☰ open

सरकारले आदिवासी, जनजातिको हितका लागि धेरै महत्वपूर्ण काम गरेको छ : प्रधानमन्त्री देउवा

२०७९ श्रावण २३, सोमबार १८:२५
media khavar

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आदिवासी, जनजातिको हितका लागि धेरै महत्वपूर्ण काम गर्दै आएको बताएका छन्।

२८औँ विश्व आदिवासी दिवसको अवसर पारेर सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले संविधानमा उल्लेख भए अनुसार उनीहरुको हक, अधिकार र सुविधा दिलाउने कार्यमा पनि सरकार सदैव क्रियाशील रहेको बताए।

आदिवासी, जनजातिहरुको पहिचान गर्ने र उनीहरुको भाषा, कला र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्नका लागि आफू नेतृत्वको विगतमा बनेको सरकारले नै आदिवासी, जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान स्थापना गरेको उनले स्मरण गराए।

त्यस अवसरमा प्रधानमन्त्री देउवाले आदिवासी, जनजातिहरुलाई राज्यको कुनै पनि अवसरबाट वञ्चित हुन नदिन सम्बन्धित सबै पक्षले मिलेर काम गर्न आवश्यक रहेको पनि बताए। प्रधानमन्त्री देउवाले आदिवासी, जनजातिहरुको उत्थान नभइ मुलुकलाई समृद्ध बनाउने सपना यथार्थमा परिणत नहुने कुरालाई आत्मासात गर्दै अघि बढनुपर्नेमा जोड दिए।

यस्तै कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सबै आदिवासी, जनजातिहरुको उत्थान गरेर मात्रै मुलुकको समुन्नति हुने भएकाले काँग्रेसले त्यस विषयमा गम्भीर भएर काम गरिरहेको दाबी गरे।

उनले एमालेले अघि सारेको समृद्ध मुलुक बनाउने अभियानमा आदिवासी, जनजातिहरु अटाउन नसक्ने जिकिर समेत गरे। काँग्रेसले मात्रै उनीहरुको हक, अधिकार र सुविधाका लागि काम गरिरहेको महामन्त्री थापाको भनाइ थियो। महामन्त्री थापाले आफ्नो पार्टीले जनजातिहरुको पहिचान मेटिन नदिन संविधान निर्माणको बेलामा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights