☰ open

निलम्बित प्रधानन्यायाधीश जबराको भावनात्मक जवाफ

२०७९ भाद्र १५, बुधबार १६:५५
media khavar

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूमाथि लागेको महाअभियोगको आरोपबारे बयान दिने क्रममा भावनात्मक जवाफ दिएका छन्। प्रतिनिधि सभाले राणामाथिको आरोपबारे छानबिन गर्न गठन गरेको एघार सदस्यीय समितिमा राणाले आफूमाथिको आरोप खण्डन गर्ने गरि कुनै प्रमाण पेश गरेका छैनन्।

समितिमा रहेका नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले राणाले कुनै प्रमाण पेश नगरेको बताए। ‘प्रमाणभन्दा पनि उहाँले भावनात्मक प्रकारका कुराहरु राख्नुभयो’, पोखरेलले सेतोपाटीसँग भने, ‘ठोस रूपमा कुनै प्रमाण लिएर आउनुभएको छैन। हामीले ४३–४४ वटा प्रश्न तयार पारेका छौँ। त्यो बाहेक सांसदहरुले थप्ने सयदेखि डेढ सय प्रश्नको जवाफ दिन जरूरी छ। हामी खुल्ला रुपमा छौँ। प्रमाणले जे देखाउँछ तथ्य प्रमाणका आधारमा हामी निष्कर्षमा पुग्छौँ। उहाँले अभियोगमा इन्कार गर्ने तथ्यहरु साथमा ल्याएर प्रस्तुत गर्नु भएको देखिएन।’

महाअभियोग लागेसँगै निलम्बित अवस्थामा रहेका राणाले समितिमा आफूमाथि विभिन्न स्वार्थ समूहले मिलमेतोमा महाअभियोग लगाइएको बताएका छन्।

‘तत्कालिन बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायाधीश माग्नु भएको थियो। महासचिव लिलामणि पौडेलले चेम्बरमै आएर मुख्य न्यायाधीश माग्नुभएको थियो’, राणाले भने, ‘त्यस्तै सर्वोच्च बार अध्यक्ष पूर्णमान शाक्यको पनि मुद्दामा स्वार्थ थियो। तर मैले मानिनँ। विधि र शासनको पालना गर्छु भनेँ। त्यहीँ भएर उहाँहरू मेरा विरूद्ध लाग्नुभएको हो।’

समितिमा रहेका नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले राणाले सीमा बाहिर गएर कतिपय जवाफ दिएको टिप्पणी गरेका छन्।

‘उहाँले अभियोग किन ढिला भयो भन्ने सम्मको जिज्ञासा राख्नुभएको छ’, विश्वकर्माले भने, ‘उहाँले कतिपय प्रश्नमा सीमा बाहिर गएर जवाफ दिइराख्नुभएको छ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights