media khavar
इन्धनमा पछिल्लो पटक गरिएको भारी मूल्य वृद्धिका कारण निर्माण सामग्रीको समेत भाउ बढेर निर्माण उद्योग नै ठप्प हुन लागेकामा दुःख व्यक्त गरिएको छ । देशको समग्र अर्थतन्त्रका सूचक नकारात्मक रहेको विषम अवस्थामा आइतबार पेट्रोलमा एकै पटक प्रतिलिटर रु २१ र डिजेल तथा मट्टितेलमा रु २७ को वृद्धिले रुग्ण अवस्थामा रहेको निर्माण उद्योग थप आक्रान्त भएको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ ।
विगत केही महिनाको आँकडा हेर्ने हो भने इन्धनमा शतप्रतिशत मूल्य वृद्धि भएका कारण मुलुकभर सञ्चालित राष्ट्रिय गौरवका आयोजना एवं अति जरुरीका निर्माण परियोजना पनि बन्द हुने स्थिति उत्पन्न भएको महासङ्घका महासचिव रोशन दाहालले बताए ।
निरन्तर मूल्यवृद्धि भइरहे पनि सरकारले निर्माण व्यवसायीलाई कुनै राहत दिन नसकेबाट समग्र निर्माण उद्योगको विकासप्रति नै सरकारको उदासीनता पुष्टि भएको उनले गुनासो गरे । अप्रत्याशितरूपमा निरन्तर भइरहेको मूल्य वृद्धिका कारण घर, जमिन तथा अन्य जायजेथा धितोमा राखेर निर्माण व्यवसायमा संलग्न देशभरका हजारौँ निर्माण व्यवसायी, तिनका परिवार र तिनमा आश्रित लाखौँ श्रमिकको बिचल्ली हुने निश्चित भएको महासचिव दाहालले दुःख प्रकट गरे ।
“यसअघिकै मूल्य वृद्धिका कारण निर्माण उद्योगमा देखिएको विकराल समस्या समाधानका लागि सार्वजनिक खरिद ऐन तथा नियमावलीबमोजिम मूल्य समायोजन निर्देशिका जारी गर्ने विषयमा महासङ्घ र सरोकार भएका निकायबीच वार्ता भइरहेको समयमा हठात भएको अप्रत्याशित एवं अत्यधिक मूल्य वृद्धिले महासङ्घ स्तव्ध भएको छ”, महासचिव दाहालले भने ।
पेट्रोलियम पदार्थमा लिइने कर कटौती नगरी तथा चुहावटको समस्या समाधान नगरेर केवल अन्तर्राष्ट्रिय मूल्यलाई देखाउँदै एकोहोरोरूपमा निर्माण व्यवसायीसहित तमाम उपभोक्ताको ढाड सेकिने गरी भइरहेको मूल्य वृद्धिले देशको समग्र विकासमा अत्यन्त नकारात्मक असर पर्ने महासङ्घको ठहर छ । मुलुकमा व्याप्त अराजकताले निर्माण गतिविधि प्रभावित भएको र राज्य संयन्त्रमा भ्रष्टाचार व्याप्त रहेकाले मुलुकले सुशासन महसुस गर्न नपाएको महासङ्घले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया