☰ open

विचारको परिणति हाम्रो जीवन

२०७७ फाल्गुन १९, बुधबार १२:२१
मिडियाखबर

खप्तड बाबा
जब हाम्रा विचार बाहिरतिर जान्छन्, तब ती खालि हावामा उड्दैनन् । ती हाम्रो दिशालाई स्थिर परिवर्तित गर्नमा एवं धनवान् वा दरिद्र बनाउनमा , हाम्रा कार्यहरुलाई सिद्ध वा नाश गर्नमा मुख्य कारण हुन्छन । यदि हामीले आफ्ना विचारहरुलाई उचित मार्गमा चलाउन जान्यौं र चलाउन सक्यौं भने समस्त दुःखहरुबाट छुटकारा पाई हामी परमानन्दमय जीवन व्यतीत गर्न सक्दछौं । हाम्रो मनमा आउने प्रत्येक विचार वाण सरह हुन्छ ।आफूमा भएको शक्ति र तीव्रता अनुसार अरुको हृदयमा गएर त्यस बलले असर पार्छ र फर्केर हामीमाथि आफ्नो राम्रो–नराम्रो प्रभाव पार्छ । त्यसैले आफ्नो मनमा उत्तम विचारहरुलाई स्थान देऊ किनभने ती विचार शीध्र नै तिम्रा बाह्य जीवनको उत्तम अवस्थाका रुपमा प्रकट हुने छन् । आफ्नो आत्मिक–शक्तिलाई आफ्नो वशमा राख । यसो गर्नाले तिमी आफ्नो बाह्य जीवनलाई जस्तो चहियो उस्तै बनाउन सक्नेछौ । जिज्ञासु र विषयीमा के अन्तर छ भने एउटा आफ्ना इन्द्रियहरुलाई वशमा राख्दछ र अर्को इन्द्रियहरुका वशमा हुन्छ । जो आफ्नो मनलाई उपयोगी, बलवान् र प्रसन्नचित्त राख्न चाहन्छ त्यसले अनिष्टकारक, घृणित र अपवित्र विचारहरुलाई कहिल्यै मनमा आउन नदेओस् । यदि तिमी क्रोध, मोह, लोभ, ईष्र्या वा अन्य यस्तै नै वासनाहरुका अधीन रहेर उत्तम अवस्थाको इच्छा गर्दछौ भने यो असम्भव छ । तिमीले नीच विचार गरेर पनि आफ्नो स्वास्थय ठीक रहोस् भन्ने ठान्दछौ भने त्यो कदापि हुन सक्दैन । योगीहरुको सिद्धान्त के छ भने विचार पनि एउटा परमबलवती शक्ति हो र विचारहरुद्वारा जे चाह्यो त्यही हुन सक्छ । विचार र भावले नै सब अङ्गहरुलाई पुष्ट बनाएर राख्न सक्छन् । यदि एउटा वाहुको व्यायाम विना विचारको र दोस्रो बाहुको व्यायाम गर्दा मेरो बाहुलीको बल खुबै बढिरहेछ भन्ने विचारका साथ गरियो भने पन्ध्र दिन पछि दुवै बाहुलीको बल शक्तिमापक यन्त्रले नाप्दा विचारपूर्वक व्यायाम गरिएको बाहुको बल अधिक पाइने छ । यसैले शक्तिको विचार गर्नाले बढ्दछ, यो निश्चित रुपले सिद्ध छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights