☰ open

थारू समुदायमा मनाइँदै गुरही’ पर्व

२०७९ श्रावण १७, मंगलवार ११:२०
media khavar

पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारू समुदायले परापूर्वकालदेखि मनाउँदै आएको ‘गुरही’ पर्व यहाँका थारू समुदायले सामूहिकरूपमा मनाइरहेका छन् ।

यो पर्व वर्षायाममा खेतीपातीको काम सम्पन्न भएसँगै धानबालीमा किरा नलागोस् भनेर गाउँका युवतीहरू गाउँभन्दा टाढाको चोकमा गई कपडाले बनाइएका स–साना गुरही (गाइने किराको प्रतीक) असराउने (सेलाउने) चलन रहिआएको छ ।

थारू कल्याणकारीसभाका कार्यवाहक सभापति माधव चौधरीले भने, “गुरही गाउँबाट पर गएर सेलाउँदा धानबालीमा किरा नलाग्ने र बाली हराभरा भई सप्रने जनविश्वाससमेत रहिआएको छ ।” यो पर्वलाई बालबालिकासँग सम्बन्धित पर्वका रूपमा पनि लिने गरिएको छ ।

गुरही (गाइने किराको प्रतीक) सेलाउँदा साना बालबालिकामा आँखा पाक्ने, ज्वरो आउने, खटिरा आउने, बान्ता हुनेजस्ता रोग निको हुने गरेको विश्वास रहेको उहाँले बताए । यो पर्वले सामाजिक सद्भाव, आपसी मित्रता बढाउनुका साथै गाउँमा भएको दुःख, सङ्कट, विपत्ति भाग्ने गरेको जनाइएको छ । यो पर्व कहिलेदेखि मनाउन सुरु गरिएको भन्नेचाहिँ कुनै लिखित इतिहास नभएको बताइएको छ ।

यो पर्व आज धनगढीको क्याम्सचोक, शान्तिनगर, उर्मा, भादागाउँ, बडहरालगायत थारू समुदाय बसोबास गर्ने जिल्लाका विभिन्न पालिकामा सामूहिकरूपमा भव्यताका साथ मनाउने कार्यक्रम तय भएको धनगढीका थारू अगुवा प्रभात चौधरीले बताए । कोभिड–१९ को सङ्क्रमणका कारण गत वर्षमा यस पर्वमा खासै चहलपहल नभए पनि यस वर्ष भने पर्व मनाउनका लागि ठाउँ–ठाउँमा भव्य तयारी गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights