☰ open

धनुषामा मुख्य दलका जिल्ला अध्यक्षहरु नै पराजित

२०७९ जेष्ठ ९, सोमबार ०८:४९
मिडियाखबर

स्थानीय तहको निर्वाचनमा धनुषा जिल्लाका मुख्य दलका नेता तथा जिल्ला अध्यक्षहरु नै पराजित भएका छन् ।

पराजित हुनेमा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा),र नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष छन् । निर्वाचनमा नेपाली कांग्रेसका धनुषा जिल्ला सभापति योगेन्द्र पजियार क्षीरेश्वरनाथ नगरपालिकाको मेयरमा पराजित भएका छन् । उनलाई नेकपा एमालेका उम्मेदबार सुखदेव यादवले पराजित गरेका छन् । यादवले सात हजार ९ सय १३ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी पजियार सात हजार ३ सय मत ल्याएका छन् । पजियार निबर्तमान मेयर पनि रहेका छन् ।

त्यस्तै सबैला नगरपालिकाको मेयरका उम्मेदवार नेकपा एमालेका जिल्ला अध्यक्ष राजकिशोर यादवले तीन हजार ५ सय ८१ मतसहित तेस्रो नम्बरमा रहेका छन् ।सो नगरपालिकामा नेकपा माओवादी केन्द्रका कारीराम यादव चार हजार २सय १२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका जगतसुन्दर साह चार हजार ७६ मत ल्याएर दोस्रो स्थानमा रहेका छन् ।

यता जनता समाजवादी पार्टी (जसपा)नेपालका जिल्ला अध्यक्ष पशुपति यादव कमला नगरपालिकामा पराजित भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार विशेश्वर यादवसँग एक हजार २८ मत अन्तरले पराजित भएका छन् । विजयी भएका विशेश्वरले तीन हजार ८ सय ८७ मत प्राप्त गरे भने पशुपतिले २ हजार ८ सय ५९ मत ल्याएका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष देवेन्द्रकुमार यादव धनुषाधाम नगरपालिकाको मेयरमा पराजित भएका छन् । उनी तेस्रो नम्बरमा रहेका छन् । धनुषाधाममा कांग्रेसबाट बालेश्‍वर मण्‍डल पुनःदोस्रो पटक चार हजार ७ सय १८ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका योगकुमार यादवले चार हजार १ सय ७९ मत प्राप्त गरेका छन् भने यादवले तीन हजार २ सय ५९ मत ल्याएर तेस्रो स्थानमा रहका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: