☰ open

खेतका फाँटहरुमा बग्यो मेलम्ची नदी

२०७९ भाद्र १२, आईतवार १०:१२
media khavar

काठमाडौँ । शनिबारदेखि परिरहेको अविरल वर्षाले जिल्लाको विभिन्न स्थानमा क्षति पु¥याएको छ । भारी वर्षाको कारण नदीले ठाउँ–ठाउँमा धार परिवर्तन गर्दा मेलम्चीमा नदी नियन्त्रण तथा क्षति न्यूनीकरणका लागि गरिएका प्रयास असफल भएका छन्।

बाढीले मेलम्ची, हेलम्बु, पाँचपोखरीलगायतका गाउँ–गाउँका सडक अवरुद्ध भएका छन् । अहिले हेलम्बुको खेतका फाँटबाट नदी बगिरहेको छ भने ठाउँ–ठाउँमा सडकैसडक खोला बगिरहेको छ।

यसले गर्दा यातायातका साधन बाटोमै अलपत्र परेका छन्। नजिकिएको तिजका कारण माइत हिँडेका चेली र अन्य सर्वसाधारणका कारण भरिभराउ रहेका यातायातका साधन बीच बाटोमै रोकिँदा यात्रुलाई सकस भइरहेको छ। मेलम्चीको सिमखेत, हेलम्बुको विभिन्न स्थान, पाँचपाखेरीको राम्चे, भोताङ र गुन्सालगायतका बाटो अहिले अवरुद्ध भएका छन्।

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङसहित पाँचपोखरी थाङ्पाल, हेलम्बु, इन्द्रावती गाउँपालिकाका अध्यक्ष क्रमशःटासी लामा, निमा ग्याल्जेन शेर्पा र झम्क नेपालले संयुक्त रुपमा पहिरो, खहरे खोला, नदी तटीय तथा जोखिमयुक्त स्थानमा नबस्न र सावधानी अपनाउन आग्रह गरेका छन्।

गत वर्ष आएको बाढीका कारण हेलम्बु, मेलम्ची, इन्द्रावतीका केही भेग र पाँचपोखरी थाङ्पाल गाउँपालिकाकाको नदीतटीय क्षेत्रमा करोडौँको क्षति गरेको थियो। यसकारण पनि धेरै मानिस विगत दोहोरिएला भन्ने पिरलोमा देखिन्छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights