रोग उत्पन्न गर्ने) र बेलायतमा देखिएको स्ट्रेन बढी फैलिने खालको छ । हालसम्म कोभिडको संक्रमण भएपछि शरीरमा कति समयसम्म यो संक्रमणविरुद्घको प्रतिरोधक क्षमता रहिरहन्छ भन्ने यकिन जानकारी छैन ।

अनुसन्धानदाता वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीका अनुसार सार्वजनिक नगरिएको पहिलो सेरो प्रिभलेन्स सर्भेमा देशभरि १३.९ प्रतिशत नागरिकमा कोभिड संक्रमणमा परिसकेको देखिँदा त्यही बेला अमेरिकामा गरिएको यस्तै सर्वेक्षणमा ९.३ प्रतिशत, स्विट्जरल्यान्डमा ८ प्रतिशत, बेलायतमा ७ प्रतिशत, बेल्जियममा ५ प्रतिशत र भारतमा ६.६ प्रतिशत मानिसमा कोभिड संक्रमणको चपेटामा परेको देखिएको थियो । नेपालको अवस्था अन्य देशको दाँजोमा जटिल देखिएकाले सायद आत्तिएर नीति–निर्माता यो सर्वेक्षणको परिणामलाई सार्वजनिक नगरेको उनको भनाइ छ ।

कोभिड–१९ संक्रमणको अवस्था जान्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा केही दिनअघि सुरु गरिएको सशुल्क ‘टोटल एन्टिबडी परीक्षण’ मा हालसम्म ५० नमुना परीक्षण गर्दा ३० जनाको शरीरमा कोभिडविरुद्घको एन्टिबडी देखिएको सूचना अधिकारी राजेशकुमार गुप्ताले बताए । कोभिडको हट स्पटका रूपमा रहेको काठमाडौंलगायत तराईका सहरमा नियमित रूपले सेरो प्रिभलेन्स सर्वेक्षण हुनुपर्ने औंल्याउँदै डा. बीसी भन्छन्, ‘मुलुकमा विभिन्न जनसंख्या, विभिन्न ठाउँ र समयको अन्तरालमा नियमित सेरो प्रिभलेन्स सर्भिलेन्स गर्नुपर्ने हो ।’

ठूलो जनसंख्यामा कुनै खास रोगविरुद्ध एन्टिबडी बन्छ भने यस्तो स्थितिमा उक्त रोग फैलिने चेन (कडी) रोकिन्छ र बाँकी व्यक्ति संक्रमित हुनबाट जोगिन्छन् । यस्तो हर्ड इम्युनिटी अर्थात् भाइरससँग लड्ने रोग प्रतिरोधक क्षमताको विकास संक्रमणको प्राकृतिक फैलावट वा खोपको माध्यमले हुन सक्छ । हर्ड इम्युनिटी खोपको माध्यमले आउनु नै सबैभन्दा राम्रो र सुरक्षित मानिने उल्लेख गर्दै विज्ञहरू भन्छन्, ‘६० प्रतिशतभन्दा बढी मानिसमा संक्रमणविरुद्ध एन्टिबडी पाइयो भने उक्त रोगविरुद्घ एन्टिबडी नबनेका बाँकी मानिससमेत संक्रमणबाट सुरक्षित रहन सक्छन् ।’

साभार: कान्तिपुर

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights