☰ open

सप्तकोसीको बाँध फुट्दा सयौँ घर जोखिममा

२०७९ श्रावण १८, बुधबार ०९:३७
media khavar

उदयपुरको बेलका नगरपालिका -८ स्थित जिरो पोइन्टबाट सप्तकोसी नदीको बाढी बस्तीमा पसेको छ। नदी बस्तीमा पसेसँगै सयौँ घर जोखिममा परेका छन्। कटान रोक्न सरकारी तहबाट भएको प्रयास प्रभावकारी नहुँदा बाढी अस्थायी बाँध फुटाएर बस्तीमा पसेको हो।

हिजो दिउँसैदेखि बाढी रोक्ने प्रयास गरिए पनि बुधबार बिहान सप्तकोशीले अस्थायी बाँध भत्काएको हो। योसँगै बेलका नगरपालिका वडा नम्बर २ र ३ का सैयौँ बस्ती जोखिममा परेका छन्। केही घर कोशीले डुबाएको छ। नगरपालिकाले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालेको छ।

बेलका नगरपालिकाका मेयर अशोक कार्कीले प्रभावित बस्तीबाट स्थानीयबासीलाई सार्ने काम भइरहेको जानकारी दिए। कोसीको बाढीबाट तत्काल ६ देखि ७ सय परिवार विस्थापित हुने उनले बताए। डुम्रीबोटे हुँदै छिर्ने बाढीले सिसौलीघाट, धौरी टप्पु, चिलिमे, एबीसी, श्रीलंका टापु र रामनगरका स्थानीय प्रभावित भएका छन्।

२०४५ सालदेखि कोशी पूर्वतिरबाट बग्न थालेपछि अहिले कोशी पसेको क्षेत्रमा बस्ती बसेको थियो। ३४ वर्षपछि कोशीले आफ्नो पुरानै बाटो समातेको हो। तर, यसका कारण सैयौँ परिवार विस्थापित हुने देखिएको छ। कोशीको मूल भँगालो बस्तीतिर जान थालेपछि उदयपुर मात्र होइन, सुनसरी र सप्तरीका केही बस्तीसमेत डुबानमा पर्नेछन्।

मूल भँगालो पसिनसकेकाले अहिले क्षति हुन पाएको छैन। तर, कटान नरोकिएकाले आज दिनभरीमा मूल भँगालो पिन पस्न सक्ने देखेको स्थानीय राजेश भट्टराईले बताए। मेयर कार्कीले बेलका नगरपालिकामा ठूलो विपत्ति आउन थालेको भन्दै धनजनको क्षतिबाट बचाउन सम्बन्धित सबैमा अनुरोध गरेका छन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights