☰ open

टेकुमा ६ महिनादेखि थुपारिएको फोहोर महानगरले उठायो

२०७९ भाद्र २४, शुक्रबार १०:२०
media khavar

काठमाडौं । विगत ६ महिनादेखि टेकु स्टेसनमा थुपारिएको सबै फोहोर उठाइएको छ ।काठमाडौं महानगरपालिकाले टेकु स्टेसनमा थुप्रिएको फोहोर २० दिन लगाएर उठाएको हो । गत भदौ २ गतेदेखि स्टेसनमा थुप्रिएको फोहोर उठाएर बञ्चरेडाँडा पठाउन थालेको थियो । २० दिनमा लगभग १५ सय टिपर फोहोर व्यवस्थापन भएको महानगरको वातारण विभागमा कार्यरत नगर प्रहरी डिएसपी पूर्ण चन्द्र भटले बताए ।

उनले नेपालप्रेससँग भने,‘भदौ २ गतेदेखि हामीले काम सुरु गर्यो । हिजो २३ गते हामीले यो ग्राण्उड खाली गर्यौ हिजो यहाँ फोहोर नै थिएन । यो आज आएको फोहोर हो । अहिले गाडी आउँछ सिसडोल पुगेको छ गाडी । फर्केको गाडीहरुलाई यो ठिक्क हुन्छ ।’

उनका अनुसार टेकुमा गत माघ २६ गतेदेखि फोहोर जम्मा हुन थालेको थियो ।गत माघ २६ गतेदेखि सिसडोलबासीहरुले आन्दोलन गर्दा फोहोर व्यवस्थापन बन्द हुन पुगेको थियो । पटकपटकको बन्दले केही समयदेखिको फोहोर जम्मा भएर भयावह स्थिति भइसकेको थियो ।

उनका अनुसार तीनवर्षमा दोस्रोपटक स्टेसनको फोहोर पुरै हटाइएको हो । उनले भने,‘नयाँ मेयर आइसकेपछि धेरै चासो लिनुभयो । कसरी हुन्छ कन्ट्रोल गर्ने उहाँले पनि केके चाहिन्छ प्रयोग गर्नुस काम गर्नुस भन्नुभएको त्यही आधारमा हामीले काम गरेर लगातार रुपमा काम भएको थियो । म आएको तीन वर्ष भयो । तीन वर्षको बीचमा फेरि एक चोटी खाली गराएका थियौं । प्रमुख प्रशासकीय अधिकृत केदार सरको पालामा एकचोटी क्लियर गरेर सक्यौं । त्यसपछिको अवरोधको कारण अहिले इतिहासमै दोस्रो पटक पूर्ण रुपमा फोहोर व्यवस्थापन गरेका छौं । ’

सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विगतमा महानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयवासीलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्थाजस्ता माग पूरा नगरेको भन्दै कहिले फोहोर बोकेको गाडी तोडफोड र कहिले सडकनै अवरोध गरेपछि विगत ५ महिनादेखि काठमाडौं उपत्यकाको फोहोर टेकुमा अल्पकालीन व्यवस्थापन गरिएको थियो।

उपत्यकाको सडक छेउछाउमा पनि लामो समयदेखि फोहोरको डङ्गुर थियो। उपत्यकाको फोहोर व्यवस्थापनका सम्बन्धमा यही भदौ पहिलो साता काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीबीच भएको चार बुँदे सहमतिपछि भदौ पहिलो सातादेखि फोहोर व्यवस्थापन कार्य हुन थालेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights