☰ open

संसदीय निर्वाचनमा माधवकुमार नेपाल रौतहटबाट उम्मेदवार हुने सम्भावना

२०७९ भाद्र ५, आईतवार ११:१०
media khavar

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रौतहट क्षेत्र नम्बर १ बाट उम्मेदवार हुने सम्भावना रहेको छ। मंसिर ४ मा हुने संसदीय निर्वाचनमा गृह क्षेत्रबाट नेपाल उम्मेदवार हुने सम्भावना रहेको उनका निकटस्थहरुले बताएका छन्।

नेपालले पार्टीको निर्णय जहाँबाट हुन्छ त्यहीँबाट संसदीय चुनावमा उम्मेदवार बन्ने बताउँदै आएपनि रौतहटको सदरमुकाम गौरमा नेपालको घर रहेकोले यहीँबाट उम्मेदवार बन्ने करिब निश्चित रहेको निकटस्थ स्रोतहरुले जनाएका छन् ।

पहिले पनि यसै क्षेत्रबाट निर्वाचित हुने गरेका नेपालको लागि अहिलेको वातावरण केही सहज भएको बताइएको छ। सदरमुकाम गौर नगरपालिकामा नेकपा एसबाट शम्भु साह बहुमतसहित नगर प्रमुखमा निर्वाचित भएका छन्।

यसैगरी पहिलेदेखि नै नेपालका निकट मानिने भिखारीप्रसाद यादव राजदेवी नगरपालिकाको प्रमुखमा बहुमतसहित नेकपा एसबाट निर्वाचित भएका छन्। अन्य नगरपालिका तथा गाउँपालिकामा नेकपा एसको बलियो उपस्थिति रहेको देखिएको छ। एउटा पालिकामा अन्य पार्टीबाट नै भए पनि नेपालका हितैषी प्रमुखमा निर्वाचित भएका छन्।

गौरका नगर प्रमुख शम्भु साहले अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाएका नेपाललाई रौतहट क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउन आफूहरुले सुझाव दिइरहेको र यस क्षेत्रका मतदाताले उनलाई मत हाल्न प्रतीक्षा गरिरहेको दाबी गरेका छन्।

केही महिनादेखि रौतहटको क्षेत्र नम्बर १ मा विभिन्न किसिमका विकास निर्माणले गति लिएको छ भने नेपालको दौडाहा पनि बढेको छ। नेकपा एसबाट संघीय सरकारमा रहेका विभिन्न मन्त्रीहरुले पनि सदरमुकाम गौर र क्षेत्र नम्बर १ को निकै बाक्लो भ्रमण गरिरहेका छन्।

सबैतिरबाट माधवकुमार नेपाल रौतहट क्षेत्र नम्बर १ मा संसदीय निर्वाचनको उम्मेदवारको चर्चा चलिरहेको समयमा नेकपा एमालेले गौर नगरपालिकाका पूर्व नगर प्रमुख अजयकुमार गुप्तालाई बलियो उम्मेदवारको रुपमा अगाडि सारिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights