☰ open

सडकपेटीमा बनाइएका संंरचनामा महानगरले चलायो डोजर

२०७९ भाद्र ८, बुधबार १८:०८
media khavar

मिडिया खभरदाता

काठमाडौं, । काठमाडौँ महानगरपालिकाले सडकपेटी नै अतिक्रमण गरी बनाइएका संंरचनामा डोजर चलाएको छ । सडकपेटीबाट करिब २० फिट पश्चिमसम्मको सार्वजनिक जग्गा महानगरपालिका भित्रको निशानामा परेको भन्दै डोजर लगाएको हो ।

महानगरपालिकाले त्यसलगत्तै न्यूरोडस्थित आरबी कम्प्लेक्स पुगेर कम्प्लेक्स वरिपरि सडक अतिक्रमण गरी टहरामा सञ्चालन गरिएका पसल समेत हटाइएको छ । महानगरपालिकाले अतिक्रमित जग्गा खाली गराइरहँदा सानालाई मात्रै दुःख दिने काम भएको प्रश्न तेर्सियो तर महानगर प्रमुख बालेन्द्र साहले अतिक्रमणमुक्त गराउने र अवैध संरचना तयार गरिएको जुनसुकै स्थल समेत कानुनको दायरामा आउने महानगरपालिकाको अभियानबारे प्रष्ट्याए ।

महानगरपालिकाले डोजर लगाएपछि कर्मचारी सञ्चय कोषको भवन परिसरमै रहेको देखिने गरी राखिएको करिब एक दर्जन पसलहरु हटाइएका छन् । सामानहरु वरिपरि छरिएका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख साहले भने, “साना पसल थापेकालाई मात्रै हैन, जिल्ला अदालत, काठमाडौँलाई समेत पत्राचार गरेका छौं, अनुमतिका कागजातहरु मागेका छौं, अवैध पाइए कारबाही हुन्छ ।”

काठमाडौँ महानगरपालिका क्षेत्रमा जताततै सडकपेटि अतिक्रमण गरी पसल वा संरचना तयार गरिएका छन् । त्यस्ता पसल र संरचनाको विवरण काठमाडौँ महानगरपालिकामा रहेपनि सार्वजनिक गर्न नमिल्ने महानगरपालिकाका ण्ण्प्रवक्ता नवीन मानन्दधरले बताए । उनले भने, “भवन विभागसँग विवरण छ, विवरणको आधारमा कारबाही प्रकृया अगाडि बढाइएको हो ।”

महानगरपालिकाले त्यसअघि मङ्गलबार नयाँ बानेश्वर क्षेत्रमा पार्किङ्गको अनुमति लिएर अन्य व्यवसाय सञ्चालन गरेका संरचना हटाएको छ । महानगरपालिकाको अभियानलाई लिएर स्थानीय उत्साहित छन् ।

त्यत्तिकै पनि ब्यस्त रहने सुनधरा क्षेत्रमा महानगरपालिकाले काठमाडौँ मल अगाडिको संरचनामा डोजर लगाउँदा बाटो हिंड्ने बटुवाको भिड नै लागेको थियो । त्यहाँ उपस्थित श्याम घिमिरे भन्छन्, “बाटो हिड्नेलाई सास्ती हुन्छ, सार्वजनिक जग्गामा पसल राखेर आफ्नै परिसर भनेर हजारौं भाडा कमाएका छन् ।”

अवैध संरचना हटाउन तथा सडकपेटी खालि गराउन महानगरपालिकालाई ट्राफिक प्रहरीको समेत साथ र सहयोग छ । ट्राफिक प्रहरीकी प्रहरी वरिष्ठ उपरिक्षक मीरा चौधरी अतिक्रमित जग्गा खालि गराउन महानगर प्रमुख बालेनसँगै हिंडेकि छन् ।

अवैधानिक रुपमा बनेका संरचना हटाउन बुधबार न्यूरोड पुगेका प्रमुख बालेन्द्र साहले नबिल बैंकको कार्यालय बेसमेन्टमा रहेको देखेपछि हटाउन निर्देशन दिएका छन् । उनका स्वकीय सचिव भूपदेव साहले बुधबारबाटै संरचना हटाउन निर्देशन दिइएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights