मिडियाखबर
नन्दलाल खरेल –
जर्मनीका दर्शनिक कार्ल मार्क्सले संसारका गरिब, अपहेलित, परिश्रमी, मजदुर काम गरेर खाने व्यक्तिलाई न्याय दिने खालको एउटा विचार ल्याए । त्यसलाई मार्क्सवाद भनियो । मार्क्सवादले समाजमा भएका कुनै पनि शोषण, दमन, विभेद र कुरीतिलाई पूर्ण रुपमा उन्मुलन गरी शोषण रहित समानताको समाज निर्माण गर्न चाहान्छ । अर्को शब्दमा मार्क्सवादलाई यसरी बुझ्न सकिन्छ। यो गरिब, किसान, मजुदर, असहाय, निमुखा वर्गका मान्छेकै नेतृत्वमा राज्य हुनुपर्छ भन्ने राजनीतिक दर्शन हो । यद्यपी संसारका धेरै देशहरुमा गरिबका लागि धनीवर्गहरुले नै नेतृत्व गरिरहेका छन् केहि अपवाद बाहेक । जसको कारण मार्क्सावदको सुन्दर फूल राम्रो सँग फक्रन सकेन । आज विश्वमै माक्सवादी दर्शन रक्षात्मक अवस्थामा छ । मार्क्सवादी राजनीतिक सिद्धान्तले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपबाट असमानताको भूमरिमा पिल्सिएको मानव समाजलाई समानताको उच्च आदर्शमय समाजमा परिणत गर्न चाहान्छ । यो दर्शनले शान्ति सुरक्षा, समृद्धि र सर्वोकृष्ट मानव समाजको सिर्जना गर्न चाहान्छ । त्यसकारण मार्क्सवादी राजनीतिक सिद्धान्त उत्कृष्ट छ, सहि छ, सत्य पनि छ । त्यतिमात्र होइन यो राजनीतिक दर्शन आधुनिक र वैज्ञानिक पनि छ । तर विडम्वना, आज विश्वभर अधिकंश मुलुकहरुमा पुँजीवादी राजनीतिक व्यवस्थाभित्रको लोकतन्त्र स्थापना भएको छ । संसारमै १० प्रतिशत काम नगरी खाने मानिसहरु ९० प्रतिशत काम गरेर खाने वर्ग माथि शासन गरिरहेको छन् । अचम्म के छ भने यिनै १० प्रतिशत व्यक्तिको कब्जामा ९० प्रतिशत सम्पत्ति छ । ९० प्रतिशत व्यक्तिको स्वामित्वमा भने मुस्किलले १० प्रतिशत मात्र छ । प्रकृतिले विश्वका मानव जातिका लागि जल, जंगल, जमिन पूर्ण रुपमा निशुल्क उपहार दिएको थियो । तर आज निश्चित मानिसले आफ्नो कब्जामा लिई त्यसको भरपुर उपयोग गरेका छन् । आज राष्ट्र राष्ट्रबिच मात्र होइन एउटै देशका नागरिक बिच पनि असमानताको खाडल चरम उत्कर्षमा छ ।
मार्क्सवादी राजनीतिक सिद्धान्त मुख्यतः १) वर्गसंघर्षको सिद्धान्त २) सर्वहारा वर्गको नेतृत्व ३) सर्वहारा वर्गको अधिनायकत्व ४) सर्वहारा अन्तराष्ट्रियतावाद हुन् । मार्क्सवादी लेनिनवादी सिद्धान्तलाई कम्युनिष्ट पार्टी र त्यस्तो सरकार (नयाँ जनवादी र समाजवादी) ले अनिवार्य रुपमा लागु गर्नु पर्दछ । त्यसो नगरी त्यसको अपहेलना गरेमा त्यस्तो सामाजिक व्यवस्था टिकाउ हुन र प्रगतिमा अघि बढ्न सक्दैन भन्ने कुरा इतिहासले पुष्टि गरेको छ ।
आदिम साम्यवादी समाज पार गरेपछि मानव समाजले वर्गीय रुप धारण गरेको छ । दास युगमा दास र मालिक वर्ग थियो । दास वर्ग मालिक वर्गका उत्पादनका ज्युँदा औजार थिए । दाशहरुलाई मालिकले खरिद विक्री गर्न, काट्न, मार्न पनि सक्दथ्यो । बढी उत्पादन गर्न उनीहरुलाई क्रुर व्यवहार गरिन्थ्यो र खान बाँच्नको लागि मात्र काम दिइन्थ्यो । उनीहरुलाई बाधेर खोरमा राखिन्थ्यो । उत्पादित वस्तु सबै मालिक वर्गको सम्पत्ति हुन्थ्यो । मालिक वर्गको त्रुर दमन चक्र र अत्याचारका विरुद्ध दास वर्ग संगठित रुपले संघर्षमा उत्र्याे । दास वर्गको नेता स्पार्टटाक्सको नेतृत्वमा संचालित संघर्षले विजय हासिल गर्ने संकेत देखियो ।
मालिक वर्गले संघर्षलाई सम्झौतामा टुङ्ग्याउने निर्णय गर्यो । दासहरुलाई मुक्त गर्यो । उत्पादन कम हुने, थोरै खेत र कम मात्रामा पशुधन पनि दिइयो । उनीहरुलाई त्यतिले जीवन निर्वाह हुन सक्दैनथ्यो र मालिक कै घरमा कम मजदुरी लिएर काम गर्न बाध्य हुन पर्यो । उनीहरुकै घरमा हली, गोठाला बस्नु पर्ने भयो ।
दास युग अब सामन्ती युगमा परिणत भयो । सामन्ती व्यवस्थामा राजा, पुलिस, सेना, कानून, जेल र मुद्रा प्रचलनमा आयो । जमीन सबै जमिनदारको हातमा हुन्थ्यो र किसान भूदास थिए, उनीहरुको हातमा जमीन थिएन वा ज्यादै कम हुन्थ्यो । जमिनदारले कारिन्दा राखेर किसानहरुलाई बढी काम गराउथ्यो । तर उत्पादन जति सबै जमिन्दारको हुन्थ्यो । कम मात्रामा अन्न दिइन्थ्यो । त्यसैमा गुजारा गरी बाँच्न बाध्य थिए । ती किसानहरु जमिनदार र राजाका रैति तथा दास जस्तै थिए । उनीहरुमा स्वतन्त्रता थिएन । कम मात्रामा जमिन हुने किसानहरुलाई पनि चर्को असुली गरिन्थ्यो, विभिन्न कानून लगाएर दण्ड जरिवाना र जेल सजाय समेत तिनै भूदासहरुलाई गरिन्थ्यो । किसान वर्गलाई जमिन्दार वर्ग, तिनीहरुका गुण्डाहरु र पुलिस प्रशासनको ठूलो अत्याचार र दमन थियो । त्यस्तो अत्याचार सहेर बाँच्न बाध्य थिए ति किसानहरु ।
कृषि औजारहरुमा केहि सुधार आयो तर उत्पादनमा वृद्धि हुनुको सट्टा झनै ह्रास भयो । किनभने सामन्त वर्गबाट किसानमाथि हुने सामन्ती शोषण र दमनबाट कृषकहरुको एउटा ठुलो हिस्सा ज्यादै क्रुद्ध भएको थियो । सामन्ती उत्पादन सम्बन्ध र उत्पादन शक्ति बिच निकै ठूलो अन्तर विरोध सिर्जना हुन गएको थियो । किसानहरुबाट निकै ठूला ठूला विद्रोहहरु भए र केहि सामान्तहरु सुधार भए । त्यसपछि कृषि उत्पादनमा पनि सामान्य सुधार भएको थियो । सामन्तवादको गर्भबाट अनिवार्य रुपमा पुँजीवादको उदय हुनु स्वाभाविक प्रकृया हो । तत्कालमा पुँजीवादले सामान्य दस्तकारी, कालिगढी, कृषि औजारहरुको निर्माण र व्यापार गर्ने काम सुरु गर्यो । पछि ती दस्तकारी व्यवसायीहरु एकिकृत रुपमा विकास गरी वृहत्तर रुपमा संचालन गर्न थाल्यो । धन सञ्चय गर्न सुरु गर्यो ।
ठूला ठूला हातेकारखानाहरु तयार गर्यो । मजदुर वर्गको पनि व्यापक वृद्धि भयो र पूँजीवादको विकासको गति पनि अघि बढ्दै गयो । सामन्त वर्ग किसान वर्गको विरोधी त थियो नै पूँजीपति वर्गको पनि विरोधी हुन गयो । किनभने पुँजीवादी विकासको पनि बाधक बन्यो सामन्त वर्ग । पूँजीवादी वर्गले आफ्नो प्रभाव विस्तार गर्न प्रजातन्त्र, समानता, भातृत्व र प्रेमको नारा व्यापक रुपमा प्रचार गर्यो र सामन्तवादको विरुद्ध धज्जी उडाएर भर्त्सना गर्यो । मजदुर वर्ग, किसान वर्ग र पूँजीपति वर्ग मिलेर सामन्तवादका विरुद्ध सशक्त संघर्ष गर्यो । सामान्त वर्गले त्यसको प्रतिरोध गर्यो तर पुँजीवादी आन्दोलन अरु संगठित र सशक्त रुपबाट अघि बढ्यो । पूँजीवादी आन्दोलन सफलताको चरणमा पुग्यो । अन्ततः सर्ब प्रथम बेलायतमा राजा चार्ल्स प्रथमलाई मृत्युदण्ड दिएर पूँजीवादी शासन व्यवस्था स्थापना गरियो । त्यसपछि सामन्तवाद विरोधी पुँजीवादी प्रजातान्त्रिक आन्दोलन विश्वव्यापी रुपमा तेज गतिले फैलियो । राजाहरुलाई जेल हाली कारवाही गर्ने, काट्ने, मृत्युदण्ड दिने र पूँजीवादी प्रजातान्त्रिक राज्यव्यवस्था स्थापना गर्ने काम एउटा प्रचलनकै रुपमा अघि बढ्यो ।
विश्वव्यापी रुपमा सामन्ती राज्यसत्ताको स्थान पूँजीवादी राज्यसत्ताले लियो र पूँजीवादको द्रुर्ततर विकास भयो । इङगल्याण्डको औद्योगिक क्रान्तिका सफलताको लहर तिब्र गतिले विश्वव्यापी रुपमा फैलियो र पूँजीवादको भारी विकास भयो वैज्ञानिक अनुसन्धानहरु भए विज्ञान र टेक्नोलोजीको विकास द्रुत गतिमा अघि बढ्यो । ठूला ठूला आधुनिक मेसीन र कारखानाहरु बने औद्योगिक विकासको गति तिब्र रुपमा अघि बढ्यो । कारखाना र खानीहरुमा मजदुर वर्गको निकै ठुलो संख्या उत्पादमा सरीक भयो ।
पुँजीपतिहरुलाई प्रयाप्त मात्रामा कच्चा पदार्थको आवश्यकता पर्यो र जस्तो सुकै परिस्थितिमा पनि धन दौलत बटुल्ने दाउमा उनीहरु लागे आफ्नो देशमा मात्र नभई विश्वलाई भागबण्डा गरे आ–आफ्नो प्रभाव क्षेत्र कायम गरे । अविकसित मुलुकहरु र विकासशील मुलुकहरुका किसान मजदुर वर्गहरु माथि शोषण, दमन र अत्याचार गरे । पहिला उनीहरुले लगाएको नारा प्रजातन्त्र, समानता, भातृत्व र प्रेमका ती ढुङ्गी नाराहरु सबै भुले । मजदुर आन्दोलनहरुलाई बलजफत दमन गरे र केवल मजदुर किसान वर्ग माथि शोषण र ब्रहम लुट गरे ।
कार्लमाक्सले मजदुर वर्ग माथि भएको शोषणको रहस्य राम्रो संग पत्ता लगाउनु भयो र मजदुर वर्गको छुटै प्रतिनिधि हुनपर्ने आवश्यकताको महसुस गर्नुभयो र कम्युनिष्ट लिग स्थापना गर्नुभयो । कम्युनिष्ट लिगको निर्णय अनुसार १८५८ मा मार्क्स ऐंगेल्सले कम्युनिष्ट घोषणापत्र जारी गरी ‘विश्वका मजदुरहरु एक होऊ’ भन्दै जित्नको लागि तिम्रो सारा संसार छ हार्नको लागि हतकडी सिवाय अरु केहि छैन भन्ने नारा अघि सार्नु भयो । उहाँले मार्क्सवादको स्थापना गर्नुका साथै पूँजीवादको विरुद्ध अनवरत संघर्ष र संगठनको विकासमा खट्नु भयो । पेरिस कम्युन उहाँको जीवनकालमा सम्पन्न भएको थियो ।
रुसमा महान लेलिनले सर्वहारा वर्गको नेतृत्वमा १९१७ को अक्टुवर समाजवादी क्रान्ति सम्पन्न गर्नुभयो । सोभियत समाजावदी व्यवस्था स्थापना गरी सर्बहारा अधिनायकत्व कायम गरी समाजवादी विकासको गतिलाई तिब्र गतिमा अघि बढाउनु भयो । जसको प्रभावले विश्वव्यापी रुपमा मुक्ति आन्दोलनहरु सशत्त रुपमा अघि बढ्यो । उपनिवेशवादीहरुको हार भयो र उनीहरु सागुँरो घेरामा आ–आफ्नो देश भित्र सिमित रुपमा रहन बाध्य हुनु पर्यो भने अर्कोतिर एक पछि अर्को मुलुकमा कम्युनिष्ट व्यवस्था स्थापना हुँदै विश्वको ६ खण्डको एक खण्ड भूभागमा समाजवादी व्यवस्था स्थापना हुन गएको थियो । लेनिन र स्टालिनको देहवसान पछि सोभियत संघको नेतृत्व निकिता ख्रुसचोवको हातमा पर्यो । उसले मार्क्सवाद लेनिनवाद विरोधी शान्तिपूर्ण संक्रमणको बाटो अवलम्बन गर्यो । सर्वहारा वर्गको नेतृत्व र सर्वहारा अधिनायकत्व सिद्धान्त परित्याग गर्यो । पार्टी कमिटि पद्धति भंग गर्यो र साम्राज्यवाद अमेरिका सँग साँठगाँठ गर्यो । पछि त्यहाँका संशोधनवादीहरुले सोभियत संघको पतन गराउने षडयन्त्र गरीनै रहे । त्यहाँका कम्युनिष्टहरुले सोभियत समाजवादी व्यवस्था बचाउने अन्तिम प्रयास सम्म गरे तर सफल हुन सकेनन् । अन्तमा गोर्वाचोवको पालामा त्यसको अवसान भयो ।
सोभियत संघको अवसान पछि पूर्वीयुरोप र अन्य देशका कम्युनिष्ट व्यवस्थाहरु पनि ढल्दै गए । केहि बचेका कम्युनिष्ट मुलुकहरु पनि संक्रात्मक अवस्थाबाट अघि बढी रहेका छन् । साम्राज्यवाद एक धुर्वीय विश्वको हवाई कल्पनाबाट निकै आक्रमक रुपमा अघि बढि रहेको भएता पनि त्यो सम्भव छैन । किनभने एक त साम्राज्यवाद आफै संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ । अर्कोतिर एक ध्रुवीय विश्वका विरोधी राष्ट्रहरु पनि उक्तिकै शक्तिशाली र सशक्त रुपमा अगाडि बढीरहेका छन् । त्यसकारण त्यसले सफलता प्राप्त गर्न सक्ने अवस्था छैन । आज विश्वका मजदुर किसान वर्ग शोषित पीडित तथा उत्पीडित जाति तथा वर्गहरु एकजुट भई कुनै न कुनै रुपबाट आ आफ्नो देशका प्रतिकृयावादी शक्तिहरु र साम्राज्यवादी उत्पीडनबाट मुक्त हुन अनवरत रुपमा संघर्षमा जुटी रहेका छन् । आज पनि विश्वका हरेक मुलुकहरुमा वर्गहरु र वर्ग संघर्षमा जुटी रहेका छन् । आज पनि विश्वका हरेक मुलुकहरुमा वर्गहरु र वर्ग संघर्ष सशक्त र चर्को रुपमा अघि बढी रहेको छ । मार्क्सवाद लेनिनवाद सत्य छ । साम्राज्यवाद जतिसुकै आक्रमक देखिएता पनि अन्तत : यसको पतन अवस्यमभावी छ ।
प्रजातन्त्रको स्थापनाको निम्ति नेपाली जनताले लामो समयदेखि अनवरत रुपमा गर्दै आएको वलिदानी संघर्ष र २०६२/०६३ को १९ दिने संयुक्त जन आन्दोलनबाट लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । यो पश्चिमा शैलीको पूँजीवादी गणतन्त्र हो । यस्तो गणतन्त्रबाट नेपाली जनता खासगरी किसान मजदुर वर्ग शोषित पीडित तथा उत्पीडित जाति र वर्गहरुले मुक्ति प्राप्त गर्न सक्दैनन् भन्ने कुरा भारत लगायत एसियाई मुलुकहरु र पश्चिमा पूँजीवादी मुलुकहरुबाट स्पष्ट भएको छ । त्यहाँका जनताहरु सामन्ती तथा पुँजीवादी वर्गको शोषण दमनबाट आक्रान्त छन् । कसरी मुक्ति प्राप्त गर्न सकिन्छ भन्ने विषयको खोजीमा निरन्तर रुपले लागि रहेका छन् । र मुक्ति प्राप्त नगर्दा सम्म पछि हट्ने अवस्थामा छैनन् ।
अन्त्यमा आफू काम नगरी अरुलाई काम लगाएर खाने थोरै संख्याका व्यक्ति काम गरेर खाने बहुसंख्यक जनतालाई जाती, धर्म, संस्कृति आदिका नाममा आपसमा जुधाउन सफल भएका छन् । श्रम गर्ने मानिसहरु मिल्न सके अरुलाई श्रम गराएर फाइदा लिने मानिसहरु टिक्न सक्दैनन् । बल्ल श्रम गर्नेहरुको सुदिन फिर्छ । द्धन्दात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, अतिरिक्त नाफाको सिद्धान्त जस्ता मार्क्सवादी परिभाषिक शब्दावली सबैले भन्ने कुरा यहि हो । मार्क्सवादलाई संसारका कम्युनिष्टपार्टीहरुले आफ्नो मूल दर्शन मानेका छन् । तर हाम्रो देशको सन्दर्भमा भन्ने हो भने यहाँ प्रायः कम्युनिष्ट पार्टीहरु आफैमा मार्क्सवाद विरोधी छन् । पटक पटक सत्तामा गइरहने कम्युनिष्ट पार्टीहरु सँग भने पटक्कै कुनै कम्युनिष्ट चरित्र छैन । सानो झिल्को सम्म देख्न पाइएको छैन । सैद्धान्तिक हिसाबबाट हेर्ने हो भने कम्युनिष्टहरुले संसदीय अभ्यासबाट शासन सत्ता चलाउने कुरा विल्कुलै गलत हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया