☰ open

कांग्रेसले वर्तमान परिस्थिति नबुझे अर्को गठबन्धन बन्ने : अध्यक्ष प्रचण्ड

२०७९ भाद्र १२, आईतवार १८:२७
media khavar

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको मुख्य घटक कांग्रेसले वर्तमान परिस्थिति नबुझे, शक्तिको सही मूल्याकंन नगरे अर्को गठबन्धन बन्ने बताएका छन् ।

कांग्रेसका शेखर कोइराला पक्षले गठबन्धनमा रहेका अन्य दलहरूलाई प्रतिनिधिसभामा ६५ सिटभन्दा बढी दिन नसकिने भनिरहेका बेला दाहालले त्यस्तो परिस्थितिमा वामपन्थी दलहरूको गठबन्धन बन्ने बताएका हुन् ।

माओवादीको वाग्मती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आइतबार ललितपुरको सानेपामा सम्बोधन गर्दै दाहालले सकेसम्म आगामी चुनावमा सत्ता गठबन्धन कायमै रहने बताए थिए । कांग्रेसभित्र विभिन्न विचार आइरहेको कुरा उल्लेख गर्दै दाहालले त्यस्तो परिस्थितिमा के गर्ने भन्ने विकल्पबारे पनि सोच्नुपर्ने बताएको केन्द्रीय सदस्य अनिल शर्माले उल्लेख गरे ।

’अध्यक्ष प्रचण्डले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अहिलेको पाँच दलीय सत्तारुढ गठबन्धन एकढिक्का भएर जान्छ भन्नुभएको थियो,’ उनले थपे, ’कांग्रेसले मानेन, गठबन्धनमा शक्तिको सही पहिचान गर्न मन गरेन भने हामीले वाम गठबन्धनलाई अगाडि बढाएर राम्रै परिणाम ल्याउन सक्छौं भन्नुभएको थियो । सत्तारुढ गठबन्धन भित्रका वामपन्थी दलहरू मिल्दा पनि हाम्रो नराम्रो परिणाम आउँदैन भन्ने उहाँको कुरा थियो ।’ सत्तारुढ गठबन्धन एकढिक्का भएर जानेमा दाहालले विश्वास राखेको पनि शर्माले जानकारी दिए ।

माओवादी पोलिटब्युरो सदस्य युवराज चौलागाईंले स्थानीय तहमा जस्तो समस्याबीच निर्वाचनमा जान नसकिने धारणा अध्यक्ष दाहालले राखेको बताए । उनले भने, ’नेपाली कांग्रेसले शक्तिको पहिचान, वर्तमान राजनीतिक परिस्थितिलाई ठीकसँग बुझ्न सकेन, स्थानीय चुनावमा देखिएका समस्या समाधान गरेर तालमेललाई ठीकसँग लान तयार भएन भने कांग्रेस र एमाले बाहेकको शक्तिहरूको गठबन्धन हुन सक्छ भन्ने अध्यक्षको धारणा थियो ।’

माओवादी केन्द्रीय सदस्य रामनारायण बिडारीले भने प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर ४ गतेको चुनावपछि कम्युनिस्ट पार्टीमध्ये माओवादी सबैभन्दा ठूलो हुने विश्वास अध्यक्ष दाहालले राखेको बताए । कांग्रेस, माओवादी र अन्य राजनीतिक दलहरूका नेताहरूलाई जति नै असन्तुष्टि भए पनि सत्तारुढ गठबन्धन एकढिक्का भएर मंसिर ४ को निर्वाचनमा जाने दाहालको भनाइ रहेको बिडारीले उल्लेख गरे ।

’जति तपाईंहरूलाई चित्त नबुझे पनि, कांग्रेसका केही नेताहरूले जति असन्तुष्टि गरे पनि यो चुनाव कांग्रेससँग नै हुन्छ । अन्य गठबन्धन दलको असन्तुष्टि भए पनि अहिलेको गठबन्धन कायम रहन्छ,’ दाहालको भनाइ उदृत गर्दै बिडारीले भने, ’चुनावपछि वाम गठबन्धन हुन सक्छ । त्यसबेलामा माओवादी प्रमुख वामपन्थी दल हुन्छ । माओवादी कम्युनिस्टहरूमा पहिलो दल भएर माओवादीको नेतृत्वमा अरु कम्युनिस्ट सहभागी गठबन्धन हुन्छ । विगतमा कम्युनिस्ट पार्टी एकता नटिके पनि त्यसबेलामा टिक्छ ।’

पोलिटब्युरो सदस्य चौलागाईंले पनि मंसिर ४ गतेपछिको निर्वाचनमा माओवादी दोस्रो ठूलो दल हुने विश्वास अध्यक्ष दाहालले राखेको बताए । ’अध्यक्षले संघीय र प्रदेशको चुनावमा दोस्रो हुनुपर्छ, दोस्रो हुन्छौं भन्नुभएको छ । त्यसो भएमा देश सही ठाउँमा लिएर जान सक्छौं भन्ने उहाँको कुरा थियो,’ उनले भने ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि माओवादीले निर्वाचन प्रणाली र शासकीय स्वरुपमा सुधारको एजेन्डा अगाडि बढाउने कुरा पनि दाहालले बैठकमा राखेका थिए । त्यसका लागि नेताहरूलाई तयार रहन पनि उनले निर्देशन दिएका थिए । पार्टीको संगठनभित्रका विवाद समाधानका लागि विशेष महाधिवेशन गरेर जाने जानकारी दाहालले दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights