media khavar
काठमाडौँ उपत्यकामा खानेपानीको समस्या समाधानका लागि वैकल्पिकरूपमा मकवानपुरस्थित सिस्नेरी खोलाको पानी आपूर्ति गर्ने आयोजनाको पूर्व सम्भाव्यता अध्ययन गरिएको छ ।
काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले सम्भाव्यता अध्ययन गरी दैनिक १५ करोड लिटर पानी लिफ्टिङ गरी राजधानीमा ल्याउन सकिने प्रारम्भिक प्रतिवेदन तयार गगरेको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले सो स्थलको मंगलबार स्थलगत अध्ययन समेत गरेका छन् । स्थलगत अध्ययनपछि मन्त्री चौधरीले पाइपलाइन बिच्छ्याएपछि दैनिक छ करोड लिटर पानी राजधानी लैजान सकिने बताए ।
मेलम्चीको विकल्पका रूपमा यो आयोजनालाई अघि बढाउन लागिएको उनले जानकारी दिएका छन् । यो आयोजनाको खर्च मेलम्चीको भन्दा कम लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । राजधानीमा याङ्री र लार्केको पानी आउनुअघि नै सिस्नेरीबाट पानी ल्याउने गरी विस्तृत परियोजना प्रस्ताव तयारी एवं वातावरणीय प्रभाव मूल्याङ्कनको काम अघि बढाउन लागिएको छ ।
यो आयोजना सम्पन्न गर्न रु २६ अर्ब लाग्ने सम्भाव्यता अध्ययनले देखाएको छ । विस्तृत परियोजना प्रस्ताव तयारी र वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकी आर्थिक वर्ष २०८०÷०८१ देखि नै काम सुरु गर्ने लक्ष्य मन्त्रालय लिएको पनि मन्त्री चौधरीले बताएका छन् । विसं २०७२ को संविधानले मौलिक हकमै खानेपानीलाई राखेपछि यसको पूर्तिका लागि पहिलो प्राथमिकता दिएर काम अघि बढाउन लागिएको हो ।
मेलम्चीको पानी बन्द भएका बेला पनि आपूर्ति नरोक्न वैकल्पिकरूपमा अन्य मुहान र स्रोतको पनि बोर्डले अध्ययन गरिरहेको छ । काठमाडौँ उपत्यकाका १८ वटै नगरपालिकाका मुहान संरक्षण गरी पानी सङ्कलन गर्न लागिएको बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया