☰ open

छैठौं अन्तर्राष्ट्रिय व्यापार मेला सफलतापूर्वक समापन

२०७९ भाद्र ७, मंगलवार ०९:३९
media khavar

काठमाडौँ, । नेपाल महिला उद्यमी महासंघले आयोजना गरेको छैठौं अन्तर्राष्ट्रिय व्यापार मेला सफलतापूर्वक समापन भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार उद्द्घाटन गरका छैठौं अन्तर्राष्ट्रिय व्यापार मेला ललितपुरस्थित हेरिटेज गार्डेनमा ५ दिनसम्म चलेको थियो।

व्यापार मेलामा झण्डै २ करोड बराबरको कारोबार भएको र लगभग ४० हजार जनाले अवलोकन गरेको महासंघले जनाएको छ। उद्योग तथा वाणिज्य मन्त्री दिलेन्द्रप्रसाद बडूको प्रमुख अतिथिमा उक्त मेलाको समापन गरिएको थियो।

नेपाल महिला उद्यमी महासंघकी प्रथम उपाध्यक्ष शोभा ज्ञवालीले छैठौं अन्तर्राष्ट्रिय व्यापार मेलाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला उद्यमीहरुलाई उत्पादन र बिक्रीका लागि पर्याप्त अवसर प्रदान गरेको जानकारी दिइन्। उनका अनुसार महासंघले महिला उद्यमीहरु बिच संजाल निर्माण गर्न , सीप तथा ज्ञानको अदान प्रदान गर्ने, उत्पादनलाई प्रोत्साहन दिने एउटा प्ल्याटर्फम को रुपमा काम गर्ने विश्वासका साथ महासंघले व्यापार मेला संचालन गर्दै आइरहेको छ।

उनले नेपालमा उत्पादन भएका वस्तु एवं हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रवर्द्धन गर्न उद्देश्यले सुरु गरिएको सो मेला महिला उद्यमी महासंघ नेपाल, नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको अन्तर्गत व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्र लगायत अन्य संघ संस्थाहरु को सहयोगमा सम्पन्न भएको बताइन्। प्रथम उपाध्यक्ष ज्ञवालीले उद्योग तथा वाणिज्य मन्त्री दिलेन्द्रप्रसाद बडूको समक्ष सधैं यस्तो अवसर पाए थप जोशमा साथ काम गर्न तयार रहेको बताइन्।

उनका अनुसार ’स्वदेशी खाउँ स्वदेशी लगाउँ स्वदेशी उद्यमशीलतालाई प्रोत्साहन गरौ’ भन्ने नाराका साथ महिला उद्यमी महासंघले २०१६ देखि अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको आयोजना गरी सफलताको साथ सम्पन्न गर्दै आइरहेको छ।

महासंघले महिला उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शन, प्रवर्द्धन बिक्रीका लागि साझा स्थल सृजना गर्ने, अनलाइन बजारीकरणको प्रयोगलाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रिय बजारसम्म स्थानीय उत्पादनलाई प्रवर्धन गरि विश्वभरीका महिला उद्यमीहरुकाबीचमा नयाँ अवधारणा सहित सेवाहरु आदन प्रदानका लागि समन्वय गरी अगाडी बढ्ने तयारी गरेको छ। राष्ट्रिय तथा अन्तराष्ट्रिय महिला उद्यमीहरुका उत्पादनहरुलाई उनीहरूको सीप र सिर्जनालाई अगाडि ल्याएर दिगो पहिचान बनाउनका लागि अगाडि बढ्न प्रोत्साहित गर्ने उद्देश्य महासंघले लिएको ज्ञवालीले जानकारी दिइन्।

समापन कार्यक्रमका प्रमुख अतिथि उद्योग तथा वाणिज्य मन्त्री दिलेन्द्रप्रसाद बडूले यस्ता कार्यक्रम निरन्तर गरिरहनु पर्नेमा जोड दिए। उनले यस व्यापार मेलाले महिला उद्यमीले चाहे भने जे पनि गर्न सक्छन् भने प्रमाणित भएको बताए। बडूले महासंघसँग महिला उद्यमीहरुको लुकेर बसेको उद्यमहरु थप जोड्न आग्रह गर्दै सातवटै प्रदेशमा यस्तै मेलाको सञ्चालन हुनुपर्ने बताए।

उनका अनुसार सरकारले पनि महिला उद्यमीहरुलाई प्रोत्साहित गर्ने काम गर्दै आइरहेको छ। उनले महिला उद्यमी कर्ताहरुलाई सरकारले निर्यातमा सुहुलियत दिनुका साथै महिलाको उद्यमशीलका लागि भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले काठमाडौंको भृकुटीमण्डप स्थित प्रदर्शनीमार्ग व्यवस्थित रूपमा प्रयोग नभएको भन्दै प्रदर्शनीमार्गलाई स्थायी रुपमा व्यवस्थित गर्न सके यस्ता मेलाको लागि प्रदर्शनको लागि उत्तम हुने बताए। उनले प्रदर्शनीमार्गलाई व्यवस्थापनको लागि पनि सरकारले पहल गर्ने बताएका छन।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्र ९टि।इ।पि।सि० का कार्यकारी निर्देशक शरद विक्रम राणाले पाँच दिनको मेलाले देशको व्यापार घाटा कम गर्न र उद्यमशीलतालाई प्रवर्द्धन गर्न सफल भएको बताएका छन्। उनले यस्तै मेला काठमाडौंमा मात्र नभइ दुर्गम गाउँहरुमा पनि गर्नुपर्नेमा जोड दिए।

समापन कार्यक्रमका विशिष्ट अतिथि जर्मनीका एक अनुसन्धानकर्ता एबम् ईयू काउन्सिलर प्रमुख डा। मार्को जेमरले व्यापार मेलाको व्यवस्थापन उत्कृष्ट भएको बताएका छन्। उनले महिला उद्यमीहरु द्वारा निर्मित रंगीन हस्तकललाई नेपालमा मात्र नभएर विदेशमा पनि निर्यात गर्नुपर्ने बताए। उनले उद्यमशीलताको क्षेत्रमा महिलाहरुको सहभागिता बढ्दै गएको र अझ थप बढ्नु पर्ने बताएका छन्।

मेलामा सहभागी तनहुँकी महिला उद्यमीले मेलाको राम्रो व्यवस्थापन भएको बताएकी छिन्। उनले यस मेलामा आफ्नो सामान प्रदर्शन गर्न पाउँदा खुसी व्यक्त गरेकी छिन्। ’हामी पहिला आफू उद्यमी बनाऊ र अरुलाई पनि बनाउन। राज्यले मलाई के दियो भन्दा पनि मैले राज्यलाई के दिए भन्ने बनाउ’ उनले भनिन्।

महासंघले व्यापार मेलाका उत्कृष्ट महिला उद्यमीहरुलाई प्रशंसा पत्र र पुरस्कार सहित सम्मान गरेको छ। जिल्ला अन्तरगत उत्कृष्ट स्टलमा दाङ प्रथम भएको छ। त्यस्तै दोस्रोमा धनुषा र तेस्रो स्थानमा तनहुँ जिल्लाको स्टल परेको छ। हस्तकला उत्पादनमा खुसियाली सिलभर हाउस उत्कृष्ट स्टलमा परेको छ। एग्रोको लागि रोलिङ बजार, नेपाली मन, नेपाली उत्पादन उत्कृष्ट स्टलमा परेको छ। त्यस्तै खाद्यान्न तर्फ खजुरी खाद्य उद्योग स्टल उत्कृष्टमा परेको छ।

महिला उद्यमी महासंघ नेपालका अध्यक्ष निरु रायमाझी खत्रीले कार्यक्रम सफलताका लागि सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिँदै मेलाको सफलताका लागि सबै महिला उद्यमीहरुलाई बधाई दिएकी छिन्।

मेलमा कृषिजन्य उत्पादनको स्टल १४ ओटा, हस्तकला उत्पादन प्रदर्शनका लागि २८ ओटा, व्यापार तथा सेवा का लागी ८ वटा, चाडपर्व विशेष लागि ४ ओटा, खानेकुरा स्टलका लागि ५ ओटा, अन्तर्राष्ट्रिय महिला उद्यमीका समान प्रदर्शनका लागि ५ ओटा, जिल्ला महिला उद्यमीका लागि २५ ओटा , अपाङ्ग उद्यमीकालागि विशेष १२ ओटा, मिथिला आर्टका लागि ८ ओटा गरी जम्मा १०९ ओटा स्टल रहेका थिए।

मेलामा नेपालसहित भारत, बंगलादेश, फ्रान्स, अमेरिकालगायतका देशका महिला उद्यमीहरुको सहभागीता रहेको थियो। मेलामा देशभरका साना तथा मझौला महिला उद्यमी, व्यापारीदेखि महिला निर्यातकर्ताका साथै अन्तर्राष्ट्रिय उद्यमी महिलाहरूको पनि सहभागिता जनाएका थिए।

मेलामा हस्तकलाका सामानहरू, प्राकृतिक रेशाजन्य वस्तु, ढाका, हाते कागजका वस्तुहरू, जैविक खाद्य पदार्थ, स्वदेश तथा विदेशका खानेकुराका परिकारहरू, कृषिजन्य उत्पादन, पुष्प सामग्री, जडीबुटी, गरगहना, सजावटका सामानका साथै विभिन्न सेवा प्रदायक संस्थाहरूका स्टलहरू प्रदर्शनीमा राखिएको थियो।

नेपालमा उत्पादित वस्तु तथा हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको महासंघले जनाएको छ। मेलाले सातै प्रदेशका जिल्लाहरूका उत्पादन, उनीहरुको सिप, सिर्जनालाई आगाडी ल्याएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा दिगो पहिचान बनाउने भूमिका महासंघले निर्वाह गर्दै आएको छ।

नेपालभरिका उद्यमी महिलाहरुको प्रतिनिधि संस्थाका रुपमा कार्यरत महिला उद्यमी महासंघ नेपालको स्थापना वि स २०६० साल असार २७ गते भएको हो। महासंघले स्थापना काल देखि नै समावेशी तवरले महिला उद्यमीहरुको विकास एवं प्रवर्द्धन लागी विभिन्न कार्यहरु गर्दै आएको छ। महासघंले महिलाहरुको आर्थिक तथा सामाजिक सशक्तिकरणको लागी वहस तथा पैरवी गर्नुका साथै राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा हुने निति निर्माण एवं निर्णय प्रकृयामा महिला उद्यमीहरुका हक अधिकारहरुको सुनिश्चितताका लागि महांसघले उनीहरुका विविध सवाल एवं सरोकारहरु प्रति सशक्त ढंगबाट वकालत गर्दै आईरहेको महासंघले बताएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights