मिडियाखबर
काठमाडौं ।
मुख्य नाका वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०७८र७९ को पहिलो ८ महीनामा इन्धन र सवारीसाधन उल्लेख्य परिमाणमा भित्रिएको छ । प्रमुख औद्योगिक कोरिडोरसँग रहेको यो नाकाबाट औद्योगिक कच्चापदार्थ पनि बढी आयात भएको वीरगञ्ज भन्सारले बताएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको साउनदेखि फागुनसम्ममा भन्सारले उठाएको कुल राजस्वमा पनि पेट्रोलियम पदार्थ र सवारीसाधनको मुख्य योगदान देखिएको छ । भन्सारले राजस्व योगदानको हिसाबले तयार पारेको मुख्य आयातित वस्तुको सूचीको पहिलो र दोस्रो स्थानमा क्रमशस् डिजेल र जीप, कार, भ्यान छन् । वीरगञ्ज भन्सारले यो अवधिमा ८ लाख ५७ हजार किलोलीटर डिजेलबाट ३० अर्ब ३९ करोड रुपैयाँ राजस्व उठाएको छ । विभिन्न ब्राण्डका ४ हजार ९२४ ओटा जीप, कार र भ्यानको आयातबाट १५ अर्ब ५६ करोड रुपैयाँ राजस्व आएको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । यो भन्सारले बितेको ८ महीनामा १ खर्ब ३८ अर्ब रुपैयाँ राजस्व उठाएको छ ।
वीरगञ्ज नाकाबाट २ लाख ६७ हजार किलोलीटर पेट्रोल भित्रिएको छ, जसबाट सरकारले १४ अर्ब ७० करोड रुपैयाँ राजस्व आम्दानी गरेको छ । परिमाणका आधारमा वीरगञ्ज पेट्रोलियम पदार्थ आयात हुन मुख्य नाका हो । पेट्रोलियम पाइपलाइन जोडिएको यो नाकाबाट मुलुकमा हुने कुल खपतको आधाभन्दा बढी परिमाण भित्रिन्छ ।
वीरगञ्जबाट एलपी ग्यास, कोइला, लुब्रिकेन्ट आयल, अलकत्रालगायत १५ प्रकारका पेट्रोलियम उत्पादन आउने गरेको भन्सारले उल्लेख गरेको छ । भन्सारको उठाएको कुल राजस्वमा पेट्रोलियम पदार्थबाट उठ्ने राजस्वको योगदान मात्रै ३९ प्रतिशतभन्दा बढी भएको पौडेलले जानकारी दिए । यो नाकाबाट २० प्रकारका सवारीसाधन आयात भएको देखिन्छ । जीप, कार, भ्यान, मोटरसाइकल, पिकअप गाडी, ट्रक, बस र यसका चेसीस, अनएसेम्बल्ड मोटरसाइकल, डम्फर, विद्युतीय मोटरसाइकललगायत सवारीसाधन आयात भएको भन्सारको सूचीमा उल्लेख छ । वीरगञ्ज भन्सारले उठाउने राजस्वमा यस्ता वस्तुको योगदान २२ प्रतिशत छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया