☰ open

ताप्लेजुङको सेरोफेरोः पुर्वकी देवी पाथिभरा

२०७७ फाल्गुन १३, बिहीबार ११:५६
मिडियाखबर

 

 

माधवपोखरेल ‘गोज्याङ्ग्रे’

नेपालको पूवोत्तर क्षेत्रमा रहेको ताप्लेजुङलाई कतिपय पर्यटकहरुले नेपालको सिक्किमको संज्ञा पनि दिएका छन ।प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यो जिल्ला प्रसिद्ध कञ्चनजङ्घा हिमाल (जो नेपालको दोश्रो ठूलो हिमाल पनि हो) कुम्भकर्ण हिमालको काखमा रहेको छ । सदरमुकाम फुङलिङ बजार ताप्लेजुङ जिल्लाको मुटु हो भने आन्तरिक र बाह्यपर्यटन प्रबद्र्धनकालागि यहाँ वर्षेनी लाखौ पर्यटकहरु भित्रिने गरेका छन ।पर्यटकहरुका लागि यहाँको मुख्य गन्तव्य भनौ वा आकर्षण नै पाथिभरा देवीको मन्दिर हो । नेपालका हजारौ देवदेवीका मन्दिरहरु मध्ये पूर्वको प्रमुख देवी र तीर्थस्थलका रुपमा मानिएको पाथिभरा मन्दिर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट करीब २१ किलोमिटर उतर पूर्वतिर पर्दछ । कतिपय पर्यटकहरु पैदल हिडेर पनि पाथिभरादेवीको दर्शन गर्छन । कतिपय पर्यटकहरु फुङलिङ बजारदेखि गाडीको माध्यमबाट तल्लो फेदी अर्थात् काफ्लेपाटीसम्म पुगेर त्यहाँबाट पैदल करीब सातकिलोमिटर हिडेर पाथिभरा माताको दर्शन गर्न पुग्ने गर्दछन । ताप्लेजुङबाट सुकेटार विमानस्थल ८ किमी छ भने सुकेटारबाट काफ्लेपाटी करीब ७ किमी रहेको छ ।

गाडीबाट उत्रिएर अर्थात काफ्लेपाटीदेखि करीब ६ किमी उकालो पैदल हिडेपछि पाथिभराको मन्दिर पुग्न सकिन्छ । बाटोमा बस्तीहरु छन । जहाँ आपत विपत पर्दा भक्तजनहरुले खान बस्नका लागि सुविधा पाउँछन । काफ्लेपाटीबाट माथि बलुडाँडा, माथ्लो फेदी रहेको छ । त्यहा तीर्थयात्रीहरुकोलागि बास बस्न होटलहरु रहेका छन । टाढा टाढाबाट आएका तीर्थयात्रीहरु आफ्नो सहजताकालागि प्रायःजसो साँझ काफ्लेपाटी, बलुडाडा, माथ्लो फेदीमा बास बसेर भोलिपल्ट बिहानै पाथिभरा दर्शनकालागि जाने गर्दछन । अग्लो डाँडाको टुप्पोमा रहेकी मात ापाथिभराको दर्शनकालागि दशैँको समयमा नवरात्रका अवधिलाई सबैभन्दा उचित मानिन्छ भने त्यसपछि चैत्रको दशैँको अवधिलाई पनि उपयुक्त समय मानिन्छ । यी दुई समयमा पाथिभरा मन्दिरमा दर्शन गर्न जाने भक्तजनहरुको दिनहुँ घुइचो लाग्ने गर्दछ ।

दैनिक २ सयदेखि हजारजनासम्मको भिडमन्दिरमा लाग्ने गर्दछ । कतिपयले आआफ्नो भाकल अनुसार बलीदिने गर्दछन भने कतिपयले परेवा उडाउने,भाकल अनुसारको पशुपंक्षी मन्दिरमा लगेर बली नदिई माताका नाममा छाडने पनि गर्दछन । फुङ्लिङ नगरपालिकाको वडा नं ९ मा पर्ने पाथिभरा मातालाई स्थानीय लिम्बु भाषामा मुक्कुलुम पनि भनिन्छ । कुम्भकर्ण हिमाललाई स्थानीय भाषामा फाक्ताङ्लुङ भनिन्छ र सोही हिमालको स्थानीय नामबाट फाक्ताङ्लुङ गाउँपालिकाको नाम पनि राखिएको छ । नेपालका देवीका मठमन्दिरहरु मध्ये अधिकांश मन्दिरहरु अत्यन्त बिकट पहाड तथा भिर पहरा कान्ला छिचोलेर पुग्नु पर्ने स्थानमा रहेका छन । ति मन्दिर तथा देवीहरुका बारेमा आआफ्नै महत्वका विशिष्ट खाले कथाहरु पनि सुनिदै आइएको छ ।

अनेक किस्सा, लोकोक्ती, लोककथा,तथा दन्त्यकथाहरु, किम्बदन्तिहरु समेत स्थानीय स्तरमा सुन्न सकिन्छ । पाथिभरा मन्दिरको उत्पतिका बारेमा प्रचलित किम्बदन्ति अनुसार दशैको नवरात्रको समयमा उक गुरुङ गोठाला आफ्ना भेडा चराउन पाथिभराको डाँडामा भेडाका बथान लिएर गएछन । दिनभरी भेडा चराएर साँझमा गोठ फर्किने समयमा भेडा गन्ती गर्दा भेडा हराएको थाहा पाएछन । हराएको भेडा यताउता सबैतिर आफुले जाने बुझे र देखेका पुगेका ठाउँ सबै तिर खोजे तर फेला पार्न सकेनन । भेडा फेला नपरेपछि चिन्तित हुँदै उनी भेडी गोठतिर गए । खानपिन गरेर सुतेपछि राती सपनीमा देवीले दर्शन दिइछन र भनिछन—‘ हे मानव तिमीसँग भएको भेडा मध्ये सबैभन्दा ठूलो भेडा माथिको डाँडाको टुप्पोमा रहेको भगवानको आकृति भएको ठूलो राम्रो र चिल्लो ढुङ्गामा भोग दिनु, हराएका तिम्रा सबै भेडाहरु भेटिनेछन ।’ देवीको यो कुरा सुनेर ति गोठाला बिहान उठेर सबैभन्दा ठूलो भेडाको भोग दिन डाँडामा पुगेर भोग दिए । भोग दिए पछि बास बसेका ठाउँमा पुगेर हेर्दा हराएका भेडाहरु सबै चरि रहेको अवस्थामा फेला पारेको किम्बदन्ति यस क्षेत्रमा प्रचलनमा रहेको पाइन्छ । हराएका आफ्ना भेडाहरु फेला परेपछि गोठाला अत्यन्त खुशी भएर गाउँघर वरपर सबैलाई यो कुरा सुनाउँदै हिडेछन । गाउँलेहरुले पनि गोठालाको भनाइ अनुसार आआफ्नो समस्या वा मनका इच्छा चाहना कामना सहित त्यो ठाउँ हेर्दै खोज्दै जाँदा फेला पारेछन र धुपबती सहित पुजाआजा गरेर फर्केछन ।

उनीहरूका कामना वा मागेको भाकेको कुरा पनि पुजाआजा पश्चात पुरा भएको थियो भन्ने किम्बदन्ति प्रचलनमा रहेको पाइन्छ । सो ठाउँ अन्नले भरिएको पाथिजस्तो चारैतिरबाट चुलिएको भएकोले पाथिभरा भन्न थालिएको हो भन्ने कथा पनि यहाँ प्रचलनमा रहेको पाइन्छ । अर्को तर्फ चिल्लो राम्रो ढुङ्गालाई पुजाआजा गरेर भेडा फेलापारेको शक्तिशाली कुराले सो ढुङ्गाको महत्व बढदै गएकोले वाभनौ व्यक्तिको इच्छाशक्ति पुरा गर्ने भएकोले उक्त देवी रुपी ढुङ्गाको नाम स्थानीय लिम्बु भाषामा मुक्कुमलुङ राखेछन । जसको अर्थ शक्तिशालि ढुङ्गो भन्ने रहेछ । शुरुमा यहाँ पाथिभरा देवीका रुपमा ढुङ्गाको मुर्ति रहेको र पछि धातुको मुर्ति स्थापना गरेको हो । पाथिभरा माताको मन्दिर समुन्द्र सतहबाट करीब ३७९४ मिटरको उचाईमा रहेको छ । सधैँ चिसो भैरहने उक्त मन्दिर वरपरका ठाउँमा हिउ पर्दछ भने हिउँदका महिनाहरुमा भक्तजनहरु अत्यन्त न्युन रुपमा जाने गर्दछन ।

पैदल हिड्दा ठाडो उकालो पर्ने भएकोले तीर्थयात्रीहरुकालागि सहजता होस भन्ने उद्देश्यले पाथिभरा विकास समिति, पाथिभरा संरक्षण क्षेत्र लगायतका सरकारी तथा गैर सरकारी संघ संस्थाहरुको खर्च र पहलमा बाटोमा ढुङ्गा बिछ्रयाएर खुडकिलो बनाउनुका साथै तिर्थयात्रीहरुलाई हावाहुरी वा वर्षाबाट जोगिन, हिउँ परिरहने भएकोले हिउँबाट असर नहोस भन्ने उद्देश्यले बाटोभरी जस्ता पाताको ट्रष्ट हालिएको छ । यस्तै रात्रीकालिन अवस्थाकालागि बाटोभरी उज्यालो बनाउन विद्युत समेत जडान गरिएको छ । हिउँदका समयमा पाथिभरा जानेहरुले हिउँसँग खेल्दै रमाइलो गर्दै जान पाउनेछन भने हिडन नसक्ने अशक्त वा बाटोमा बिरामी परेकाहरुकालागि शशुल्क भरिया सेवा समेत लिन सकिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights