☰ open

मेलम्चीको पानी चैतमै वितरण हुने

२०७८ फाल्गुन १६, सोमबार १०:१३
मिडियाखबर

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले  निर्धारित समयमा नै काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण हुने बताएका छन् । उनले मेलम्ची  खानेपानी  आयोजनाको  पुनर्निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी दिए । यसअघि नै सरकारले यसै  वर्षको चैत मसान्तभित्र  मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण गर्ने  प्रतिबद्धता गरिसकेको छ ।

नेपाल खानेपानी संस्थानको ३३औँ वार्षिकोत्सवको अवसरमा संस्थान प्राङ्गण त्रिपुरेश्वरमा आइतबार आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । उनले न्यूनतम महसुलमा सर्वसुलभ किसिमले उपभोक्ताले स्तरीय पानीको उपभोग गर्न पाउने  भन्ने चाहना सरकारको रहेको स्पष्ट पारे  । 

२०४६ फागुन १५ गते नेपाल खानेपानी संस्थानको स्थापना भएको थियो । उनले   संविधानले गुणस्तरीय खानेपानीको पहुँचलाई नागरिकको मौलिक हकका रूपमा  लिएको तथा सरकारले लिएको ‘एक घर एक धारा’ को नीतिलाई सार्थक तुल्याउन नेपाल खानेपानी संस्थानको भूमिका महत्त्वपूर्ण हुने चर्चासमेत गरे ।

संस्थानले आफ्नो सेवालाई मुलुकभर विस्तार गर्नुपर्ने बताउँदै उनले यसका लागि तत्काल सर्वेक्षण (सर्वे) कार्य सुरु गर्न व्यवस्थापनलाई  निर्देशनसमेत दिए ।  सेवा विस्तारका लागि मन्त्रालयले सहयोगका लागि प्रतिबद्ध रहेको स्पष्ट पारे । अहिले  खानेपानी संस्थानले मुलुकको २३ वटा मुख्य सहरमा सेवा प्रदान गर्दै आएको छ ।  

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights