☰ open

तलब वृद्धिको विरुद्धमा उठे देशभरका नासु

२०७९ श्रावण २४, मंगलवार ०९:५३
media khavar

सरकारले असमान तलब वृद्धि गरेको भन्दै देशभर विभिन्न कार्यालयमा कार्यरत नायब सुब्बासरहका कर्मचारी मंगलबार एक दिन विरोधमा बिदा बस्ने भएका छन् । तलबमा गरिएको असमान वृद्धिको विरोध र संघीय निजामती सेवा ऐनको मस्यौदामा आफ्ना माग समेट्न माग गर्दै सोमबार अर्थ मन्त्रालयमा धर्ना दिएका उनीहरूले मंगलबार भने क्याबी बिदामा बस्ने निर्णय गरेको नेपाल निजामती कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष उत्तम कटुवालले जानकारी दिए ।

नायब सुब्बाहरूले सुब्बाबाट शाखा अधिकृतमा बढुवा हुन आन्तरिक प्रतिस्पर्धातर्फ कोटा हटाएकोमा विरोधमा उत्रिँदै आएका उनीहरूले संघीय निजामती सेवा ऐनको मस्यौदामा बढुवाका लागि आन्तरिक प्रतिस्पर्धाको कोटा राख्न माग गर्दै आएका छन्। देशभरका विभिन्न सरकारी कार्यालयमा झन्डै २० हजार नायब सुब्बा कार्यरत छन्।

नायब सुब्बाहरूले उठाएको मागबारे सरकारको ध्यानाकर्षण गराउन प्रमुख ५ दलसँग निकट राष्ट्रिय स्तरका टे«ड युनियनका पदाधिकारीले सोमबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटेका थिए। नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलका अनुसार युनियनका पदाधिकारीसँगको भेटपछि अर्थमन्त्री शर्माले नयाँ तलबमानको प्रस्ताव लागु नगर्ने प्रतिबद्धता जनाएका छन्।

साथै कर्मचारीको तबल पुनरवलोकन गर्न चाँडै एउटा पे कमिसन गठन हुने र उक्त कमिसनको आधारमा नयाँ तलबमान कायम हुने शर्माले जानकारी दिएका थिए। पोखरेलले भने, ‘बजेट भाषणअनुसार यस वर्ष १५ प्रतिशत तलब वृद्धि हुन्छ। मन्त्रालयले प्रस्ताव गरेको नयाँ तलबमान लागु हुँदैन भनी अर्थमन्त्रीज्यूले प्रस्ट्रसँग भन्नुभएको छ।’

अर्थ मन्त्रालयले प्रस्ताव गरेको नयाँ तलबमानमा माथिल्लो तहका कर्मचारीको तलब एकै पटक २४ प्रतिशत बढेको छ भने शाखा अधिकृत र नायव सुब्बाबीच झन्डै १३ हजार रुपैयाँ फरक छ। यसबाट नायब सुब्बाहरू अन्यायमा परेको उनीहरूको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights