मिडियाखबर
यतिबेला नेपालमा एउटै राजनीतिकदलका नेताकार्यकताहरु बिच जुँगाको लडाँई भैरहेको छ। जनता यो लडाँईको चेपुवामा परेर आफ्नो स्वतन्त्रतालाई जोगाउन सकिरहेका छैनन। जनताको स्वतन्त्रता रक्षाकालागि राज्य स्तरबाट समेत कुनै सुरक्षित कदम चाल्न सकेको देखिदैन । राजनीतिकदलहरुको खेलौनाका रूपमा रहेका जनतालाई निर्णायक शक्तिका रूपमा लिनु पर्नेमा जनताबाटै निर्वाचित भएका नेताहरुले जनतालाई गलहत्याएर आफू खुशीले जनाधिकार खोस्ने काम गरिरहेका छन् । एउटै दलका नेताकार्यकर्ताहरु दुई गुटमा विभाजन भएर सडकमा तमासा देखाउनु विश्वका सामु लज्जास्पद कुरा हो ।
राजनीति समाजलाई विकासको गतिमा अघि बढाउने स्थायी माध्यम बन्नु पर्ने मा त्यो हुन सकेको छैन । जनताले त नेतृत्व तहमा राजनीतिको माध्यमबाट मुलुकलाई दिगो विकासको बाटोमा लैजान, सबल, सफल र सक्षम सरकारको चाहना राखेको थिए । एउटै दलको दुई तिहाई मत भएको सरकार रहेको देशमा राजनीतिले स्थिरता पाउन नसक्नु भनेको कुकुरलाई घिउ नपच्नु जस्तै हो ।एकापसमा ङार्रङुर्र गरिरहनु अनि एउटै उद्देश्यका साथ सँगै हिडेका साथीहरुकाबिच मतमतान्तर भैरहनु र एकापसमा सौताका छोराछोरी बिच पनि गर्न नसकिने व्यवहार देखाउने संस्कारको विकासलाई टेवा दिने काम भैरहेको छ ।
समाज के चाहन्छ र आजको हाम्रो राजनीतिक, आर्थिक, सामाजिक आवश्यकता के हो भन्ने कुरा बुझ्न नसकेर नै मुलुक आजको बैयक्तिक राजनीतिक द्धन्दमा फस्न पुगेको स्पष्ट छ । यो अवस्था सिर्जना गराउनमा सतारुढ दलमात्र होइन बिपक्षी दलहरु पनि जिम्मेबार रहेका छन । किनभने बिपक्षी दलहरुले सतारुढ दलका नेताहरुलाई बैयक्तिक राजनीतिक द्धन्द तथा खिचातानीका कारण मुलुकको आर्थिक सामाजिक राजनीतिक अवस्थामा आँच आउन नदिन सचेत गराउन सकेनन ।बरु सतामा सहभागिताकालागि दाउ हेरिरहे । एउटै दलभित्र गुट उपगुट बनाएर जुँगाको लडाईमा र एकले अर्कोलाई बदनाम गराएर सेखी झार्ने काममा सधैँ लागि परेको कुरा हामी सबैका सामु छर्लङ छ । गुट उपगुट र व्यक्तिगत रूपमा भैरहेको जुँगाको लडाईले आखिरीमा हामी नेपाली जनता नै मार्कामा पर्छौ र क्षतिपनि नेपाली समाजकै अस्तित्वमा असर पर्छ । सामाजिक, राजनीतिक, आर्थिक प्रगतिमा बाधा पर्दछ । तर यहाँ व्यक्तिगत नाकलाई चुचो पारेर राख्न र हुँदै नभएको जुँगालाई छ भनेर देखाउनकालागि पनि एकापसमा तँतँ र मम गरिरहेका छन ।
यसरी एउटै घरका दाजुभाइले आमाको न्यानो काखमा बसेर तँतँ र मम गरिरहदा घरभित्रै अर्कोले खेल्ने मौका पाउँछ र घरको स्वतन्त्रता हनन गरी आफ्नो कब्जामा लिन सक्ने अवस्था नआउला भन्न सकिन्न ।प्रतिपक्षीले त कसरी आफ्नो अवसर आउँछ भनेर मौका हेरिरहेको हुन्छ भन्ने कुरा पनि एउटै भाडोमा पाकेको खानाखानेहरुले बुझ्नु पर्ने हो तर प्रतिपक्षीलाई अवसर दिन आआफैमा त्यही भाँडोकालागि झगडा गरिरहनु आफ्नै मतदाता, जनताका सामु महामुर्खपन देखाउनु बाहेक अरु केही होइन ।
नयाँ जनादेशकालागि भन्दा पनि जुँगाकालागि भएको यो लडाँईले आखिरीमा लडाँईमा होमिनेहरुकै क्षति हुन्छ । किनकि जनताले दिएको मतको कदर गर्न नसक्दाको परिणामको भागिदार जनता हुँदैनन । जसलाई जनताले दुई तिहाई मतदिएर पठाए उसैले भोग्नु पर्ने हुन्छ । पाएको अधिकारलाई सडकमा गएर प्रदर्शन गर्नु वा जनताले अधिकार मलाई दिएका हुन तलाई होइन भनेर दलका नेताहरुले भन्नु गलत हो । जनताले त नेकपालाई मत दिएका हुन तर यहाँ दललाई र दलका नेताहरुलाई मान्छे नगन्ने केही नेताहरुको प्रवृतिले आज नेपाली जनताले संसद विघटनको अवस्था व्यहोर्नु परेको छ। एउटै दलभित्र बसेर एकले अर्कोलाई गैर कानूनी, गैर संवैधानिकभन्नु वा एक अर्काले गरेको सल्लाह सुझावलाई स्वीकार नगर्नु काम वा कुनै टिका टिप्पणीलाई रद्दीको टोकरीमा मिल्काउनु जस्तै हो ।
बोलेका वा कुनै लिखित पेश गरेमा त्यसलाई बेवास्ता गर्नु जस्ता कृयाकलापले आफू भित्रकालाई होइन बाहिरकालाई फाइदा हुन्छ ।
यस्तो जनबिरोधी कार्य ततकाल नै सबैतिरबाट रोकिनु पर्छ र न्यायसंगत तरिकाले समस्याको समाधानखोजिनु पर्छ । नेता नेताबिचको जुँगाको लडाईमा सर्वसाधारण जनतालाई पार्नु हुँदैन भन्ने आम नेपाली जनताको माग हो र जनताले दिएको मतको कदर गर्न गराउनकालागि, मुलुकको प्रगतिमा, स्वाभिमान रक्षाकालागि न्याय प्रेमी जनताहरुले निरन्तर आवाज उठाइरहनु पर्दछ । जुँगाको लडाँईका पछि लागेर हामीले दिएको मतको रक्षा पनि हुँदैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया