☰ open

धनुषा कांग्रेसमा निधि विरुद्ध समीकरण

२०७८ कार्तिक २८, आईतवार १९:२५
मिडियाखबर

जनकपुरधाम ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधि विरुद्ध तीव्र रुपमा समीकरण बदलिएको छ ।

गृह जिल्ला धनुषामा कुनै बेला अत्यन्त प्रभावशाली मानिने निधि अहिले राजनीतिक इतिहासकै सबै भन्दा कमजोर अवस्थामा पुगेका छन् । नेता निधिले आफूसँगका नेताहरुलाई पाखा लगाउन थालेपछि उनी विरुद्ध सशक्त समीकरण निर्माण भएकोछ । वडा समितिको अधिवेशनदेखि नै निधि विरुद्ध नेताहरु एकजुट भएका छन् । कांग्रेसका नेताहरु आनन्दप्रसाद ढुंगाना, समिर घिमिरे, महेन्द्र यादव, रामसरोज यादव, रामकृष्ण यादव लगायतले निधि विरुद्ध मोर्चाबन्दी गरेका छन् । धनुषामा २८ गते वडा समितिको चुनाव तोकिएको छ । प्रदेश २ को ८ जिल्ला मध्ये धनुषा सर्वाधिक चर्चामा छ । रौतहट जिल्ला आन्तरिक समस्याकै कारण चर्चामा छ । धनुषाको पूर्वी भेगमा पहिलो पटक प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव र पूर्व मन्त्री रामकृष्ण यादवले संयुक्त रुपमा कार्यक्रम गरेका छन् । भौतिक पूर्वाधार मन्त्री यादव कुनै बेला निधिका एकतर्फी सहयोगी रहेका थिए । पूर्व मन्त्री महेन्द्र यादव र पूर्व मन्त्री आनन्दप्रसाद ढुंगानापनि निधिका स्वघोषित सहयोगी थिए । दुबै जनाले निधिलाई छाडेसँगै मन्त्री बन्ने अवसर पाए । धनुषा जिल्लामा भएको समीकरणले निधिलाई जिल्ला सभापतिमा समेत पछि हटनु पर्नेछ । ठूलो उथलपुथल नभए पूर्व सभासद समेत रहेका डा.चन्द्रमोहन यादव वडा समितिमा पछारिन सक्छन् । उनी बिगतमापनि महाधिवेशन प्रतिनिधि बन्न सकेका थिएनन् ।केन्द्रीय राजनीतिमा रामचन्द्र पौडेल समूहमा रहेको बताउने यादवलाई महाधिवेशन प्रतिनिधि बनाउन उनका पिता प्रथम राष्ट्रपति डा.रामवरण यादवले निधिसित तालमेल गरेका छन् । २०४६ सालको आन्दोलनपछि सकृय राजनीतिमा रहेका डा.यादवले निधि निकट नेताहरुलाई कहिल्यै महाधिवेशन प्रतिनिधि बन्न दिएनन् । तर उनी छोराका लागि निधिसित पहिलो पटक गठबन्धन बनाएका छन् ।

तर संघीय संसदीय निर्वाचन क्षेत्र नम्बर ४ मा नेता महेन्द्र यादव, समिर घिमिरे, कुमरकान्त झा लगायतको बलियो पकड रहेकाले निधि समूह नराम्ररी पराजय भोग्नु पर्ने जोखिम बढेको छ । धनुषाको निर्वाचन क्षेत्र नम्बर १ र २ मा निधि समूह पहिलेदेखि नै कमजोर रहँदै आएकोछ । नेता निधिको विपक्षमा बनेको धनुषाको समीकरणको प्रभाव प्रदेश २ को सबै जिल्लामा पर्ने निश्चित छ । उनी संसदीय चुनाव लड्ने धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ मा वडा कमिटीमा विरोधको चर्को सामना गर्नुपर्ने छ । महोत्तरी जिल्लाका प्रभावशाली नेता चिरञ्जीवि हमाललाई निधिले आफ्नो घरबाट निकालेपछि जिल्लामा नै त्यसको कडा प्रतिकृया देखिन थालिएकोछ । निधिले हमालको घाउमा मलहम लगाउन उनको बर्दिबासस्थित निवास पुगेपनि उपलब्धि शून्य देखिएकोछ । हालै सरकारका गृहमन्त्री बालकृष्ण खाँणले धनुषा जिल्लाको दुई दिने भ्रमणको क्रममा प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाको पक्षमा अनुकूल वातावरण बनाउन सफल भएका छन् । खाँणको कारण निधि विरोधी खेमामा आत्मविश्वास बढेकोछ । जातिय संकीर्णतामा सिमित भएका निधिले प्रदेश २ को सभापतिका लागि उम्मेदवार समेत दिन सक्ने अवस्था छैन् । ठेकदारहरुलाई विश्वसनीय सहयोगी बनाएका निधिका लागि प्रत्युत्पादक हुन थालेकोछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights