media khavar
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको स्वास्थ्यमा समस्या देखिएपछि अध्यादेश जारी गर्न बस्ने तयारी भएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको छ । प्रदेश सरकारले गत फागुनमा जारी ५ अध्यादेश मध्ये ४ वटा अध्यादेश फेल भएपछि पुनः अध्यादेश ल्याउने गरी तयारी भइरहेको थियो ।
मुख्यमन्त्री पाण्डेले उक्त तयारी अनुसार फेल भएका ४ अध्यादेशलाई मन्त्रिपरिषदबाट स्वीकृती प्रदान गर्न आइतबार बैठक आह्वान गरेका थिए । आइतबार बिहान बस्ने तय भएको बैठक केही समय अघि सूचना प्रवाह गर्दै मुख्यमन्त्री पाण्डेले एक साताका लागि मन्त्रिपरिषद नबस्ने गरि स्थगन गरेका थिए ।
मुख्यमन्त्री पाण्डेलाई रुघा खोकी र ज्वरोको संक्रमण देखिएपछि उनलाई चिकित्सकले एक साता आराम गर्न सुझाव दिएका छन् । चिकित्सकको सुझाव अनुसार मुख्यमन्त्री पाण्डे एक साताको लागि काठमाडौंस्थित घरमा बेड रेष्टमा बसेका छन् ।
अस्वस्थ भएपछि उनले कोभिड–१९ संक्रमणको परिक्षण समेत गराएका थिए । उनको कोभिड–१९ संक्रमण परीक्षणको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ भने एन्टिजेन परीक्षणको रिपोर्ट भने पोजिटिभ आएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया