☰ open

सडक नै नभएको ठाउँमा बनेको पुलको छानबिन

२०७९ भाद्र ७, मंगलवार १४:२२
media khavar

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक नै नभएको ठाउँमा पुल बनेको विषयमा छानबिन थालेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयले गोरखाको दरौँदी नदीमाथि निर्माण भएको पक्की पुलको विषयमा छानबिन थालेको हो।

अख्तियार स्रोतका अनुसार अनुसन्धानका क्रममा गोरखास्थित पूर्वाधार कार्यालयबाट आयोगले कागजात झिकाइसकेको छ। अनुसन्धानका लागि गतसाता अख्तियारको टोली गोरखा आएको थियो। त्यसअघि पनि फिल्डमा पुगेर टोलीले अध्ययन गरेर फर्किएको हो।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट पनि कागजात मागिएको छ। गोरखा नगरपालिका ३ र सिरानचोक गाउँपालिका ५ जोड्ने गरी जरेबरमा पूर्वाधार विकास कार्यालयमार्फत पुल निर्माण भएको विषय छानबिनमा परेको हो।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले आफ्नो खेत छेउमा सडक नै नभएको ठाउँमा पाँच करोड ३९ लाखमा पुल निर्माण गरेपछि आलोचना भएको थियो ।

अन्यत्र पुल अत्यावश्यक भएको ठाउँ छाडेर मन्त्री भएका बेला सत्ता र शक्तिको दुरुपयोग गरी आफ्नो जग्गाको छेउ घर, खेत नजिक पक्की पुलको योजना हालेको आरोप मन्त्री बस्नेतमाथि छ ।

उक्त विषय संचार माध्यममा प्रकाशित भएपछि अख्तियारले छानबिन थालेको हो। ‘यो गम्भीर विषय भएकाले आयोगको केन्द्रीय कार्यालयबाट हेरिएको हुनुपर्छ’, अख्तियारका एक अधिकारीले भने।

छानबिनका क्रममा गोरखा स्थित पूर्वाधार कार्यालय र गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका कर्मचारीलाई पनि बयानका लागि बोलाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights