☰ open

जुलुसको जय होस

२०७७ फाल्गुन २, आईतवार १५:४७
मिडियाखबर

व्यङ्ग्य

माधवपोखरेल ‘गोज्याङ्ग्रे’

जुलुसको जय होस् जुलुसको जय होस् । मुलुकको क्षयहोस्, मुलुकको क्षयहोस् । जिन्दावाद, मुर्दावाद !

नारा अचम्मको छ । मुलुकले बसालेको थिती र बसाल्ने प्रयासकालागि गरेको पहलको बिरोधमा यी नारा जुलुसहरुको उद्देश्य स्वार्थमा निहीत हुन्छ भन्दा परक पर्दैन । राज्यले बनाएका नियम कानुन पालना गर्नु प्रत्येक सचेत नागरिकको उल्टो कर्तव्य हो । तर ती अचेत भनाउँदाहरु सचेत बनेर मुलुकलाई अध्यारो र गहिरो खाल्डोमा जाक्न जुलुसको प्रयोग गर्छन , मुलुकलाई घात गर्छन, क्षय पु-याउँछन ।

मुलुकमा दिनहुँ जसो नारा जुलुस र प्रदर्शनहरु भै रहन्छन । अधिकार माग्ने निहुँमा राज्यसँग नै निहुँ खोज्ने प्रवृति र अपराध लुकाउन गरिने प्रदर्शनले मुलुक आक्रान्त भएको छ । जिन्दावाद पनि छ, मुर्दावाद पनि छ । जिउँदोलाई मुर्दा बनाएर बादबादको प्रतिवाद गरेको हो, वा मरेको मुर्दालाई नै मुर्दा बनाएर जिउँदो बनाउन खोजिएको हो । वा, जिउँदा मान्छेहरुको उपहास गरिएको हो, त्यो प्रदर्शनकारीहरुको जवाफमा पर्दैन र त्यसको जवाफदिने प्रयास पनि गरेका छैनन् अहिलेसम्म ।

जुलुस साना केटाकेटीदेखि बृद्धसम्मले निकाल्छन् । केटाकेटीको जुलुस देखासिकी हो भने बृद्धहरुको जुलुस नाटक पनि हो । हामी कति शक्तिशाली छौ भनेर राज्यका निकायहरुलाई देखाउन वा तर्साएर लाभ लिनकालागि पनि यस्ता घातक र अनुत्पादक अनि राज्य दोहनकालागि गरिएको वा भनौ कानूनको खिल्ली उडाउनका लागि रचिएको एउटा दृश्यात्मक प्रपञ्च हो । यसले नागरिक समाजका विभिन्न बर्ग र समुदायलाई पीडा दिइरहेको  हुन्छ ।

उदाहरणमा हालै लागु भएको देवानी तथा फौजदारी संहिताका विषयलाई लिन सकिन्छ । अत्यावश्यक सेवा प्रदायक संस्था स्वास्थ्य क्षेत्रका प्रबुद्ध डाक्टर भनाउँदाहरुको व्यहोरा हेरौ वा कानून व्यवसायीहरुको होस् वा पत्रकारहरुको जुलस वा धर्ना होस् यसमा आफू खुशीको कानूनको व्याखा गर्ने संस्कार प्रवृति हावी भएको छ । अनि शुरु गरेका छन् नारा जुलुसतन्त्रको प्रादुर्भाव र गणतन्त्रलाई निरीह र विचरो बनाइएको छ ।

राजनीतिको सिकौरोले उब्जाएको यो संस्कारको अन्त्य नभए सम्म हामी उभो लाग्न सक्दैनौ । जब हामी राज्यले बनाएका कानूनहरुको पालना गर्न सक्दैनौ र आफू पनि इमान्दारिता र अनुशासनमा बस्दैनौँ भने अरुलाई अनुशासन र इमान्दारिताका कुरा सिकाउनु नै हाम्रो अज्ञानता र अहमता हो । यही अहमताले हामी बिग्रिएका हौँ भन्ने कुरा हामीले बिर्सैका छौ । जसले अनुशासनका कुरा गर्छन अरूलाई सिकाउँछन उही नै अनुशासनहिन भएको देखिन्छ । भनौ, शासनमा घुशासन चल्यो भने त्यहाँको प्रशासनले अनुशासनलाई धोतीभित्रको लगौटी बनाउँछ । र त्यही भएको छ नेपालमा जसकाकारण जुलुसको जयहोस भन्नेहरु बढेका हुन भन्दाकुनै फरक पर्दैन ।

खुट्टामा लाउने औषधी नाकको बिरामीलाई दिन पाउनु पर्छ, हत्याका अभियुक्त , आरोपीहरुलाई कानूनी कार्यवाही गर्न पाइन्न, उसले मनपरी गर्न पाउनु पर्छ । दोषिहरुले उन्मुक्ति पाउनु पर्छ । दोषिहरुलाई पक्राउ गर्नु न्यायिक कुरा होइन ।  बिना पक्राउपूर्जी वा बिना अपराध पुलिसले निर्दोष नागरिक पक्राउ गर्न र बिना प्रमाण कार्यबाही गर्न पाउनु पर्छ । त्यसैकालागि जुलुस निकालिन्छ नाराबाजी गरिन्छ । यो मनपरितन्त्रको सदुपयोग गर्न पाउनु पर्छ । हाम्रो माग पुरा हुनु पर्छ । माग पुरा नभए सडक सदन मुनामदन सबै बन्द गर्छौ र गर्न पाउनु पर्छ । कानूनको अपव्याखा गर्न पाउनु पर्छ । कानूनका ज्ञाताहरुले समेत सडकमा कानूनका ठेलीहरु मिल्काएर जुलुस निकालेर प्रदर्शन गरेका छन् भने गैर कानूनी क्षेत्रका मानिसहरुले कानून नै नबुझिकन पनि जुलुस निकालेका छन् । जुन कुरा अज्ञानताले भन्दा पनि मुर्खतामा बढी भर पर्दछ । मुर्खहरुको जमातले जुनसुकै बेला जहाँ जे पनि गर्न सक्ने भएकोले माध्यमका रुपमा जुलुसलाई प्रयोग गरेर अकल्पनिय कामहरु वा विध्वंशात्मक कामहरु भएको हामीले देखेका छौ । कतिपयकालागि जुलुसले औषधीको काम गरेको छ भने कतिपयकालागि विषको पनि ।

जुलुस उडुस, उपियाँ, झिगा, कमिला, जुम्रा , मच्छर, भुसुना, किरा, फट्याङ्ग्रा, चराचुरुङ्गी, जनावर वा जेसुकैको होस्, त्यसले आफ्नो स्वार्थकालागि तानाबाना बुनेर जमातलाई परिचालन गरेको हुन्छ । मानिसको जुलुस भन्दा कमिलाको जुलुस हाम्रालागि शिक्षाप्रद हुन्छ । मानिसको जुलुस मानिसकै लागि घातक सिद्ध भएको कैयाँ प्रमाणहरु हामीले देखेका छौ , भोगेका छौ । जुलुस भन्ने बितिकै कुनै बिद्रोहीले आफ्नो शक्ती देखाउनकालागि समाजमा गरेको एउटा बिद्रोह हो भन्ने गरिन्छ । जुलुस बिद्रोहको प्रतिक हो भने यसले समाजलाई चेतनाको दियो बालेर उज्यालोतिर लैजाने कामपनि गरेको हुन्छ । तर समाजको अहितमा यसले बढी भूमिका निर्वाह गरेको हुन्छ । यी सबैखाले जुलुसले मुलुकको हितमा भन्दा बढी अहितमा कामगरिरहेको हुन्छ । जुलुस समयको माग र चेतना फैलाउने माध्यम पनि हो । तर जुलुस उपलब्धिपूर्ण र सार्थक हुनु पर्दछ । औचित्यहिन जुलुसले समाजमा नकारात्मक सन्देस जान्छ र त्यसको असर नराम्रो पर्दछ ।

उदयपुर, गाईघाट

सम्पर्क ९८५४०२०५१०

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया