☰ open

शक्ति राष्ट्रहरुले नेपाललाई खेल मैदान बनाउन लागे : सांसद देव

२०७९ श्रावण २, सोमबार १४:४३
media khavar

नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले शक्ति राष्ट्रहरुले नेपाललाई खेल मैदान बनाउन लागेको बताएका छन्।

सोमबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद देवले एमसीसी र एसपीपी सम्झौताको सम्बन्धमा अमेरिका र चीनले आफू अनुकुल बोलेको भन्दै शक्ति राष्ट्रहरुले नेपाललाई खेल मैदान बनाउन लागेको बताएका हुन्। उनले नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक भएकाले के लिने र के नलिने भन्ने निर्णय गर्ने अधिकार नेपाल सरकार र नेपाली जनताको भएको स्पष्ट पारे।

उनले नेपाल कुनैपनि शक्ति राष्ट्रहरुको खेल मैदान बनाउन नहुनेमा राजनीतिक दलका शीर्ष नेताहरुको ध्यानाकर्षण गराए। सांसद देवले नेपालको कुनैपनि विषयमा अन्य राष्ट्र बोलेमा आन्तरिक मामिलामा हस्तक्षेप हुन्छ भनेर सरकारले र राजनीतिक दलहरुले भन्न सक्नुपर्ने बताए।

उनले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको नेपाल भ्रमण र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणले दुई देशका पार्टी–पार्टी बीचको सम्बन्ध राम्रो बनाएको उल्लेख गरे। उनले देशको भू–राजनीतिक अवस्था अनुसार छिमेकी देशहरुसँग सरकार–सरकार र जनता–जनताको स्तरमा मात्र नभइ पार्टी–पार्टीको स्तरमा पनि सम्बन्ध हुनु आवश्यक रहेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights