☰ open

सत्ता पक्षसँग नजिकिँदै लोसपा र नेसपा

२०७९ श्रावण २९, आईतवार १०:०४
media khavar

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेपाल समाजवादी पार्टी (नेसपा) ले पाँचदलीय सत्ता गठबन्धनमा सामेल हुने चाहना देखाएका छन्। गठबन्धनमा सहभागी हुन आ–आफ्नै तरिकाले पहल गरिरहेका यी दुवै दल जनता समाजवादी पार्टी (जसपा) बाट अलग भएर बनेका हुन्।

यसैकारण पाँच दलीय गठबन्धनमा सहभागी हुन जसपा अध्यक्ष उपेन्द्र यादव बाधक हुन्छन् कि भन्ने डर लोसपा र नेसपाका नेताहरूमा छ। जसपा अध्यक्ष यादवले सार्वजनिक रूपमै लोसपासँग पार्टी एकीकरण गर्न तयार भएको प्रतिक्रिया दिएका छन्। तर नेसपाको विषयमा भने यादवले केही बोलेका छैनन्।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवासँग पटकपटक कुराकानी गरेका छन्। लोसपा कार्यकारिणी समिति सदस्य केशव झाका अनुसार स्थानीय तहको चुनावपछि देउवा र ठाकुरबीच पाँचपटक भेट भइसकेको छ। ‘पाँच दलीय गठबन्धनमा सहभागी हुने हाम्रो चाहना हो।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा सहभागी हुन र सरकारमा समेत सहकार्य गर्न प्रस्ताव राख्नुभएको छ,’ झाले भने। स्रोतका अनुसार देउवा र ठाकुरबीच पटकपटकको भेटले लोसपाका नेताहरू उत्साहित भएका छन्। पछिल्लो समय लोसपाका नेताले एमाले अध्यक्ष केपी ओलीसँगको भेट पातलो बनाएका छन्।

‘पहिलेपहिले उहाँ (ओली) सँग हाम्रो भेट भएकै हो। लोसपासँग तालमेल गर्न एमालेले चाहना देखाएकै हो तर पछिल्लो समय हाम्रो भेट पातलिएको छ’, झाले भने। लोसपा स्रोतका अनुसार सत्ता गठबन्धनमा सहभागी हुन ठाकुर सकारात्मक छन्। लोसपाले राखेका मागमध्ये केही पूरा भएको र केही पूरा हुने क्रममा रहेको नेताहरू बताउँछन्।

सरकारले सदनबाट नागरिकता विधेयक पास गराएको छ। यो विधेयक पास भएकोमा लोसपा नेताहरू खुशी छन्। स्रोतका अनुसार लोसपालाई एमालेसँगको गठबन्धनमा सहभागी हुन नदिन देउवाले प्रयास गरिरहेका छन्। एमाले र लोसपाबीच गठबन्धन भए मधेस प्रदेशमा कांग्रेसलाई नोक्सान हुने देउवाको बुझाइ छ। ‘त्यसैले केही सिट दिएर भए पनि लोसपालाई सत्ता गठबन्धनमा ल्याउने देउवाको चाहना देखियो’, स्रोतले भन्यो।

लोसपा अध्यक्ष ठाकुरको राजनीतिक पुष्ठभूमि नेपाली कांग्रेससँग जोडिएको छ। लोसपाका अन्य नेता पनि सत्ता गठबन्धनमा सहभागी हुँदा आफूलाई सुरक्षित ठान्छन्। लोसपासँग छुट्टै तालमेल गर्न जसपा अध्यक्ष यादवले पनि चाहना देखाएको स्रोतले बतायो। तर लोसपा नेताहरू भने चुनावी तालमेल गर्ने या पार्टी एकीकरण गर्ने भन्ने विषयमा जसपाका नेताहरूसँग औपचारिक÷अनौपचारिक कुराकानी नभएको बताउँछन्।

लोसपाले स्थानीय चुनावका बेला पनि ५ दलीय गठबन्धनमा सहभागी हुने चाहना देखाएको थियो। त्यसबेला जसपा अध्यक्ष यादवले लोसपालाई गठबन्धनमा सहभागी गराउन चाहेनन्। तर अहिले परिस्थिति फेरिएको छ। लोसापसँग जसपाका नेताहरूको पानी बाराबारको अवस्थामा परिवर्तन आएको छ। त्यसैले यसपटक लोसपा ५ दलीय गठबन्धनमा सहभागी हुने सम्भावना रहेको स्रोतले बतायो ।

जसपाबाट भरखरै फुटेको नेसपाले पनि ५ दलीय गठबन्धनमा सहभागी हुने चाहना देखाएको छ। नेसपा अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग केही दिनअघि भेट गरेका थिए । चुनावी तालमेलको विषयमा उक्त भेट भएको नेसपाका नेताहरूले बताएका छन। ‘५ दलीय गठबन्धन बनाउन हाम्रो पार्टीका अध्यक्ष (भट्टराई) को पनि लगानी छ’, नेसपा महासचिव रमेश यादवले भने, ‘त्यसैले यो गठबन्धनमा हाम्रो पनि स्वामित्व छ।’ ५ दलीय गठबन्धनमा सहभागी हुने नेसपाको चाहना रहेको उनले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights