☰ open

नागढुंगा सुरुङमार्ग स्थानीयको अवरोध, निर्माण कार्य अनिश्चित

२०७९ बैशाख ४, आईतवार ०९:२४
मिडियाखबर

काठमाडौं ०४ बैशाख २०७९।

कोभिड–१९ को तेस्रो लहर र साइट नै भत्किँदासमेत अवरूद्ध नभएको नागढुंगा सुरूङमार्ग निर्माण ५ दिनदेखि ठप्प भएको छ । सुरूङमार्गमाथि पर्ने जग्गाको मुआब्जा, सडक कालोपत्र तथा फुटबल रंगशाला बनाइदिनुपर्ने जस्ता अनौठा माग गर्दै काठमाडौंतर्फका स्थानीय विरोधमा उत्रिएपछि आयोजना निर्माण नै अनिश्चित भएको हो । स्थानीयले आयोजना कार्यालयमा तोडफोड समेत गरेका थिए ।

चैत २८ गते ती माग पूरा नगरेको भन्दै सुरूङमार्गको पूर्वतर्फ काठमाडौंस्थित टोटीपाखाका स्थानीयले विरोध गरेका थिए । चन्द्रागिरि नगरपालिका, वडा नम्बर २ का स्थानीयले विरोधसँगै आयोजनाको कार्यालयमै आक्रमण गरेपछि जापानी निर्माण कम्पनी हाज्मारआन्दो कर्पोरेशनले काम रोकेको हो । उक्त कम्पनीले दोषीउपर कारवाहीको माग गर्दै सुरक्षाको प्रत्याभूति नहुँदासम्म काम रोक्ने जानकारी दिएको आयोजना प्रमुख नरेशमान शाक्यले बताए ।

अहिले निर्माणको काम रोकिएको र निर्माण नै अनिश्चित भएको उनले बताए । आइतवार (आज) जिल्ला प्रशासन कार्यालयले आयोजना र स्थानीयलाई छलफलमा बोलाएको छ । त्यहाँ सहमति भएमात्रै निर्माण अघि बढाउन सकिने, नत्र अनिश्चित हुने शाक्यले बताए । आक्रमण तथा विरोधले कम्पनी नै रूष्ट भएको उनको भनाइ छ । ‘हाम्रो सुरक्षा नभएसम्म काम गर्दैनौं,’ कम्पनीका अधिकारीलाई उद्धृत गर्दै शाक्यले थपे, ‘दोषीउपर कारबाहीको माग गरेका छन् ।’

नेपाली र जापानी गरी ५०० भन्दा बढी कामदारले सुरूङमार्गमा काम गर्दै आएका थिए । काम रोकिँदा २८ गतेदेखि नै दैनिक १ करोड ५० लाख रुपैयाँ जापानी कम्पनीले दाबी गर्ने अवस्था आएको उनले बताए । जापानी ऋण सहयोगमा बन्दै गरेको उक्त आयोजनामा अवरोध हुँदा नेपालले दैनिक उक्त रकम तिर्नुपर्ने हुन्छ । ‘१० ट्यांकर पानीका लागि अहिले राज्यमाथि दैनिक १ करोड ५० लाख रुपैयाँ दायित्व सृजना भएको छ,’ उनले भने, ‘कम्पनीले दाबी गर्ने रकम शनिवारसम्म ७ करोड ५० लाख रुपैयाँ पुगेको छ । निर्माण कम्पनीले दाबी गरे उक्त रकम नेपालले तिर्नुपर्छ ।’ कोरोनाका कारण काममा केही ढिलासुस्ती भए पनि पछिल्लो समय कम्पनीले नियमित रूपमा दैनिक औसत १० मीटर सुरूङ खन्दै आएको थियो ।आर्थिक अभियान दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights