☰ open

पहिरोले मध्यपहाडी लोकमार्ग र बागलुङ–म्याग्दी सडक अवरुद्ध

४ वर्ष

निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको गलकोटबाठ बुर्तिबाङ खण्ड र बागलुङबाट म्याग्दी जाने सडक पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको हो ।

लोकमार्गअन्तर्गत गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकाको तुरतुरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । तुरतुरेमा बर्सेनि पहिरो खस्ने गरेको छ । वर्षात्ले गलकोट नगरपालिका–१ दुदिलाभाटी र २ नरेठाँटी क्षेत्रमा समेत सडक क्षतविक्षत बनाएको छ ।

यस्तै बागलुङबाट म्याग्दी जिल्ला जोड्ने मुख्य सडकसमेत पहिराले अवरुद्ध बनाएको छ । बागलुङ नगरपालिका वडा नम्बर ४ र म्याग्दीको बेनी नगरपालिका वडा नम्बर १ को सिमानास्थित डम्मरेखोला नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको छ । निरन्तर पानी परिरहेकाले सडक खुलाउन समस्या भएको छ ।

पृथ्वीराजमार्गको आँबुखैरेनी–मुग्लिन खण्ड अवरुद्ध

दमौली– मङ्गलबार रातिदेखि परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा पहिरो जाँदा आज बिहानदेखि उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

पहिरोले उक्त सडकखण्ड दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिएका छन् । पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको खड्काले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया