☰ open

राजनीतिक संस्कार सकिएकै हो त ?

२०७७ फाल्गुन २०, बिहीबार १५:२३
मिडियाखबर

 

माधव पोखरेल ‘गोज्याङ्ग्रे’

नेपालमा यतिबेला राजनीतिक माहौल सर्वत्र तातेको देखिन्छ । गुट गत रूपमा देखिएको राजनीतिक माहौलले देशको अवस्थालाई कुन बाटोमा लैजान्छ भन्ने कुराको  निर्क्यौल  गर्न सकिने स्थिति तत्काल देखिदैन । यतिबेला प्रधानमन्त्री के.पी ओली र प्रचण्ड नेपाल समूहका नाममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को दुई समूह एकापसमा मैदानमा उत्रेर हिलो छ्याप्ने काम गरिरहेका छन । जुन नेपाली राजनीतिमा दुर्भाग्यको कुरा हो । एकापसमा स्वार्थका लागि भएको यो अत्यन्त फोहरी खेलले दुबै समूहका साथीहरुलाई नराम्रो असर गर्दछ भन्ने कुराको ज्ञान सबैलाई छ । तर पनि आ आफ्नो अस्तित्वका लागि मैदानमा उत्रिएर जुन हर्कत गरिरहेका छन त्यो असल र चरित्रवान राजनीति गर्नेहरुका लागि सुहाउने कुरा होइन ।

राजनीतिक संस्कार बिहीन राजनीति भैरहेको अहिलेको  अवस्थामा एउटै नामको दुईवटा राजनीतिक दल जो हिजो सबै एकै ठाउँमा उभिएर राजनीतिक रुपमा सबल थिए । संसद बिघटनको विषयलाई लिएर भएको विवादका कारण गत पुष ५ गतेदेखि एकापसमा आरोप प्रत्यारोप तथा व्यक्तिगत रुपमा आक्षेप लगाउने हेलो होचो गर्ने जस्ता घृणित काम गरेर आ आफ्नो नैतिकतालाई पतन गराउने कामले राजनीति कहिल्यै पनि सप्रदैन र अघि पनि बढन सक्दैन । करीब दुई तिहाइको मत भएको दलले जनतालाई देखाएको आशा यतिबेला खरानी भएको छ । जनतालाई सपना देखाएर ती सपनाहरु खरानीमा परिणत गर्नु भनेको जनमतको अनादर गर्नु हो भन्दा फरक पर्दैन ।

राजनीति गर्ने पनि एउटा सिस्टम हुन्छ । अनुशासन बिनाको राजनीतिले नेतृत्व बर्गलाई पङ्गु बनाउँछ र नेपालमा पनि त्यही भैरहेको छ । नेपाली राजनीतिमा यो पुरानो रोग हो र यो रोगको उपचार गर्न नेपाली जनताको मत चाहिन्छ । जुन मतले दुई तिहाइको बललाई शून्यमा  झारेर पुन शुरुबाट राजनीतिक अभ्यास गर्नु पर्दछ । हामीलाई जनताले भोलि आजको अवस्थाबाट कुन अवस्थामा लैजान्छन भन्ने बिचार अलिकति पनि नभएका नेतृत्व कर्ताहरुले आउँदा दिनहरुमा कसरी जनतालाई साथमा लिएर हिडने भन्ने कुराको ख्याल गर्नु पर्दछ ।

राजनीतिक संस्कार बिर्सिएर कुबाटोमा हिडे  पछि अनेक प्रकारका बाधाहरु अप्ठेराहरु आउँछन । जनताको साथ पनि चाहिने तर जनताका कुरा नसुन्ने सुझाव सल्लाहलाई आत्मसात नगर्ने भएपछि एक्लै हिडेर कसरी गन्तव्यमा पुग्न सकिन्छ ? राजनीतिक संस्कारलाई बोक्न नसक्ने अनि आफू खुशी संस्कारका नारा लगाएर राजनीतिक उद्देश्य पुरा गर्न खोज्नु भनेको समाजबाट तिरस्कृत भएर राजनीति गर्नु हो भन्दा कुनै फरक पर्दैन ।

सत्य र निष्ठाको राजनीतिलाई पाखा लगाएर समाज सेवा कहिल्यै हुदैन र राजनीति भनेको समाज सेवाको एउटा गतिलो पाटो पनि हो । समाज सेवाकै माध्यमबाट धेरै मानिस राजनीतिमा अवतरण गरेका छन । समाज सेवामा लाग्दा अपनाएको संस्कारलाई राजनीति गर्दा पनि अगाल्ने हो भने तयसले राजनीति गर्ने व्यक्तित्व लाई उजिल्याउन मद्दत गर्दछ । तर यहाँ राजनीतिलाई पेशा बनाएर ठगी गर्न थालेको कारण सर्वसाधारण जनताले घृणा गर्न थाले जुन राजनीतिक संस्कार भन्दा बाहिरको कुरा हो । समाजलाई चरित्रवान बनाउनका लागि राजनीतिक नेतृत्वको पनि ठूलो भूमिका हुन्छ । तर राजनीतिक नेतृत्व नै चरित्रहीन भएपछि समाजले के गर्ने भन्दा तिरस्कार वा उसको नेतृत्व स्वीकार नगर्ने । राजनीतिक, सामाजिक संस्कार स्वीकार गर्न नसक्ने जो कोहीलाई पनि अब समाजले बहिष्कृत गर्नु पर्छ । यसले गर्दा राजनीति गर्ने नेतृत्व तहमा सजगता बढछ ।

अहिलेको अवस्थामा देखिएको राजनीतिक संस्कारले समाजमा बितृष्णा फैलाएको छ भने हिजो जुन रुपमा जनताले नेकपालाई स्वीकार गरी मत दिएका थिए अब आउँदा दिनहरुमा त्यो मत फिर्ता लिएर अर्को निर्णय गर्न सक्छन । जब  राजनीति गर्नेहरुले जनअपेक्षा अनुरुप संस्कार देखाउन सक्दैनन भने जनताले त्यसको परिणाम नेताहरुलाई भोगाएरै छाड्छन भन्ने कुरा बुझ्नु पर्दछ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights