मिडियाखबर
बाथ रोग भएको थाहा पाउन सबभन्दा पहिला यसको लक्षण थाहा पाउन जरुरी हन्छ । बाथमा सामान्यतया जोर्नीको दुखाइ हुन्छ। बिहानपख अरर हुने, आराम गर्दाखेरि बढी दुख्ने हुन्छ। हातका जोर्नीहरू सुन्निने, हातका जोर्नीहरू नीलो हुने अनि रातो सेतो खालको हुने पनि हुन्छ। त्यस्तै शरीरको छाला कसिलो भएर आउने,कपाल धेरै झर्ने, मुखमा घाउ हुने, छालामा दाग आउने खालको अवस्थामा बाथ रोग भएको हुनसक्छ भनेर बुझ्न सकिन्छ।
बाथ रोगको उपचार
बाथ रोगको उपचार यही हो भनेर भन्ने छैन। बाथ रोगका लागि रोग प्रतिरोधात्मक क्षमतालाई सन्तुलन मिलाउने औषधि दिने गरिन्छ। बाथ रोगका औषधि सामान्य रूपमा भन्नुपर्दा २,३ थरीका छन्। एउटा खाने औषधि र अर्को सुईबाट चलाउने औषधि हुन्छ। सामान्यतया बाथको औषधि रोगको प्रकृति अनुसार फरक हुन्छ।
जाडोमा बाथ रोग बढी हुन्छ भन्ने आम बुझाइ छ। जाडोमा हाड जोर्नी र मांसपेसी कक्रक्क पर्ने भएकाले बाथ भएकाहरूलाई अफ्ठ्यारो हुने हो तर जाडोमा बाथ धेरै हुने भन्ने छैन।
जाडोको समयमा जोर्नी कसिलो हुन्छ,छालाहरू कडा हुने हुन्छ। हातका टुप्पाहरू अझै बढी नीलो हुन्छ। त्यही भएकाले न्यानो भएर बस्न जरुरी छ। चिसोले गर्दा बाथ रोग अलि बढेको जस्तो हुन सक्छ तर जाडोकै कारण बाथ रोग लाग्ने भन्ने हुँदैन।
बाथ रोगलाई लापरबाही गरे के हुन्छ?
बाथ रोग भइसकेपछि यसको नियमित औषधि सेवन गर्नुपर्छ। जनमानसमा यसबारे चेतनाको धेरै कमी छ। बाथ रोग भइसकेपछि १०,१५ दिन औषधि खाएर मलाई ठीक भयो भनेर छोडिदिने चलन छ,यस्तो कदापी गर्नु हुँदैन। यसो गर्दा झनै बल्झिँदै जाने खतरा हुन्छ।
अर्को आयुर्वेदिक औषधिका नाममा भ्रम पनि छ। आयुर्वेदिक औषधिको आफ्नै विशेषता छ, म यसलाई सम्मान गर्छु तर जसमा नाम समेत लेखेको हुँदैन त्यस्ता औषधि नियमित प्रयोग गरेर झन् हानी गरेको हुन्छ।
बाथ रोगले जोर्नी र तन्तुलाई मात्रै हानी गर्दैन। यसले दीर्घकालमा फोक्सो किड्नी, मुटु र नसालाई समेत असर गर्छ। यसलाई लापरबाही गर्यो भने धेरै क्षति व्यहोर्नु पर्छ।
सौजन्य : आरोग्य स्वास्थ्य सदन, जाउलाखेल
फेसबुकबाट तपाईको प्रतिक्रिया