☰ open

२०६ पालिकाले अझै ल्याएनन् बजेट

२०७९ श्रावण ३, मंगलवार १६:५२
media khavar

देशभरिका २१३ पालिकाले अझै बजेट पेस गरेको छैन । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले असार मसान्तभित्र सबै पालिकाले नगर÷गाउँसभामा बजेट पेस गरिसक्नुपर्ने व्यवस्था गरेको छ । मङ्गलबार मात्रै सात पालिकाले बजेट पेस गरेको अद्यावधिक गरेका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्र्तगत सङ्घीय मामिला शाखाका उपसचिव तुलसीराम अर्यालका अनुसार ७५३ पालिकामध्ये ५३९ ले मात्रै बजेट पेस गरेको छ । बजेट पेस नगरेका पालिका एक चौथाइभन्दा बढी छन ।

बजेट पेस नगरेका पालिकामा दुई महानगरपालिका, तीन उपमहानगरपालिका, ७९ नगरपालिका र १२९ गाउँपालिका छन् । मन्त्रालयको वेबसाइटमा यसप्रकारको तथ्याङ्क देखिएपनि कतिपय पालिकाले गाउँ÷नगरसभामा बजेट पेस गरेर पारित समेत गरिसकेका छन् ।

मन्त्रालय अन्र्तगत स्थानीय तह समन्वय शाखाका उपसचिव रेसम कँडेलले स्थानीय तहले बजेट पेस गरे÷नगरेको आफैंले वेबसाइटमा प्रविष्ट गर्नुपर्ने भएकोले उक्त तथ्याङ्क अद्यावधिक रहेको दाबी गर्नुभयो । उपसचिव कँडेलले भन्नुभयो, “मन्त्रालयको वेबसाइटमा प्रविष्ट भए बमोजिम २१३ पालिका अझै बजेट पेस नगरेको हो, पारित गरेपनि पेस नगरेका पालिकालाई मन्त्रालयले पेस नगरे सरह नै लिने हो ।”

तथ्याङ्क अनुसार सबैभन्दा बढी मधेश प्रदेशको १३६ पालिकामध्ये ६६ पालिकाले बजेट पेस गरेको छैन । गण्डकी प्रदेशको ८५ पालिकामध्ये ७५ वटाले बजेट पेस गरिसकेका छन । कानुन बमोजिम स्थानीय तहले गाउँ तथा नगरसभाबाट बजेट पास नगरेसम्म खर्च गर्न पाउँदैन ।

सङ्घीय मामिला शाखाका उपसचिव तुलसीराम अर्यालले बजेट स्वीकृत नभई खर्च गर्न नपाइने तथा राजश्वसमेत असुली गर्न नपाउने भएकोले समयमै बजेट पेस गरेर पारित गर्नु अनिवार्य भएको बताए ।
स्थानीय तह सदस्यको निर्वाचन गत वैशाख ३१ गते सम्पन्न भएको थियो । परिणाम आएको केही समयभित्रै नगर कार्यपालिका र गाउँ कार्यपालिका गठन गर्नुपर्ने भएकोले समेत कतिपय स्थानीय तहका पदाधिकारी उक्त चुनावमा ब्यस्त भएकाले समयमै बजेट पेस गर्न सकेनन ।

मन्त्रालयकै अर्का उपसचिव रेसम कँडेलले भने योजना छनौटदेखि राजश्व सङ्कलनको सीमा बजेटमै तोकिने हुनाले समयमै बजेट पेस नहुँदा आर्थिक अनुशासन समेत कायम नहुने बताए ।
सूचना अद्यावधिक गर्न कञ्जुस्याँइ

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकालाई मन्त्रालयको वेबसाइटमा आफैंले सूचना अद्यावधिक गर्न पहुँच दिएको छ । तर पालिकाले बजेट पेस गरेर पारित गरिसकेपनि मन्त्रालयको वेबसाइटमा सूचना अद्यावधिक गरेको छैन ।

मन्त्रालयको वेबसाइटमा काठमाडौँ र पोखरा महानगरपालिकाले पनि बजेट पेस नगरेको उल्लेख छ । तर दुबै पालिकाले बजेट पेस गरेर पारित समेत गरिसकेको छ । पोखरा महानगरपालिकाले असार २६ गते नै बजेट पारित गरेको सूचना अधिकारी भरतराज पौडेलले जानकारी दिए ।

मन्त्रालयको वेबसाइटमा जनकपुरधाम उपमहानगरपालिकाले समेत बजेट पेस नगरेको उल्लेख छ । तर उपमहानगरपालिकाका प्रमुखका स्वकीय राजन सिंहले असार अन्तिम साता नै बजेट पारित गरिसकेको जानकारी दिए ।

मन्त्रालयका अनुसार छ मध्ये चार महानगरपालिका, ११ मध्ये ३ उपमहानगरपालिका, २७६ मध्ये ७७ नगरपालिकाले बजेट पेस गरेका छैनन । त्यसैगरी ४६० मध्ये १२४ गाउँपालिकाले अझै बजेट पेस गरेको छैन । समग्रमा ७२.६४ प्रतिशत पालिकाले बजेट पेस गरेका छन भने २७.३६ प्रतिशत पालिकाले अझै बजेट पेस गरेका छैनन ।

जिल्लागत रुपमा मधेश प्रदेशको रौतहट र पर्साका अधिकांश पालिकाले बजेट पेस गरेको छैन । रौहतटमा १८ पालिका छन् । ११ पालिकाले बजेट पेस गरेको छैन । बाराका १६ मध्ये नौ र पर्साका १४ मध्ये १० वटा पालिकाले बजेट पेस नगरेको मन्त्रालयले उल्लेख गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights