☰ open

एकीकृत समाजवादीले भोली पार्टी पुनर्गठन दिवस मनाउदै

२०७९ भाद्र ८, बुधबार १८:३७
media khavar

काठमाडौँ । नेकपा एमालेबाट विभाजन भइ बनेको नेकपा (एकीकृत समाजवादी) ले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने भएको छ।

एकीकृत समाजवादीले निर्वाचन अयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रुपमा मनाउन लागेको हो। गत वर्ष नेकपा (एमाले) बाट विभाजन भइ माधवकुमार नेपालको नेतृत्वमा भदौ २ गते निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएकोमा भदौ ९ गते सो पार्टीले दर्ता प्रमाणपत्र पाएको थियो।

बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बिहीबार (भोलि) दिउँसो १ बजे बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा पुनर्गठन दिवस मनाउन लागिएको जानकारी दिए ।

उनले आफूहरुको पार्टी पुनर्गठन पश्चात पहिलो परिणाम प्रतिगमनकारी एमालेको झुण्डलाई सत्ताबाट झारेको र लोकतान्त्रिक शक्तिलाई एक ठाउँमा उभ्याएर संविधान जोगाएको बताए।

उनले भने, ‘पहिलो परिणाम प्रतिगमनकारी क्रियाकलाप गर्ने नेकपा (एमाले)को नेतृत्व झुण्डलाई सत्ताबाट तल झारेका छौँ। र देशभरीका लोकतान्त्रिक, समाजवादी शक्तिहरुलाई एक ठाउँमा उभ्याएर, जुटाएर नेपालको संविधानलाई जोगाउने, राजनीतिक स्थायित्व प्रदान गर्ने काम गरेका छौँ। हामीले गरेका त्यही प्रयासका कारणले आउँदो मंसिर ४ गते देशभर आम निर्वाचन र प्रदेश सभाको निर्वाचन हुँदैछ। स्थायित्वको परिणाम यही हो।’

उनले पार्टीले हालसम्म ५ लाख सदस्यता वितरण गरिसकेको बताए। २ लाख भन्दा बढी सदस्य पार्टीका विभिन्न कमिटीमा आवद्ध भइसकेको पनि उनले जानकारी दिए। त्यस्तै पार्टीको निर्वाचन चिन्ह कलमको व्यापक प्रचार–प्रसार भइसकेको उनले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights