☰ open

वर्तमान संसद्को कार्यकाल बारेमा छलफल शुरु भएको छ : सभामुख सापकोटा

२०७९ श्रावण २, सोमबार १७:०४
media khavar

सभामुख अग्निप्रसाद सापकोटाले सङ्घ र प्रदेशको निर्वाचनको मिति घोषणाको चर्चासँगै वर्तमान प्रतिनिधिसभाको कार्यकाल कहिलेसम्म रहने भन्नेमा छलफल शुरु भएको बताएका छन् ।

संसदीय समाचार संकलन गर्दै आएका पत्रकारसँग सोमबार भएको अन्तरक्रियामा उहाँले निर्वाचन घोषणापछि संसद्को अवस्था के हुने भन्ने बारेमा उपसभामुखको शपथका दिन राष्ट्रपति कार्यालयमा सामान्य कुराकानी भएको जानकारी दिएका छन् ।

“उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्षसँग यस बारेमा सामान्य छलफल भएको थियो”, उनले भने, “छलफल गर्दै जाउँ के निष्कर्ष निस्कन्छ, त्यही गरौँ भन्ने विषयमा कुराकानी भयो ।” छलफलका क्रममा संसद्को कार्यकाल मनोनयन गर्ने दिनसम्म रहन्छ भन्ने सबैको बुझाइ रहेको उनले बताए ।

“संसद्को कार्यकाल नसकिँदै विघटन हुँदा सभामुख र उपसभामुख बाहेक सांसदको पद नरहने अवस्था हो”, सभामुख सापकोटाले भने, “यसबारेमा संविधानविद्सँग छलफल गरेर निष्कर्षमा पुगिन्छ ।”

मन्त्री हेरफेरका कारण विधेयकमाथिको छलफल प्रभावित

सभामुख सापकोटाले सङ्घीय सरकारका मन्त्री हेरफेरका कारण संसद् सचिवालयमा दर्ता भएका विधेयकमाथिको छलफल अगाडि बढाउन समस्या भएको बताएका छन् । संसद्को चालु अधिवेशन बजेट अधिवेशन भए पनि महत्वपूर्ण विधेयक पारित भएको र केही विधेयक छलफलकै क्रममा रहेको उनले बताए ।

“चालु अधिवेशनबाट १५ विधेयक पारित भएको छ, पाँच समितिका साथै विभिन्न संवैधानिक आयोगका प्रतिवेदन संसद्मा पेश भएका छन् ”, उनले भने, “विघटन र अवरुद्धका बीच चलेको संसद्ले जनतालाई आशा जगाउने काम गरेको छ ।”

विभिन्न संसदीय समितिका सभापति पद रिक्त रहेका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै उनले समितिका सभापतिको निर्वाचन गर्न प्रधानमन्त्रीसँग आफूले संवाद गरिरहेको बताएका छन् । ढिलै भए पनि उपसभामुखको निर्वाचन भएसँगै संसद्को काम अझ प्रभावकारी ढंगबाट अगाडि बढ्ने उनको विश्वास छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights