☰ open

सरकारले सहमति कार्यान्वयन नगर्दा पक्राउ पुर्जी जारी गरियो : बास्तोला

२०७९ श्रावण १६, सोमबार १३:३१
media khavar

नेत्रविक्रम चन्द नेतृत्वको तत्कालीन नेकपाका नेताहरूका नाममा ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी गरेको छ । चन्द समूहले हिंसात्मक गतिविधि बढाएपछि प्रतिबन्ध लगाइएको बेला गरेका घटनालाई लिएर पक्राउ पुर्जी जारी भएको उक्त समूहका नेताहरूको बुझाइ छ ।

प्रतिबन्ध फुकुवा भइसकेको र सरकारसँग सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आइसकेपछि अदालतबाट त्यस्तो पुर्जी जारी हुनु र ३५ दिनभित्र पक्राउ गर्न भन्नु नमिल्ने कुरा भएको उक्त समूहमा रहेका नेताहरूले बताएका छन् ।

चन्द समूह छोडेर नेकपा (बहुमत) बनाएका धर्मेन्द्र बास्तोलाले सरकारले सहमति कार्यान्वयन नगर्दा पक्राउ पुर्जी जारी भएको हुनसक्ने बताए । बास्तोलालाई पनि पक्राउ गर्न पुर्जी जारी भएको छ । उनले अब सरकारसँग छलफल हुने बताए । ’हामी खुला राजनीतिमै थियौं ।

तत्कालीन सरकारले जबर्जस्ती प्रतिबन्ध लगाएर धकेल्न खोजेको थियो । त्यसपछि हामीले सहमति गरेर शान्तिपूर्ण खुला राजनीतिमा आएका हौं,’ उनले भने, ’सहमति कार्यान्वयन गर्ने प्रक्रियामा सरकारले ढिलाढाला गरेको हुनाले अदालतले जारी गरेको होला । हामी सरकारसँग कुरा गर्छौं । सरकारको ढिलाइका कारणले यो आएको हो ।’

पत्रिकामा सूचना जारी गर्नुपहिला आफूहरूलाई कुनै जानकारी नगरिएको पनि बास्तोलाले बताए । उनले एकैपटक पत्रिकामा पक्राउ पुर्जी जारी गरिएपछि थाहा हुन आएको बताए । ’पत्रिकामा सूचना जारी गर्नु पहिला केही सोधपुछ भएको थिएन । अब सरकारसँग नै कुराकानी हुन्छ,’ उनले भने ।

यसबीचमा सहमति कार्यान्वयन गर्न, मुद्दा फिर्ता र बन्दी रिहाइका लागि सरकारसँग पटकपटक छलफल भएको बास्तोलाले बताए । सरकारका अधिकारीले बारम्बार काम हुन्छ भनेको तर व्यवहारमा त्यस्तो नदेखिएको पनि उनको भनाइ थियो । ’हामी सरकारसँग कुरा गरिरहेका छौं । प्रधानमन्त्री, गृहमन्त्रीसँग पनि कुरा भइरहेको थियो,’ पक्राउ पुर्जी जारी भएपछि के गर्ने भन्नेबारे बास्तोलाको जवाफ थियो, ’अब कसरी अगाडि बढ्ने भन्ने कुरा सरकारमा भर पर्छ ।’

ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना‚ विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध‚ आपराधिक लाभ र संगठित अपराधको कसुरमा नेत्रविक्रम चन्दसहितका नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । जसमा खड्कबहादुर विश्वकर्मा, उनकी श्रीमती नन्दा विश्वकर्मा, उदयबहादुर चलाउने, धर्मेन्द्र बास्तोला, पदमबहादुर राई, सन्तोष बुढामगर, मोहनबहादुर कार्की, टेकबहादुर केसी, भरतबहादुर बम, नवीन विश्वकर्मा, उमा भुजेल, शंखर दमाई, दमयन्तीकुमारी श्रेष्ठ चिमोरिया, बाबुलाल पुनमगर, सुदीप कुँवरलगायत छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights