media khavar
काठमाडौँ, । कोशी नदीको पानी बस्तीमा प्रवेश गरेपछि करिब १२ हजारभन्दा बढी व्यक्ति बाढीबाट प्रभावित भएका छन् । प्रदेश १ को उदयपुरको बेलका नगरपालिकाको पाँच वटा वडा र सुनसरीको बराह नगरपालिकाको दुई वडाका करिब दश हजारभन्दा बढी व्यक्ति बाढीबाट प्रभावित भएका हुन ।
वेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले बाढीमा फसेका व्यक्तिहरुको उद्धार कार्य द्रुत गतिमा भइरहेको जानकारी दिए । उनले भने, “वेलकाको वडा नं १, २, ३, ८ र ९ नम्बर वडाका अधिकांश भूभाग डुबानमा परेका छन्, बराह नगरपालिकाका वडा नं ९ र ६ गरी करिब १२ हजार व्यक्ति प्रभावित भएका छन् ।”
नगरपालिकासँग समन्वय गरी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार कार्य गर्दैछ । सङ्घीय तथा प्रदेशका मन्त्री, प्रहरी नायब महानिरीक्षक, सुनसरी, मोरङ र उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले उद्धार कार्यको अवलोकन र निरीक्षण गरेका छन् ।
नगरपालिका प्रमुख कार्कीका अनुसार डुबानमा परेको व्यक्तिलाई उच्च स्थानमा रहेको विद्यालय तथा स्वास्थ्य चौकी लगायतमा सुरक्षित रुपमा सारिदैछ । वेलका वडा नं १ का व्यक्तिलाई कन्सोडिया, वडा नं ८ का व्यक्तिलाई सेतीखोला मावि तथा वडा नं ९ र ३ का डुबान प्रभावितलाई रामपुरभन्दामाथि रहेको तुलसी माविमा स्थानान्तरण गरिदैँछ । उद्धार कार्यका लागि नेपाली सेनाले डुङ्गाको प्रयोग गरेको छ ।
१२ किलोमिटर टाढासम्म बहाव
उदयपुरकै वडा नं ८ मा रहेको डुम्रिभोटेस्थित तटबन्ध भत्काएर प्रवेश गरेको पानी १२ किलोमिटर टाढा रहेको बस्तीसम्म पुगेको छ । नगरपालिका प्रमुख कार्कीले भन्नुभयो, “४७ दिनदेखि तटबन्ध मरम्मतको कार्य भइरहेकोमा बिहान दश बजे अचानक पानीको बहाव बढेर भत्काएको हो ।”
तटबन्ध भत्काएर प्रवेश गरेको बाढी दश किलोमिटरको वन क्षेत्र हुँदै उदयपुरको डुम्रिभोटेसम्म पुगेको हो । वन क्षेत्रबाट पश्चिममा रहेको करिब दुई किलोमिटर टाढाको पाँच वटै वडा डुबानमा परेको हो ।
नगरपालिका प्रमुख कार्कीले हालसम्म मानवीय क्षतिबारे कुनै जानकारी नआएको बताउनुभयो । यद्दपी सोलीमा करिब दुई सय घरधुरीका अधिकांश व्यक्ति फसेका छन् । उहाँले बाढी आउनु अघि नै करिब २ सय ५० जना व्यक्ति सोलीबाट निस्केको बताउनुभयो । यद्दपी गाईवस्तु र घर छोडेर हिंड्न अस्वीकार गरेका दुई सयभन्दा बढी व्यक्ति अझै सोलीमै रहेको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया