☰ open

अर्थमन्त्री शर्मामाथि छानबिन संसदीय समितिको दोस्रो बैठक आज बस्दै

२०७९ असार २९, बुधबार १०:०१
media khavar

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन भएको संसदीय विशेष समितिको दोस्रो बैठक आज बस्दैछ । बैठक सिंहदरबारस्थित संसदको अर्थ समितिको सभाकक्षमा दिउँसो साढे २ बजेका लागि बोलाइएको छ ।

आजको बैठकको कार्यसूची समितिको सभापति चयन गर्ने रहेको छ । ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको संयोजकत्वमा बसेको पहिलो बैठकले कार्यविधि पारित गरे पनि सभापति चयन नगरी सकिएको थियो ।

सत्तापक्ष र प्रतिपक्ष दुवैले दाबी गरेपछि सभापति चयन लम्बिएको हो । आजको बैठकले सभापति चयन गर्ने समितिका सदस्यहरूले बताएका छन् ।

अर्थमन्त्री हुँदा शर्माले अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेपछि विवाद सुरु भएको थियो । सोही विवादका कारण शर्माले असार २२ गते राजीनामा दिइसकेका छन् ।

प्रतिनिधि सभा नियमावली २०७५ मा आवश्यकता अनुसार विशेष समिति गठन गर्नसक्ने व्यवस्था छ । संसदमा शर्मालाई राजीनामा गराएर छानबिन समिति गठन गर्न माग उठेपछि सोही व्यवस्था अनुसार शर्मामाथि छानबिन गर्न ११ सदस्यी समिति गठन भएको छ ।

समितिमा एमालेका ४ जना (खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक), नेपाली कांग्रेस २ जना ( पुष्पा भुसाल र सीताराम महतो), नेकपा माओवादीका २ जना (देव गुरुङ र शक्ति बस्नेत), नेकपा एकीकृत समाजवादीकी सरला यादव, जनता समाजवादी पार्टीका सुरेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मणलाल कर्ण सदस्य छन् ।

विशेष समितिले काम सुरु गरेको१० दिनभित्र प्रतिनिधि सभामा प्रतिवेदन पेस गर्नु पर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights