मिडियाखबर
माधवपोखरेल गोज्याङ्ग्रे
नेपाली राजनीतिले नेपाली जनतालाई सधैँ आहत मात्र दिइरहेको छ । सधैँ राहतको आशामा रहने जनताकालागि आवश्यक राहत के हो त्यसको निर्क्योल गर्न नसक्नु नेपाली राजनीतिको एउटा ठूलो गल्ती हो । राजनीतिका माध्यमबाट सतामा पुगेका नेताहरू जनताप्रति कहिल्यै पनि सकारात्मक बन्न सकेका छैनन् । नेताकालागि राजनीति समाजसेवाको बाटो हुनुपर्नेमा त्यो नभई ठगी खाने पेशा भएको छ । मतका भोकाले आश्वासनको पोको बाँडेर जनतालाई गुमराहमा पार्ने रणनीति आजदेखिको खेती होइन । यो खेती राणा कालिन अवस्थादेखिकै हो भन्दा हुन्छ । नेपालमा जे जति राजनीतिक दलहरु छन ती सबै सतामा पुग्नु अघि शक्तिशाली, आदर्शवादी, पानीमाथिको ओभानो, जनताका सच्चा इमान्दार र असल नेतृत्व गर्न सक्ने दलको नेताका रुपमा ठान्छन । आफूलाई मै हुँ भन्दै ठूला ठान्छन् । तर सतामा पुगेपछि तिनीहरु पनि अन्धो हुन्छन् र जनताका कुरालाई सताको कुर्सिमा बस्न नपाउँदै तिलाञ्जली दिन्छन् ।
राजनीतिक ड्याङ्का मुलाहरु गुलियो हुँदैनन् । हेर्दा गतिलो भरिलो देखिए पनि भित्र फोस्रो,गुदी नभएको,खाँदा पिरा, स्वाद बिनाको हुन्छन् । भनौ ति मुलाहरु जनताकालागि कुनै काममा प्रयोग हुँदैनन् र मुलाको सागमा परिणत हुन्छन् । अहिले नेपाली राजनीतिमा सबै दलका नेताहरु मुलाको सागझैँ भएका छन । जनताकालागि कुनै काम नै नदिने । सतामा हुने र नहुने प्रतिपक्षी सबै एउटै ड्याङ्मा दरिएका छन । समयले नेटो काटिसकेको छ तर नेपाली राजनीतिले प्रगतिशीलताको बाटोमा हिड्न सकेको छैन । अग्रगामी भएर प्रतिपक्षीको मुख थुन्ने गरी हिड्नु पर्नेमा पश्चगामी भएर हिँडेको देखिन्छ । नेपालको प्रतिपक्षी राजनीति नै सवल र सक्षम छैनन् । सतापक्षलाई एउटा निश्चित बाटोमा हिडाउन नसक्ने प्रतिपक्ष भनेको सताकालागि -याल चुहाएर बस्नु हो ।
राष्ट्रिय राजनीतिमा जनता र राष्ट्र नै सर्वोपरी हुन्छन भन्ने कुराको ख्याल भएर पनि सताकालागि -याल चुहाएर स्याल भएर बस्नु भनेको लाज पचाएर राजनीतिगर्नु हो । जनताका आधारभूत आवश्यकता पनि पुरा गर्न नसक्ने, विकास निर्माणका काममा अग्रसर नहुने, निर्माण व्यवसायीहरुबाट कमिशन मात्र लिने आआफैँमा लडाई झगडा गर्ने र छिमेकी हसाँएर गाइजात्रा देखाउने काममा बढी उध्त भएको सबैले देखेकै छौँ । भनौ मुला रोप्न तयार पारेको ड्याङ्मा एकै जातको मल, बीऊ, पानी परेको छ भने अर्कोतिर गोडमेल गर्ने मानिस पनि एउटै र कपटी स्वभावको छ भने मुला पनि सप्रदैन । त्यस्तै नेपाली राजनीतिमा पनि नेताहरु शुरुमा एउटै ड्याङबाट उत्पादन भएका कारण सप्रन नसकेको लख काट्न सकिन्छ । जव वंशज नै गतिलो छैन भने त्यसका सन्तान कसरी गतिलो हुन्छन् ?
फेसबुकबाट तपाईको प्रतिक्रिया