☰ open

लोसपा सरकारमा सहभागी हुँदै

२०७८ चैत्र १४, सोमबार ०९:१७
मिडियाखबर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा सहभागी हुने भएको छ । सरकारमै सहभागी हुने बिषयमा जनता समाजवादी पार्टी विभाजन भई गठन भएको लोसपा फेरि सरकारमा सहभागी हुन लागेको छ ।

सरकारमा सहभागी हुनकालागि लोसपाको केन्द्रीय कार्यालयमा चैत १६ गतेको लागि बैठक बोलाइएको छ । सो बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा छलफल गरेर निर्णय लिइने कार्यकारिणी समितिका एक सदस्यले जानकारी दिए । तर, केन्द्रीय नेताहरुले भने सरकारमा सहभागी हुने मनस्थिति बनाई सकेका छन् । प्रधानमन्त्री देउवाले लोसपालाई सरकारमा आउनका लागि आग्रह गरेपछि छलफल हुन लागेको हो । देउवाको प्रस्तावपछि लोसपाका केही नेताले स्थानीय तहको चुनावअघि नै सरकारमा सहभागी गराउनुपर्ने बताएका छन् । त्यो प्रस्तावमासमेत प्रधानमन्त्री देउवा सकारात्मक रहेको कारण पार्टीको बैठकबाट नै निर्णय गर्न लागेको ती नेताको भनाइ छ । पार्टीबाट निर्णय भएपछि कतिवटा मन्त्रालय लिने, कुन कुन मन्त्रालय लिने लगायतको विषयमा प्रधानमन्त्री देउवासँग छलफल गर्ने बताइएको छ । अहिलेको रक्षा मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रिक्त छ । यी दुइटै मन्त्रालय लोसपालाई दिने लगभग निश्चित नै छ । तर लोसपा आएको खण्डमा मन्त्रिमण्डल पुनर्गठन गरेर जिम्मेवारी हेरफेर हुनसक्ने बताइएको छ । लोसपाको बैठकमा स्थानीय चुनावका सम्बन्धमा पार्टीको रणनीतिको विषयमा पनि छलफल हुने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights