☰ open

निषेधाज्ञामा जहाज चल्छ? आन्तरिक उडान बारे मंगलबार निर्णय हुने, मंगलबार र बुधबार यात्रु चापचाप

२०७८ बैशाख १४, मंगलवार ००:४५
मिडियाखबर

काठमाडौं। कोभिड संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञाको समयमा अन्तर्राष्ट्रिय हवाई उडान निरन्तर हुने भएको छ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म जाने यात्रुलाई सवारी साधनका लागि सहजीकरण गरिने उल्लेख छ। ‘अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरुको हवाई टिकट, पासपोर्ट  भिसा हुनेहरुलाई सिधै एयरपोर्ट जाने सवारी साधनका लागि सहजीकरण गरिनेछ,’ कार्यालयद्वारा जारी सुचनामा भनिएको छ।

काठमाडौं उपत्यकाका तीनै जिल्लामा वैशाख १६ गतेदेखि २२ गतेसम्म एक साता निषेधाज्ञा जारी गरिएको छ। अन्तर्राष्ट्रिय उडानका बारेमा सुचनामा स्पस्ट उल्लेख भएपनि आन्तरिक उडानका बारेमा सुचनामा केही जानकारी दिइएको छैन। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक उडान संचालन सम्भव छैन।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सार्वजनिक र निजी सवारी साधन नचल्ने भएकाले आन्तरिक उडान सम्भव नहुने बताए। ‘आन्तरिक उडानका विषयमा विमान कम्पनीका संचालकहरुसँग मंगलबार छलफल गर्दैछौ,’ उनले बिजमाण्डूसँग भने, ‘उहाँहरुले पनि चलाउन कठिन हुने अनौपचारिक जानकारी गराइसक्नुभएको छ।’

मंगलबार र बुधबार भ्याइनभ्याइ

निषेधाज्ञा जारी भएपछि एकाएक हवाई यात्राको माग बढेको छ। निषेधाज्ञा लगाउने सुचना वाहिरिने वित्तिकै टिकट काट्ने क्रम बढेको थियो। सोमबार अचानक टिकटको भाउ समेत महँगिएको थियो।

यो देखेपछि आन्तरिक उडान गर्ने कम्पनीले अतिरिक्त उडान गर्दैछन्। बुद्ध एयरले मंगलबार १ सय ३० उडान गर्दैछ। कम्पनीका सुचना अधिकारी दीपेन्द्रकुमार कर्णले यात्रुको चाप बढेपछि उडान थपेको जानकारी दिए।

‘आन्तरिक उडान बन्द हुने र खुल्ने विषयमा कुनै पनि आधिकारीक निर्णय आएको छैन। हामीले मंगलबार र बुधबारका लागि भने अतिरिक्त उडान मार्फत सेवा दिन लागेका छौँ,’ उनले भने। पछिल्लो समय कर्णका अनुसार विवाहको लगन भएकाले यात्रुको संख्या बढेको थियो।यस्तै यती एयरलाइन्सले मंगलबार पाँचवटा एटिआर ७२ र दुईवटा जेटस्ट्रिम गरी कुल सातवटा जहाजमार्फत ६४ वटा उडान गर्ने भएको छ।  कम्पनीले यात्रु सेवा सहजतालाई मध्यनजर गर्दै रात्रीकालिन उडान हुने गन्तब्य विराटनगर, भैरहवा, नेपालगञ्ज, भद्रपुर राती ९ बजेसम्म उडान गर्ने कम्पनीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन वर्तौलाले बताए।

’१६ गतेदेखि निषेधाज्ञा लागू घोषणा भइसकेको छ। आन्तरिक उडान खुला हुने नहुने कुराको आधिकारिक जानकारी आएको छैन। दुई दिनको अवधिमा यात्रु बढ्ने देखेर उडान थपेका हौं,’ उनले भने, ‘चार्टर्ड गरेर भएपनि सेवा दिनेछौ।’ बर्तौलाका अनुसार काठमाडौबाट बाहिरीने यात्रुको सहभागिता ९० प्रतिशत भन्दा बढी छ भने भित्रिने संख्या ८० प्रतिशत छ।

श्री एयरलाइन्सले मंगलबार र बुधबार यात्रु माग अनुसारको उडान संख्या थप्ने जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights