☰ open

बाँदरहरुको सपना

२०७७ फाल्गुन २१, शुक्रबार १३:३७
मिडियाखबर

संजय प्रसाद पौडेल

बिच निद्रामा हिंड्ने बानी पहिल्यै देखिको थियो मेरो। गुहेश्वरी नजिक डेरा गरि बस्थे। त्यस दिन दिनभरी बाँदर धपाउँदा धपाउँदा लथ्रक्क थाकेको थिएँ। पर्याप्त खानेकुराको अभावमा बाँदरहरु हाम्रो बुईगल, कौसि अनि भान्सामा छिर्थे। धुरुक्कै खाना चोरेर हैरान पार्थे। पस्दा जेरै पस्थे। खाना, फलफुल , दुध, दहि छरेर कोहि पोखेर नास पार्थे। ससाना भुरा बाँदरहरुले हगेर सत्यानास पार्थे। आपसमै भोजनकोलागि लुछाचुड गर्थे। हल्ला पनि गर्थे। म राजधानिकै एक मध्यम किसिमको कलेजमा मानबसास्त्र ( Anthropology) पढाउथे त्यस बेला। म सोच्थे, ” हामी पनि यिनिहरुकै एक प्रजातीबाट बिकसित भएकोले यिनिहरुको नैसर्गिक गुण हामिमा पनि छ।” एक जना आंशिक शिक्षकले कोरडिनेटरको चाकरी गरेर मेरो २ पिरियड खोस्दियो। मानबसास्त्रको अध्यापन र गुहेश्वरीको बादरको खेला बिच धेरै तालमेल मिलेको देख्थे म। एकदिन म नभएको बेलामा यिनिहरु झ्यालबाट मेरो कोठामै छिरे छन र मेरा किताबहरु छरपस्ट पारे छन। मलाई अब भने किन किन ती बाँदरहरुदेखि सारै झोक चल्न थाल्यो। मेरो थुप्रै कितापहरु पनि हरायो। अब चिन्ता पस्यो मनमा भोलि पर्सि विद्यार्थीलाई नोट के दिने हो? यहि तनाबबिच सुतेको थिए। बाँदरहरुदेखि पनि रिस उठिराखेको थियो। कलेजको मालिक र कोर्डिनेटरशीत पनि रिस मरेको थिएन। कलेजको मालिकले तलबै खुवाउन नमान्ने। खुवाए पनी ढिलो खुवाउने। यता घरको भाडा तिर्न नसकेर तनावग्रस्त भै सके। डाक्टरले दबाई लेख्दा सुझाएका थिए, ” संजय जि! तनाव नलिनु होला! नत्र तपाईं विद्यार्थीलाई मानबसास्त्र होइन बाँदरशास्त्र पढाउन थाल्नु हुनेछ।” कुरा त बुझेकै थिएँ।


त्यस दिन मध्यरातमा घरको पर्खाल छर्पेर गुहेश्वरीको पुल तर्दै माथी भर्र्याङ् उक्ले स्वाँस्वाँ गर्दै। जुन लागेको छ टहटह। म बिस्वरुपा मन्दिर तिरको जङ्गल तिर सोझिए। अब म त्यहाँ जे देख्छु देखेर बिस्मात हुन्छु। मेरो हराएको कितापको माथिको जिल्द त्यहाँ मिल्केको छ जसमा मैले नाम र किनेको मिति लेखेको थिएँ। अनि यसो हेर्छु त्यहाँ। त्यहाँ त बाँदरहरु सभा गरेर बसेका छन। त्यहाँ बाहुनहरुले दुध खुवाउन नसकेर छाडिएका जर्सिका दुब्ला बाच्छाहरु थिए। अनि थिए मृगस्थलिका मृगहरु। गुहेश्वरिका सप्रेका काला बोकाहरु पनि घाटिमा घन्टि झुन्ड्याएर बसेको थियो। पसुपति तिर बरालिएर हिड्ने साँढे पनि थियो। कुकुरहरु पनि कुकुर्निको पछि लागेर त्यहाँ बसेका थिए। गुहेश्वरीको परेबाहरु पनि थिए। बाँदरहरु त हुने नै भयो। भुरा बाँदरहरु आफ्ना मातासंग  पेटमा टासिएर बसेका थिए। म लुकेर कौतुहलतापुर्बक तिनिहरुको चर्तिकला हेर्न लागे स्वाँस नफेरिकन। अब त्यहाँ मसंग  लाप्पा खेल्ने बाँदर जसलाई मैले धेरै चोटि झटारो हानेको थिएँ केही बोल्न खोज्दै थियो।

उसले भन्यो, ” सुन! मेरा साथिहरु! आज हामी ईतिहासको गम्भीर मोडमा छौ। हामी आफ्नो भोकसंग  जुझ्दै छौ। रामरी खान पाई रहेका छैनौ। फलस्वरूप हामी खाना खोज्न मान्छेहरुको घर घर पस्नु पर्छ। मान्छेहरु हाम्रा ठुला शत्रु हुन्। मान्छेहरुसंग  खाना खोस्ने द्वन्दमा मैले एउटा ठुलो रहस्य पत्ता लगाए। यो मैले त्यसै भनेको होइन। यी यो किताप हेर जुन मैले मान्छेको घरबाट चोरेर ल्याएको थिएँ। यसमा सारा कुरा उल्लेखित छ।” यति भनिसकेर बाँदरले मेरो चोरिएको किताप देखायो। उसले भन्यो, ” यो किताप चार्ल्स डार्बिन भन्ने एक जना पस्चिमी बैज्ञानिकले लेखेका हुन्। कितापको नाम हो ” On the Origin of Spices “अर्थात् प्रजातिहरुको उत्पति । यसमा यी आधुनिक भनाउँदा  मानिसहरु र हाम्रो बिभाजन रेखा ईतिहासमा कहाँ नीर कोरियो भन्ने  स्पष्ट लेखिएको छ। ईभोलुसनको सिद्धान्त अनुसार मानिसहरु र हाम्रो प्रजाती एउटै हो। अब हामिले ईतिहासले कोरेको बिभाजन रेखाको चिनो मेट्नु छ। हामी पनि मान्छे बन्नु छ। यो किताबले त्यही सिकाउँछ ।” म त छक्क परे बाँदरको कुरा सुनेर। उसले धेरै बेर बिचार गर्यो अनि चारै तिर हेर्यो अनि भन्यो,” यो कुरा मान्छेहरुले थाहा पाउनु हुन्न। समय क्रममा हाम्रो मुख्य सत्रु को हो ? पसुपतिका हाम्रै प्रजातिका बाँदरहरु वा गुहेश्वरीका मान्छे ? यो कुराको पनि छलफल गर्नेछौ। बाँदरबाट मान्छे बन्ने ” On the Origin of spices ” हाम्रो घोषणा पत्र हो। यो हाम्रो ठुलो सपना हो। “

” ठिक भन्नू भयो। यो मान्छे भन्ने जात त मलाई पटक्कै मन पर्दैन। मलाई मेरै आमाको दूध खान नदिई स्यानै उमेरमा गुहेश्वरीको जङ्गलमा मिल्क्याउँछ। मैले कति जाडो र वर्षा , घाम यहि जङ्गलमा दु:खले बिताएको छु त्यो पापी मान्छेलाई के थाहा? ” जर्सिको बाच्छोले भन्यो

 


” मेरो चारोमा पनि घोटाला गर्छन् यी मनुवाहरु। अघाउजी खान कहिल्यै दिदैन।”, साढेले भन्यो।
” यी मान्छेहरुले पाए त हामीलाई उहिल्यै काटेर खाईसक्थे।”, बोकाहरुले भने।
” सहि भन्नू भयो, साथिहरु। यी यो अर्को किताप पनि हेर्नुस् ।” यति भनेर उसले मेरो चोरिएको अर्को किताप हरारिको Sapiens पनि देखायो। म त छक्क परे। Sapiens हराको झोकमा मलाई सारै पिर परेको थियो। मैले बुढीसङ झगडा पनि गरेको थिएँ । ” बुढीले भनी म दबाई खाई रहेको छु र सबै कुरा रामरी सम्झिन सक्दिन।” मैले होला भनठाने। त्यो किताप पनि त्यसैले चोरेको रहेछ। त्यो बाँदर भन्दै गयो, ” यी कितापमा युबल हरारी लेख्छन, ” आजभन्दा एकलाख बर्ष पहिले यस पृथ्वीमा मानव प्रजातिका ६ वटा प्रजाती थिए। अहिले मात्रै होमोस्यापियन ( Homo Sapiens) छ। अरु बिलुप्त भए। अब यो पनि बिलुप्त हुनेछ। ” म त बाँदर र अरु जनाबरहरुको प्रपन्च देखेर ईन्तु न चिन्तु भए। एकै छिनमा त्यहाँ कोहि आयो। तर मैले उनिहरुलाई देखिन। बाँदरले भन्यो, ” कोहि नयाँ साथिहरु आउँनु भए जस्तो छ। उहाँलाई तालिले स्वागत गरौ।” उनिहरुले तालिले स्वागत गरे। बादरले सोध्यो, ” को हो तपाईंहरु ?”

उनीहरुले भने,” हामी गुहेश्वरी माताको रक्तबिज हौ। हामीलाई कसैले पनि देख्न सक्दैन। हामिलाई Microbiologist ले मात्र देख्न सक्छ। तपाईंको कुरा हामिलाई मन पर्यो। हामि पनी ती मान्छेहरुलाई सिध्याउन लाग्छौ।यी मान्छेहरु धेरै पापी भई सके। “

ल अब भने पृथ्वीमा बर्बाद हुने भो भनेर म चिन्तित भएँ। यसो हेरेको त प्रहरी आईपुग्यो। ” कता आको यति राती?” मैले भने,” बिहानको डुलाईमा।” ” भर्खर ३ बजेको छ। कताको डुलाई यतिखेर?” प्रहरिले मलाई झपार्यो, ” लगेर थुन्दिउ ?” मैले हतार पतार आफ्नो कलेजको परिचय पत्र देखाएँ। अब त्यो मेरै कलेजबाट पढेको रहेछ। थुन्दि हालेन। बडो आदर गर्यो। तल सम्म छोड्न आयो। कागजको कपमा चिया पियौ दुबै जनाले। त्यसपछी बाँदरहरुको कृत्य सम्झी कोठामा फर्के। बिहान अबेरसम्म सुते। कलेज बिदा थियो। बुढीले खुट्टामा रगत देखि। हिजो छर्पिदा पर्खालको भालाले घोचेछ खुट्टामा ” हिजो सग्लै सुतेको मान्छे। आज कसरी रक्ताम्य भयौ?” मैले बेलुका बाथरुम जादा अल्झेर प्यासेजमा लडे भने। बहाना मिलेको मिलेन आफैलाई थाहा भएन। कच्कचबाट  बच्न जे पनी भन्दिन्थे। आज आईतवार मेरो डाक्टरको पालो थियो। मैले डाक्टरलाई सारा कुरा भने हिजो देखेको सपनाको। गुहेश्वरी मन्दिरको। बाँदरहरुको। माईक्रोबायोलोजी रक्तबिजको। मैले डाक्टरलाई भने, अब यो पृथ्वीमा ठुलो दुर्घटना हुँदैछ। एउटा सुक्ष्म किसिमको भाईरसले बाँदरसंग  मिलेर क्रान्ती गर्दैछ। ” डाक्टरले भन्यो, तपाइँले सपना देख्नु भएको होईन। तपाईं फेरि निद्रामा हिड्नु भएछ। म तपाइँलाई अलि राम्रो tranquilizer थपिदिन्छु।” उनले फेरि लोराजिपाम नामको tranquilizer को डोज थपिदिए। म भने सारा स्मृतिको बल लगाउछु म हिजो कति राती गुहेश्वरी पुगेछु। तर सम्झिदिन। अब म पर्खदैछु। त्यो रक्तबिजलाई।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights