☰ open

द्विविधामा राष्ट्रपति : नागरिकता विधेयक प्रमाणीकरण गर्ने कि सदनमा फिर्ता पठाउने ?

२०७९ श्रावण १५, आईतवार १०:०२
media khavar

लामो समयदेखि विचाराधीन र विवादित नागरिकता विधेयक संघीय संसद्बाट पारित भएपछि प्रमाणीकरणको पर्खाइमा छ। प्रतिनिधिसभा र राष्ट्रियसभाबाट ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ हालै पारित भएको हो । संघीय संसद्बाट पारित विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्र कानुनमा परिणत हुन्छ ।

संघीय संसद्का दुवै सदनबाट पारित भए पनि अझै नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको छैन । सम्भवतः आइतबारसम्म उक्त विधेयक प्रमाणीकरणका लागि शीतल निवास पुग्नेछ ।

नागरिकता विधेयक राष्ट्रपति कार्यालयमा पुगेपछि सिधै प्रमाणीकरण गर्ने कि सदनमा फिर्ता पठाउने भन्ने द्विविधामा राष्ट्रपति विद्यादेवी भण्डारी छिन् । संघीय संसद्का दुवै सदनबाट पारित नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारीमाथि स्वाभाविक दबाब परेको छ भने त्यसमा रहेका केही प्रावधानलाई लिएर प्रमुख प्रतिपक्षी एमालेका साथै विभिन्न पक्षबाट विरोध भइरहेको छ।

विधेयकमा रहेका केही प्रावधान संशोधन गर्न राष्ट्रपतिले भूमिका खेल्ने धेरैको अपेक्षा छ। संसद्बाट पारित भइसकेको विधेयक प्रमाणीकरण गर्नुपर्ने बाध्यता राष्ट्रपतिलाई हुन्छ। तर प्रमुख प्रतिपक्षी एमालेसहितका दलहरूले यसको विरोध गरेकाले राष्ट्रपतिमाथि द्विविधासहितको दबाब देखिएको छ।

राष्ट्रपति कार्यालयका अनुसार विधेयक सिधै प्रमाणीकरण गर्ने वा फिर्ता पठाउने भन्नेमा अनौपचारिक छलफल भइरहेको छ। एकातिर नागरिकता विधेयक राष्ट्रपतिले रोकिदिए हुने भन्ने आवाज उठेको छ भने अर्कातिर सरकार तत्काल उक्त विधेयक प्रमाणीकरणको प्रतीक्षामा छ।

निर्वाचन मिति घोषणाअगावै सो विधेयक प्रमाणीकरण होस् भन्ने चाहना सत्तारूढ गठबन्धनको छ। गत मंगलबार राष्ट्रपति भण्डारीले सम्पादक–प्रकाशकहरूसँगको छलफलमा अहिलेकै अवस्थामा विधेयक प्रमाणीकरण नगर्ने संकेत गर्दै आफूले अध्ययन गरेर मात्र निर्णयमा पुग्ने बताएकी थिइन्। उक्त छलफलमा राष्ट्रपति भण्डारीले सिधै प्रमाणीकरण गर्ने मनशाय नराखेको बुझिएको थियो।

राष्ट्रपतिलाई संसद्बाट बहुमतले पारित गरेको विधेयक प्रमाणीकरण गर्नेबाहेकको अर्को विकल्प पनि दिइएको छैन। संविधानको धारा ११३ मा विधेयक प्रमाणीकरणको व्यवस्था गरिएको छ। राष्ट्रपतिसमक्ष पेस भएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गरी त्यसको सूचना यथासम्भव चाँडो दुवै सदनलाई दिनुपर्ने व्यवस्था छ।

अर्थ विधेयकबाहेक अन्यमा पुनर्विचार हुनु आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागे पेस भएको १५ दिनभित्र सदनमा फिर्ता पठाउन सक्ने व्यवस्था पनि संविधानमा गरिएको छ। तर राष्ट्रपतिबाट कुनै विधेयक सन्देशसहित फिर्ता भए दुवै सदनले फेरि संशोधनसहित पारित गरी पेस गरे १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक प्रावधान छ।

दोस्रोपटक राष्ट्रपतिसमक्ष विधेयक पुगे त्यसमा प्रमाणीकरणको विकल्प छैन। तर राष्ट्रपतिले प्रमाणीकरण नगरेको अवस्थामा के गर्ने भन्ने विकल्प संविधानले परिकल्पना गरेको छैन। त्यसरी विधेयक फिर्ता पठाउँदा सरकारले आफ्नो ‘पोजिसन’ लिने र संशोधनबिनै पुनः पारित भएर आएको विधेयक प्रमाणीकरणबाहेक राष्ट्रपतिसँग विकल्प नहुने निकटहरूको बुझाइ छ।

त्यसले राष्ट्रपति र सरकारबीच दरार उत्पन्न गर्ने र कार्यकालको अन्तिममा वातावरण असहज बन्ने बुझाइ राष्ट्रपति कार्यालयको छ। ‘अहिले जोखिम मोल्ने कि नमोल्ने भन्ने निष्कर्षमा पुग्न बाँकी छ,’ राष्ट्रपतिनिकट स्रोतले भन्यो, ‘अनौपचारिक कुराकानीमा विधेयक विचारविमर्शलाई पठाउनुपर्ने धारणा आएको छ। प्रमाणीकरणका लागि आएपछि एउटा टुंगोमा पुग्छौं।’

२०४७ सालको संविधानमा राजालाई विधेयक प्रमाणीकरण गर्न अप्ठेरो स्थिति आइलागे सर्वोच्च अदालतबाट राय लिने अधिकार दिइएको थियो। तर अहिलेको संविधानमा त्यो व्यवस्था हटाइएको छ। यसअघिका राष्ट्रपतिले पनि अदालतसँग राय लिएको देखिँदैन। संविधानले राष्ट्रपतिलाई कानुनी परामर्श कोसँग लिने भन्ने संवैधानिक व्यवस्था गरेको पनि छैन। तर राष्ट्रपति भण्डारीले कानुनी परामर्शका लागि अदालत पठाउने विषयमा कुरा भए पनि सर्वोच्चले संविधानमा त्यस्तो व्यवस्था नभएको राय दिएको खण्डमा समय मात्र बर्बाद हुने राष्ट्रपति कार्यालयको बुझाइ छ।

संवैधानिक राष्ट्रपतिले संविधानको पालना गर्ने प्रमुख दायित्व संविधानले नै दिएको वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली बताउँछन्। संवैधानिक कानुनका ज्ञातासमेत रहेका ज्ञवालीले कुनै विधेयक प्रथम दृष्टिमै संविधानभन्दा बाहिर गएर पारित गरेको देखिए र संविधानको घोर उल्लंघन हुने किसिमकोे देखिए संविधानअनुकूल मिलाएर सदनमा फिर्ता पठाउने अधिकार राष्ट्रपतिलाई हुन्छ।

‘संविधानको संरक्षण गर्ने अधिकार राष्ट्रपतिलाई हुन्छ। संविधानका संरक्षक र पालक भएकाले राष्ट्रपतिलाई परामर्श गर्ने अधिकार हुन्छ,’ उनले भने, ‘संवैधानिक राष्ट्रपतिका आफ्नै ड्युटी छन्। संविधानअनुकूलका विषय स्वीकार गर्नुपर्छ। संविधानविपरीत हुने, राष्ट्रको सार्वभौमलाई असर पार्ने देखिए आधार र कारणसहित त्यस्ता विषय फिर्ता पठाउन सकिन्छ।’

संसद्ले दोस्रोपटक विधेयक पारित गरेर पठाए राष्ट्रपतिले प्रमाणीकरण गर्नुको विकल्प नहुने बताउँदै अधिवक्ता ज्ञवालीले त्यसमा सरकार नै जवाफदेही हुनुपर्ने बताए। ‘कुनै पनि विधेयक देश, जनता, सार्वभौमिकता, विधिको शासनविपरीत हुनुहुन्न। नेपालका नागरिक कोही पनि नागरिकताबाट वञ्चित हुनुहुन्न भन्ने संविधानको प्रावधान हो।

अहिलेको विधेयकले नेपाली नागरिकलाई सम्बोधन गरेको देखिन्न,’ ज्ञवालीले भने, ‘अंगीकृत नागरिकता दिँदा राष्ट्रको सार्वभौमिकतासँगै खुला सिमाना पनि हेर्नुपर्छ। समग्रमा नेपाली छोरी विवाह गरेर भारतमा पुग्दा सात वर्ष कुर्नुपर्ने तर भारतीय छोरी नेपालमा बुहारी बनेर आउँदा तत्काल दिने भन्ने हुन्न। छोरी र बुहारीमा कुनै विभेद रहनुहुन्न।’

सरकारले त्यो कानुनलाई अन्देखा गरेको उनले दाबी गरे। भोलि सार्वभौमिकतामाथि प्रश्न उठ्न सक्ने भएकाले राष्ट्रपतिले पनि हेर्नुपर्ने उनको सुझाव छ। अन्तर्राष्ट्रिय कानुनको विषयमा पनि राष्ट्रपतिले हेर्न जरुरी भएको उनले बताए।

तत्कालीन राष्ट्रपति डा. रामवरण यादवका कानुनी सल्लाहकार सूर्य ढुंगेलले संविधानले दिएको अधिकार राष्ट्रपतिले स्वीकार गर्नुको विकल्प नभएको बताए। ‘राष्ट्रपतिलाई संविधानले दिएको अधिकार प्रमाणीकरण गर्ने हो। राष्ट्रपतिको केही सन्देश छ भने हाउसलाई फिर्ता पठाउन सक्ने प्रावधान छ। हाउसले फेरि त्यसैलाई पठायो भने प्रमाणीकरण गर्नैपर्छ,’ उनले भने।

राष्ट्रपतिले नागरिकता विधेयक संघीय संसद्ले पारित नगर्दै अनौपचारिक रूपमा सूचना लिएर छलफल गराएको भए एउटा विकल्प हुने उनको बुझाइ छ। ‘हामीकहाँ अनौपचारिक रूपमा सूचना बाँडफाँट निकै कम छ। हेड अफ द स्टेटलाई विवादमा ल्याउने काम गर्नुहुँदैन,’ वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगेलले भने, ‘केही सन्देश भए पुनर्विचार गर भनेर पठाउनुबाहेक संसद्ले पठाएपछि आँखा चिम्लेर प्रमाणीकरण गर्नुको विकल्प संविधानले दिएको छैन।’ कतिपय देशमा संसद्मा आउनुअघि विशेष समितिमा विधेयकमाथि छलफल गर्ने व्यवस्था भएको उनले बताए। भारतमा पनि विधेयक विवादास्पद भए सर्वोच्च अदालतमा राय लिन पठाउन सक्ने संवैधानिक व्यवस्था छ।

निर्वाचन मुखमा आएकाले विधेयक मन नपरे नयाँ संसद्ले नयाँ विधेयक लिएर जान सक्ने पनि ढुंगेलले बताए। ‘यो सधैंका लागि बनाइएको पनि होइन। सात–आठ महिनाको अनुभवबाट अनुकूल नदेखिए फेरि नयाँ संसदमा संशोधनका लागि लैजान सकिन्छ,’ उनले भने। नागरिक दैनिक

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights