☰ open

कुरा बुझीबुझी बुझ पचाइएको छ : महामन्त्रीद्वय थापा

२०७९ असार ३१, शुक्रबार ०९:४४
media khavar

सरकार र पार्टीका मुद्दामा असहयोगी देखिएको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको राजनीतिक भूमिका खुम्च्याउँदै लगेका छन् । उनीहरूको चासो र एजेन्डासमेत सुनुवाइ हुन छाडेको छ ।नेता र गुटको टेकोबाट भन्दा लोकप्रिय सार्वजनिक छवि बनाएर नेतृत्वमा उक्लिएका उनीहरूको भूमिकालाई लिएर केन्द्रीय कार्यसमिति बैठकमा पहिलोपल्ट आलोचनासमेत भएको छ । यसै विषयमा आधारित भएर महामन्त्री गगनकुमार थापासँग गरिएको कुराकानीः

सभापति र तपाईं (महामन्त्री) हरूबीच सम्बन्ध बिग्रेको हो ?

मिलेरै काम गर्दा पार्टीलाई फाइदा हुन्छ । हामी सभापतिलाई बल पु¥याउन चाहन्छौं । पार्टीमा विधान र पद्धति स्थापना गरौं, सरकार जनताप्रति जवाफदेही बन्नोस् र सुशासन ठीक ढंगले कायम होस् भन्ने जोड हाम्रो हो । यसले सभापतिलाई पार्टी र सकारको मोर्चामा बलियो बनाउँछ । यसो भन्नु हाम्रो कर्तव्य पनि हो ।

तपाईंहरूकै विषयमा पनि आलोचना विरोध छ नि ?

हामीलाई हतोत्साही बनाउन खोजे पनि पछि हट्ने कुरै छैन । महाधिवेशनले दिएको जिम्मेवारी हामी पूरा गर्छौं । विधिसम्मत पार्टी सञ्चालन गर्दासम्म पार्टी सभापतिसँग सहकार्य हुन्छ । विधिबाहिर जानुभयो भने संघर्ष हुन्छ । सरकारको मोर्चामा पनि त्यही हो । सरकारले राम्रो काम गर्दा सबैभन्दा बढी वकालता गर्ने, प्रतिरक्षा गर्ने हामी नै हौं । राम्रो काम भएन भने आलोचना हुन्छ । विवेक र विधानको कुरामा हामी सम्झौता गर्दनौं ।

विधानले ६ महिनाभित्र गरिसक्नुपर्ने भनेका कामसमेत भएका छैनन्, यसमा तपाईंहरूको भूमिका छैन ?

हाम्रो विधानले निर्णय गर्ने अधिकार पार्टी सभापतिलाई दिएको छ । कि त पार्टी सभापतिलाई मनाएर विधानको बाटो हिँड्न सक्नुपर्छ कि त दबाब दिएर हिँडाउनुपर्छ । हामी मात्रै हिँडेर हुन्न । उहाँले कदम नचालेसम्म पार्टी अघि बढ्न सक्दैन । सामान्य बैठक बोलाउने कुरामा पनि फकाउनुपर्छ, दबाब दिनुपर्छ । बैठक, विभाग, संरचना र भ्रातृ संस्थाहरू सबैको निर्णय गर्ने जिम्मेवार सभापतिलाई छ ।

तर सभापतिलाई यी सबै कुरामा महामन्त्रीहरूले दबाब दिन सकेनन् भन्ने आरोप छ नि ?

कुरा बुझीबुझी बुझ पचाइएको छ । विधानले सभापतिलाई निर्णय गर्ने अधिकार दिएको छ । विधानको अधिकार प्रयोगमा प्रोत्साहिन गर्ने र झकझकाउने काम गरिरहेका छौं । गरिरहेको कुरा देखिरहनुभएकै नेताहरूले यसो भनिरहनुभएको छ । उहाँहरूले किन सभापतिलाई नभई हामीलाई प्रश्न गरिहनुभएको छ ?

तपाईंहरू पनि यथास्थितिमा रमाउन खोज्नुभयो भन्ने आरोपमा के भन्नुहुन्छ ?

विधि र विधानअनुसार पार्टीलाई हिँडाउने कुरामा हामीले जति झकझाउनुपर्ने हो, त्यसमा कुनै कमी गरेका छैनौं । धेरै उपाय सुझाएका छौं । मेरा हस्ताक्षरले विभाग बनाउने होइन । एकपटक बनिसकेपछि चलायमान बनाउने कामचाहिँ महामन्त्रीको हो । भ्रातृ संस्थाहरू बनाइसकेपछि चलायमान बनाउने काम हाम्रो हो । हामी नथाकीकन, नआत्तीकन सभापतिलाई फकाएर, दबाब दिएर अघि बढिरहेका छौं ।

सभापति त पार्टीका काममा भन्दा गठबन्धनको काममा व्यस्त हुनुहुन्छ नि ?

त्यस्तो अवस्थामा उहाँले अधिकार प्रत्यायोजन गरेर जिम्मेवारी दिनुपर्छ । त्यसो भयो भने सभापतिलाई सहयोग गर्न तयार छौं ।

हरेक मुद्दामा दुई महामन्त्री एकै ठाउँमा उभिँदै आउनुभएको छ । सल्लाहले हो कि मुद्दाले मात्रै हो ?

कतिपय प्रसंगवश पनि छन् । सबैभन्दा ठूलो कुरा पार्टी महाधिवेशनले हामीलाई ठूलो विश्वास गरेर जिम्मेवारी दिएको छ । त्यसलाई कायम गर्ने जिम्मेवारी हाम्रो हो । त्यसैले हामी एक–अर्कालाई प्रतिस्पर्धीभन्दा पनि सहयोगी र एकताका साथ अघि बढ्न सक्छौं भनेर देखाउन चाहन्छौं । संयुक्त रूपमा अघि बढ्दा सभापतिलाई विधिसम्मत काम गर्न दबाब पुग्छ भन्ने मनोविज्ञानले पनि काम गरेको छ । कान्तिपुर दैनिक

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights