☰ open

डेढ अर्बमा खुम्चियो सेयर बजार

२०७९ भाद्र २, बिहीबार १०:२३
media khavar

काठमाडौँ । लगानीकर्तामा आत्मविश्वासको कमीका कारण बुधबारको सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । कारोबार रकम पनि डेढ अर्ब रूपैयाँमा खुम्चिएको छ।

दिनभरको कारोबारमा लगानीकर्ताले बजारलाई उकास्ने पटक पटक प्रयास गरे पनि त्यो सफल हुन सकेन। बुधबारको बजार २०४३ बिन्दुबाट सुरु भएकामा धेरै पटक तलमाथि गरिरह्यो। दिनभरमा नेप्से परिसूचक न्यूनतम २०३५ र अधिकतम २०५४ बिन्दुसम्म पुगेकामा बजार बन्द हुँदा २०४० बिन्दुमा रोकिएको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार ०.३६ अंकले परिसूचक घटेर २०४०.७० बिन्दुमा आएको छ। साताको पहिलो दिन आइतबार २७ अंकले घटेको सेयर बजार दोस्रो दिन सोमबार ५५.८८ अंकले बढेको थियो। मंगलबार फेरि २४.८३ अंकले बजार घटेको थियो।

एक्सचेन्जका अनुसार नेप्सेका अतिरिक्त अन्य प्रमुख तीन सूचकमध्ये २ वटाको कारोबार बढेको छ भने एउटाको घटेको छ। सेन्सेटिभ सूचक ०.२८ अंकले बढेको छ भने फ्लोटमा ०.१३ अंकले गिरावट आएको छ। यस्तै सेन्सेटिभ फ्लोट ०.०२ अंकले घटेको छ।

नेप्से परिसूचकका अन्य १३ उपसूचकहरूमध्ये ६ वटा उपसूचकको कारोबार घटेको छ भने ७ वटाको कारोबार बढेको छ। कारोबारमा सबैभन्दा धेरैले गिरावट आउनेमा जीवन बिमा उपसूचक परेको छ। यो ४५ अंकले घटेको हो। यस्तै सबैभन्दा धेरैले कारोबार बढ्ने उपसूचकमा निर्जीवन बिमा परेको छ। यो ३३ अंकले बढेको हो।

एक्सचेन्जका अनुसार बुधबार सबैभन्दा धेरै प्रतिसेयर मूल्य बढ्ने कम्पनीमा श्वेतगंगा जलविद्युत् परेको छ। यसको प्रतिसेयर मूल्य १० प्रतिशतले बढेको हो। यस्तै सबैभन्दा धेरैले प्रतिसेयर मूल्य घट्ने कम्पनीमा स्यामलिङ पावर कम्पनी परेको छ। यसको सेयर मूल्य ५.१४ प्रतिशतले घटेको हो।

एक्सचेन्जका अनुसार बुधबार सबैभन्दा धेरै रकमको कारोबार रिडी पावर कम्पनीको भएको छ। यसको १८ करोड ४३ लाख रूपैयाँको सेयर कारोबार भएको हो। यस्तै सबैभन्दा धेरै कित्ता सेयर पनि रिडी पावर कम्पनीकै भएको छ। यसका २ लाख ८६ हजार ८ सय ६० कित्ता सेयर बिक्री भएका हुन्।

एक्सचेन्जका अनुसार बुधबार २२० वटा कम्पनीका सेयर कारोबार भएका छन्। यी कम्पनीका ३४ लाख ९७ हजार ८ सय ८१ कित्ता सेयर बिक्री भएका हुन्। यी सेयर खरिद गर्न १ अर्ब ४० करोड रूपैयाँको कारोबार भएको छ। बजार पुँजीकरण घटेर २९ खर्ब २४ अर्ब रूपैयाँमा आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights