☰ open

राष्ट्रिय भूमि आयोगको काम किन प्रभावकारी भएन ? : सांसद

२०७९ श्रावण ३१, मंगलवार १४:००
media khavar

काठमाडौँ । वर्षौदेखि अव्यवस्थित भूमिहिन बसोबासीको उचित व्यवस्थापनको काम प्रभावकारी रुपमा हुन नसकेको भन्दै प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।

भूमिहीनलाई जग्गाको लालपूर्जा वितरण गर्न गठन भएको राष्ट्रिय भूमि आयोग गठन भएको एक वर्ष पूरा भएपनि देखिने गरी काम हुन नसकेको भन्दै सांसद लालप्रसाद सावा लिम्बुले सरकारको ध्यानाकर्षण गराए।

विकास निर्माणको काम प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको भन्दै सांसद लालबाबु यादवले गुनासो गरे। पाँचथरको रङ्गशाला निर्माणमा भइरहेको ढिलाईप्रति सांसद वसन्त नेम्वाङले तत्काल बजेटको प्रबन्ध गर्न माग गरे।

सांसद विमला विश्वकर्मा, शान्ता चौधरी र बिनाकुमारी श्रेष्ठले राष्ट्रपतिले पुनः विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक तत्काल प्रक्रियामा लैजान माग गरे। उनीहरुले पुनः छलफल गरेर राष्ट्रिय सहमतिसहित नागरिकता विधेयकलाई अगाडि बढाउन आग्रह गरे।

सांसद शक्तिबहादुर बस्नेतले चौरजहारी विमानस्थलमा नेपाल वायु सेवा निगमले दिँदै आएको हवाई सेवा बन्द भएकाले त्यसलाई पुनः सञ्चालनका लागि पटक पटक आग्रह गरिएपनि सुनुवाइ नभएको गुनासो गरे। सांसद सत्य पहाडीले प्रधानमन्त्री रोजगार कोषलाई प्रभावकारी बनाउन माग गरे।

सांसद डा. सूर्य पाठकले बाग्लुङको निर्माणाधिन सडकमा निर्माण व्यवसायीले प्रभावकारी काम नगरेका कारण स्थानीयबासीले दुःख पाएकोमा आपत्ति जनाए। यस्तै सांसद हरिराज अधिकारीले बुढीगण्डकी जलविद्युत् आयोजनाको काम शिघ्र सुरु गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद हितबहादुर तामाङले काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि कुनै पनि योजना नहुँदा एक सय ७४ पटक सम्झौता भएपनि समस्या समाधान हुन नसकेकामा आपत्ति प्रकट गरे। सांसद हीरा गुरुङले पनि फोहर व्यवस्थापन हुन नसक्दा काठमडौँ उपत्यका दुर्गन्धित भएको पाइएकाले तत्काल समस्या समाधान गर्नुपर्ने बताइन्।

शून्य समयमा सांसदहरु सीताराम महत्तो, सरिताकुमारी गिरी, नारायण शर्मा खनाल, शिवमाया तुम्वाहाम्फे, विष्णु शर्मा, लालबहादुर थापा र लक्ष्मी परियारले विभिन्न समसामयिक विषयमा सदनको ध्यानाकर्षण गराए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights