☰ open

जितपुरसिमराका प्रशासकीय अधिकृत सेढाईविरुद्ध एक करोडको भ्रष्टाचार मुद्दा दायर

२०७९ असार १०, शुक्रबार १६:४०
media khavar

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाका प्रशासकीय अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका अनुसार जितपुरसिमराका तत्कालीन प्रशासकीय अधिकृत शिवराज सेढाईविरुद्ध एक करोड ६६ लाख रुपियाँको भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

सेढाईले न्यू पाथिभरा सप्लायर्स, हेटौडासँगको सम्झौताका शर्त पूरा नहुँदासमेत उपमहानगरका कर्मचारीको संलग्नतामा बालगङ्गा खोलाको गिट्टी, बालुवा उत्खनन एवम् बिक्री वितरण कार्य गर्न दिएको आरोप लागेको लागेको थियो ।

आर्थिक वर्ष २०७६÷७७ मा ठेकेदारको तर्फबाट कबोल बमोजिम अभिवृद्धि कर रकम ४६ लाख ४४ हजार ५१० रुपियाँ दाखिला गरेको नदेखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, उपमहानगर वडा नम्बर १६ मा अवस्थित पसाहा खोलाको गिट्टी, बालुवा उत्खननका लागि ओम सप्लायर्सलाई ठेक्का दिएर गैरकानुनी कार्य गरेको आरोप सेढाईमाथि लागेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताएका छन् ।

सोही आर्थिक वर्षमा सम्झौता अनुरुपको बाँकी दुई किस्ताको रकम ९९ लाख ९९ हजार ९९९ रुपियाँ हालसम्म दाखिला हुन नसक्दा उपमहानगरको राजस्व चुहावट भएको देखिएको आयोगको ठहर छ ।

सम्झौता रकमको मूल्य अभिवृद्धि कर ३८ लाख ९९ हजार ९९९ रकमसहित सो खोलामा एक करोड ३८ लाख ९९ हजार ९९८ रुपियाँ पसाह खोला सम्झौतामा भ्रष्टाचार भएको आयोगले जनाएको छ ।

आरोपित सेढाईविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (४) बमोजिम विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको प्रवक्ता भण्डारीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights