☰ open

पासपोर्ट बनाउन काठमाडौं नआउन अनुरोध, १५ दिन भित्र जिल्लामै राहदानी प्राप्त गर्ने सुनिश्चितता

२०७९ असार १९, आईतवार १४:४०
media khavar

राहदानी विभागले अत्यावश्यकबाहेकका अवस्थामा पासपोर्ट बनाउन काठमाडौं नआउन अनुरोध गरेको छ । एक सूचना जारी गर्दै विभागले जिल्ला प्रशासन कार्यालयहरुबाट आवेदन भएका राहदानीहरु प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेको बताएको छ ।

‘काठमाडौं उपत्यकाभित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरुले १ हप्ता भित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिन भित्र राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाइएको छ,’ विभागले सूचनामा भनेको छ, ।  राहदानी विभागमा आवेदन गर्नुहुन र अन्य कम जरुरी हुनेले आफ्नो सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै सहज रुपमा राहदानी प्राप्त गर्न सकिने हुँदा सो सेवा लिनु हुन सेवाग्राहीमा अनुरोध गरेको छ ।

विभाग राहदानी लिने सेवाग्राहीहरुको संख्या विगत ३ महिनादेखि उल्लेख्य रुपमा बढिरहेको छ । धेरै सेवाग्राहीलाई सेवा दिन क्षमता बढाउने, सबै जिल्ला प्रशासन कार्यालयहरु र १७ वटा इलाका प्रशासन कार्यालयहरुबाट समेत नियमित रुपमा राहदानी आवेदन गर्ने व्यवस्था मिलाएको विभागले जानकारी दिएको छ ।

‘विभागले विद्युतीय राहदानी प्रणालीमा समयसापेक्ष अद्यावद्यिक गर्नुका साथै अनलाइन प्रणालीको निरन्तर सुधार गरिरहेको छ । साथै, विभागले सार्वजनिक बिदाको दिनमा समेत सेवाग्राहीहरुलाई सेवा दिएको छ,’ सूचनामा भनिएको छ । राहदानी विभागले प्रत्येक दिन बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सेवा दिइरहेको बताएको छ ।

राहदानी तयार भएपछि लिन आउनेको संख्या र अन्य इमर्जेन्सी कार्यको लागि गरी दैनिक ५ हजार भन्दा बढी सेवाग्राहीहरुलाई सेवा दिइरहेको विभागको दावी छ । विभागले हाल दैनिकरुपमा ६ हजार ५०० राहदानी उत्पादन गरी वितरणको व्यवस्था मिलाएको जानकारी पनि दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights